भरतपुर, १३ चैत
चितवनका स्थानीय तहहरु हालै विदेशबाट आएकाहरुको पहिचान गरी सावधानी अपनाउन सक्रिय भएका छन् । कोरोना भाईरसको संभावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले वडाहरुलाई विदेशबाट आएकाहरु प्रति चनाखो हुन भने पछि त्यस्ता व्यक्तीहरुको निगरानी वढाईएको हो ।
संघीय सरकारको आदेश वमोजिम स्थानीय तहले वडा कार्यालयहरुलाई हालै स्वदेश आएकाहरुको बारे विवरण लिन भनेको छ । अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द भएपछि जनप्रतिनिधीहरु स्वदेश आएकाहरुको खोजीमा लागेका हुन् ।
खैरहनी नगरपालिका प्रवक्ता रामशरण पाण्डे पछिल्लो समय स्वदेश आएकाहरुको खोजीमा लागि परेको बताउँछन् । “विश्वव्यापी रुपमा कोरोना फैलिएकाले स्वदेश आएकाहरुको निगरानी वढाईएको छ”, प्रवक्ता पाण्डेले भने, “उनीहरु अवस्थाका बारे विवरण लिदै शंका लागेमा भरतपुर कोरोना विषेश अस्पताल पठाईएको छ ।” रोगको सक्रमण नभएपनि सुरक्षाका लागि कतिपय आफ्नै घर भित्रै बसेको पाईएको समेत प्रवक्ता पाण्डेले जानकारी दिए ।
खैरहनी नगरपालिकाले इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा विदेशबाट आएकाहरुको खोजी गरी विवरण संकलन गर्दै सुरक्षित रहन आग्रह गरिरहेको छ । प्रहरी कार्यालयका प्रमुख ऋषिराम घर्तीनै यो कार्यमा खटिएका छन् ।
चितवनकै रत्ननगर नगरपालिकाले पनि हालसालै विदेशबाट आएकाहरुको विवरण संकलन गरी स्वास्थ्य परीक्षणमा पठाउने काम गरिरहेको छ । विहीवार रत्ननगर १२ र १३ बाट केही व्यक्तीहरुको पहिचान गरि कोरोना विषेश अस्पताल भरतपुरमा स्वास्थ्य परीक्षण गराईएको छ ।
कोरोना अस्पताल सम्म पुग्नका लागि निशुल्क एम्वुलेन्सको समेत व्यवस्था मिलाईएको छ । विदेशबाट आएका २८ जनालाई सम्पर्कमा ल्याई स्वास्थ्य जाँच गरिएको छ ।





