विप्लव काफ्ले
भरतपुर, १३ चैत
गाइभैसी पाल्ने किसानलाई दूध बिक्रि नभएर चिन्ता पर्न थालेको छ । दिनहुँ डेरीबाट किनेर खाने उपभोक्तालाई दूध नपाउँदा पीरलो छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन ‘लकडाउन’ गरिएपछि दूधको कारोबार समेत ठप्प भएको छ । किसान–उपभोक्तालाई उत्तिकै पीरलो छ ।

व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृष समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे दूध फाल्ने की राख्ने चिन्ता भएको बताउँछन् ।
“न डेरीमा जान्छ, न डिडिसीले लान्छ”, उनले भने, “घरमै राखौँ, भण्डारण गर्न सकिदैन ।” उनका अनुसार २ दिन यता दुग्ध विकास संस्थान (डिडिसी) र डेरीले दूध लिनै छाडेका छन् । “दूध बेचेर गाइभैसीलाई दानापानी खुवाउन पनि नसकिने अवस्था आयो”, उनले भने, “उपभोक्ताले दूध पाइएन भनेर गुनासो गर्छन्, हामी दूध बेच्न पाएनौँ भनिरहेका छौँ, पुलको काम कसले गरिदेला ?” यो संस्थामा देशभरका ३५ हजार घरपरिवार आवद्ध छन् । चितवनमा मात्रै ५ सय बढी किसान आवद्ध छन् । “के गर्ने भनेर दिनहुँ किसानका फोन आउँछन्”, उनले भने, “मन्त्रालायमा पनि गुनासो पठाएका छौँ, तर सुनवाई भएको छैन ।” उनले ४० वटा गाई पालेका छन् । दैनिक २ सय ५० लिटर दूध उत्पादन हुन्छ । “दूध पोखौँ भने मनले मान्दैन”, उनी भन्छन्, “दूध बिक्रि नभएपनि पेशानै जोखिममा पर्न थालेको छ ।” उनले बैंक ऋण तिर्न, गाइभैसी पाल्न, आयआर्जन गर्न समस्या हुन थालेको बताए ।
चितवनमा दैनिक करिब ३ लाख लिटर दूध उत्पादन हुन्छ । जसमध्ये सहकारीमा १ लाख ५० हजार लिटर, डेरीले १ लाख लिटर, डिडिसीले ५० हजार दूध संकलन गर्छन् ।
चितवनमै १ लाख ४० हजार लिटर दूध खपत हुने अनुमान छ । बाहिरी जिल्लामा १ लाख ६० हजार बाहिर जान्थ्यो । चितवनमा १ सय १० वटा दुग्ध सहकारी छन् । भरतपुर–६ केशरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले २ दिन यता दूध संकलन गर्न छाडेको छ । अध्यक्ष ऋषिराम चापागाईले बजारमा दूध बिक्रि नभएपनि संकलन कार्य रोकिएको बताए । “मंगलबार बजारमा दूध खपतनै भएन”, उनले भने, “सबै फिर्ता आयो, त्यसैले संकलन रोकेका छौँ ।” सहकारीमा ६ सय ५० जना आवद्ध छन् । यो सहकारीमा दैनिक ८ हजार ३ सय लिटर दूध संकलन हुन्छ । जसमध्ये प्रशोधन तथा प्याकेजिङ गरेर करिब ४ हजार ५ सय लिटर दूधलाई मुग्लिन, नारायणगढ, सौराहा, पश्चिम चितवन लगायतका ठाउँमा बेच्दै आएको थियो ।

यो सहकारीमा दूधको फ्याक्ट्री समेत छ । यो सहकारीका करिब ३ सय ग्राहक छन् । “दूध ढुवानी गर्ने अवस्था पनि छैन, सबैलाई संक्रमणको चिन्ता छ”, उनले भने, “अब दूध संकलन गरेर बेच्ने अवस्थानै छैन ।” यो सहकारीको गाइस्रोत केन्द्रबाट करिब ५ सय लिटर दूध दैनिक उत्पादन हुन्छ । ७ गाडीले दूध ढुवानी गर्दै आएको अन्नपूर्णले काम रोकेको छ । चितवनमा व्यवसायीक फर्मबाट करिब ५० हजार लिटर दूध उत्पादन हुन्छ । यी दूध डेरी तथा डिडिसीमा बेचिन्थे । तर, अहिले डेरी र डिडिसी आउनै छाडेका छन् । चितवनमा करिब ३ सय साना डेरी छन् जसले दिनहुँ ५० हजार लिटर दूध उपभोक्तालाई बेच्थे । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले किसान मारमा पुगेको बताए । “दूध भण्डारण गर्न पूर्वाधारनै छैन”, उनले भने, “दिनहुँ दूध खेर गइरहेको छ, उपभोग गर्न सकिएको छैन ।” चितवनमा डिडिसीका ८ र नीजि क्षेत्रका करिब १० वटा डेरी र सहकारीका २० वटा चिस्यान केन्द्र छन् । यी चिस्यान केन्द्रले मुस्किलले १ दिनको दूध मात्रै चिस्यान गर्न सक्छन् ।
दूधलाई करिब १० दिन चिस्यान केन्द्रमा राख्दा दूधको गुणस्तरमा कमी नआउने किसान अगुवाहरु बताउँछन् । “दूध पोषिलो आहारा हो, अहिले बिक्रि नभएर फाल्नुपरेको छ”, उनले भने, “महामारीको अवस्था लम्बिरहेका बेला गुणस्तरीय पाउडर दूध खुवाउने वातावरण बनाउन सकिन्थ्यो, तर, यता सरकारले ध्याननै दिएन । चितवन मिल्कले समेत दूग्धजन्य उत्पादनमा कटौती गरेको छ । यो उद्योगले दैनिक करिब १ लाख ५० हजार लिटर दूध खपत गर्न सक्छ । दूधबाट धुलो दूध उत्पादन गर्न सक्छ । यो उद्योगमा डिडिसी र नीजि क्षेत्रले दूध दिदै आएका थिए । तर, अहिले यो उद्योगले दूध लिन छाडेको बगालले बताए । “यो उद्योगले दूध लिन नछाड्ने हो भने किसानलाई राहत पुग्थ्यो”, उनले भने, “अहिले दूध फालाफाल जस्तो देखिएको छ, तर उपभोक्ताले नपाएको अवस्था छ ।”
थोरै परिमाणमा दूध उत्पादन हुने फर्मका किसानले दूध बाच्चाबाच्छीलाई खुवाउने, मलखादमा फाल्ने, कुराउनी, खीर बनाएर खाने जस्ता काम गर्दै आएका छन् । चितवनलाई जेठमा दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । वार्षिक रुपमा प्रतिव्यक्ति आवश्यकताभन्दा ७८ लिटर दूध बढी उत्पादन हुने भएको तथ्यांकका आधारमा आत्मनिर्भर घोषणा गरिएको थियो । जिल्लामा उन्नतजातका ४० हजार गाई र १० हजार भैसी, स्थानीयजातका १०–१० हजार गाइभैसी छन् । गाईभैसीलाई दाना, चोक्कर, पराल समेत अभाव हुन थालेको छ ।
सरकारले अत्यावश्यक सामाग्री ढुवान गर्न दिने जनाएको थियो । दूध ढुवानी गर्न पाइने उल्लेख छ । तर, त्यो अवस्था छैन । मास्क, स्यानिटाइजरको प्रयोग गर्न, ग्राहकबीचको भौतिक दुरी कायम गरेर भीडभाड नहुने गरी अत्यावश्यक सेवाका पसल चलाउन भनेको छ ।





