मुंबई, १० चैत
भारतमा कोरोना भाइरसबाट मुक्त भइसकेका एक व्यक्तिको मृत्यु भएको छ । महाराष्ट्रमा आइतबार मृत्यु भएको व्यक्तिमा पहिले कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचार पश्चात पुनः परीक्षणको क्रममा कोरोना भाइरस नेगेटीभ देखिएको थियो ।
नेगेटीभ देखएपछि मुंबईको कस्तूरवा अस्पतालबाट एक निजी अस्पतालमा सारिएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । चिकित्सकले मिर्गौला तथा स्वासप्रस्वासको समस्याका कारण ती व्यक्तिको मृत्यु भएको जनाएको छ । भाइरसको संक्रमणबाट उनमा रोग प्रतिरोधात्मक क्षमता घटेको चिकित्सकले बताएका छन् । जसका कारण उनको शरीरले अन्य समस्यालाई थेग्न सकेन । उनी फिलिपिन्सबाट केही हप्ता अघि मात्र देश फर्किएका थिए ।
भारतमा हाल सम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । महाराष्ट्रमा मात्र मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा मात्रै ५० जना नयाँ संक्रमित भेटिएका छन् ।
देशभरमा ४ सय २५ जनामा कोरोनाको संक्रमण भेटिएको छ । कोरोनाको कारण दिल्ली, राजस्थान, बिहार, पंजाब, उत्तराखण्ड, छत्तीसगढ, झारखण्ड, जम्मू–कश्मीर, आन्ध्र प्रदेश, नागाल्याण्ड, अरुणचल प्रदेशमा ३१ मार्च सम्म ‘लक डाउन’ गरिएको छ । उत्तर प्रदेशको १६ वटा जिल्लाहरुमा पनि २५ मार्च सम्म लक डाउन गरिएको छ ।





