संकटको बेला बोनस देखाएर टेलिकम र एनसेलको लुट्ने दाउ

भरतपुर, १३ चैत
कोरोनाको कारण देशमा लकडाउन चलिरहेको बेला देशका दुई प्रमुख टेलिकम प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले सहुलियतको नाममा पैसा कमाउने उपाय रचेको छ । उनीहरुले हालै ल्याएकाअफर हेर्दा सेवाग्राहीलाई राहत दिनुभन्दा पनि दशैंमा ल्याइने जस्तो धेरै खर्च गर्न प्रोत्साहित गराउने देखिन्छ ।

नेपाल टेलिकमले आज १३ देखि १८ गतेसम्म रिचार्ज गरिएको रकम बराबरै (शतप्रतिशत) बोनस दिने भएको हो । यति धेरै बोनस दिएको सम्भवतः पहिलो पटक नै होला । तर, उसले यसलाई खर्च गर्नुपर्ने छोटो सीमासहितको सर्त राखिदिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिअनुसार बोनस रकम नेपाल टेलिकमको नेटवर्कमा कल गर्न, एसएमस गर्न र डाटा चलाउन प्रयोग गर्न सकिन्छ । तर, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न सकिन्न ।

रिचार्ज कार्ड प्रयोग गरी रु.५० र १०० का रिचार्ज गर्दा प्राप्त हुने बोनस २ दिनभित्रै सक्नुपर्ने छ । २०० र ५०० को रिचार्जमा प्राप्त हुने बोनस रकम ४ दिनभित्र र १००० को पाउने बोनस ६ दिनभित्रै सक्नुपर्ने टेलिकमले जनाएको छ ।

त्यस्तै एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत रु.१० देखि ९९ सम्म रिचार्जमा प्राप्त हुने बोनस २ दिनभित्र, १०० देखि ४९९ सम्म रिचार्ज गर्दा पाइने बोनस ४ दिनभित्र, ५०० देखि ९९९ सम्मको रिचार्जमा पाइने बोनस ८ दिनभित्र र १००० वा सोभन्दा बढी रिचार्जमा पाइने बोनस १० दिनभित्र सकिसक्नुपर्ने सर्त टेलिकमले राखेको छ ।

यो संकटको बेला सरकारको समेत स्वामित्व रहेको ‘राष्ट्रको सञ्चार’ नारा लिएको टेलिकमले जनतालाई लुट्ने दाउ गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ । बोनसको लोभमा पारेर संकटको घडीमा सघाउनुपर्ने जनतालाई उल्टै चुस्ने दाउप्रति सबैले विरोध गरेका छन् ।

हेर्नुहोस् नेपाल टेलिकमको विज्ञप्ति

एनसेल झन् ठग
अर्को टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले पनि ग्राहकलाई अफर ल्याएको छ । उसले ब्यालेन्स ट्रान्सफर र सापटी सुविधा जनताका लागि राहत हुने गरी ल्याए पनि बोनसको सर्तमा भने नेपाल टेलिकमभन्दा पनि ठग्ने नियत राखेको देखिन्छ ।

एनसेलले रिचार्जमा बोनस ५० प्रतिशत मात्रै अफर गरेको छ भने सो बोनस पाएको दिन मध्यरातसम्ममै सक्नुपर्ने बताएको छ ।
एनसेलले ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्ने बताएको छ । प्राप्त बोनस रकम एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५ प्राप्त गर्नेछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५० प्राप्त गर्नेछन् । बोनस रकम सोही दिनको मध्यरातिसम्म मान्य हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट