काठमाण्डौं, १४ चैत
नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पुनले बताए।
लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्नका लागि सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत महसुलमा छुट गर्न लागिएको मन्त्री पुनको भनाइ छ। उनले ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने स्पष्ट पारे। ‘एकातिर विद्युतको माग घटेर गएको छ भने अर्कातिर ग्यासको अभाव देखिएको छ’, मन्त्री पुनले भने, ‘यो ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने उपयुक्त अवसर हो।’
ग्यास बाहिरबाट आयात गर्नुपर्ने तर विद्युत नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रवर्द्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास व्यक्त गरे।
नेपालमा १ मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्नेको संख्या अधिक छ। कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले १ सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन्। लकडाउनका कारण विद्युत खपतमा भारी गिरावट आएको छ।
विद्युत बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटल, सिनेमा घर, कार्यालयहरु बन्द भएकाले त्यस्तो अवस्था आएको हो।




