ध्रुवराज खनाल
रत्ननगर, ९ चैत
कोरोनाको संभावित जोखिमबाट वच्न खैरहनी नगरपालिकाले टोल विकास संस्था मार्फत सचेतना फैलाउने भएको छ । त्यसका लागि नगरपालिकाले नगर भित्रका टोल विकास संस्थालाई पत्राचार सुरु गरेको छ ।
कोेरोना भित्रन नदिन सर्तकता अपनाउनका लागि सचेतना फैलाउन टोल विकास संस्थालाई परिचालन गरिएको नगरपालिका मेयर लालमणी चौधरीले बताए । टोल विकास संस्थाका पदाधिकारीहरु घरघरमा पुग्न सक्ने भएकाले यसको प्रभावकारीता हुने मेयर चौधरीको भनाइ छ ।
आईतवार सामाजिक विकास समिति र सुरक्षा निकायबीच भएको वैठकमा टोल विकास संस्थालाई परिचालन गर्नुका साथै टोल टोलमा माईकिङ गर्ने निर्णय समेत गरिएको छ । “अस्पतालनै पुग्ने वातावरण सिर्जना नगर्न सचेतना प्रमुख उपाय हो”, मेयर चौधरीले भने, “टोल विकास संस्थालाई परिचालनदेखी सचेतनामुलक प्रचार प्रसार आवश्यक हुन्छ ।” नगर भित्रका स्वास्थ्य संस्थामा अत्यावश्यक वाहेक सेवा बन्द गर्ने, स्वास्थ्य संस्थामा हेल्थ डेस्क राख्ने,वजारका विभिन्न ठाउँमा हात धुन सावुनपानीको व्यवस्था गर्ने, बजार हुन सक्ने कालोबजारीलाई रोक्न बजार अनुगमन गर्ने निर्णय समेत वैठकले गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए ।
सामाजिक विकास समिति संयोजक मनेजर महतोको अध्यक्षतामा भएको बैठकमा खैरहनी नगरपालिका उपमेयर सुनिता थपलिया, स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल, नम्वर २ विपद व्यवस्थापन गणका प्रमुख सेनानी राजेन्द्र पराजुली, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्ती मगर, नगरपालिका प्रवक्ता रामशरण पाण्डे,स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी, सामाजिक विकास समिति सदस्य एवंम् खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीना, सदस्यहरु कृष्ण प्रसाद भुषाल, पवन श्रेष्ठको उपस्थिति थियो ।
रत्ननगरले भन्यो ‘सामुहिक रुपमा जुटौँ’
दोस्रो प्रमुख बजारमा पर्ने रत्ननगर नगरपालिकाले कोरोना बारे आम नगरवासीलाई सुसुचित गराउन सामुहिक रुपमा जुट्न आग्रह गरेको छ ।
नगर भित्रका सामाजिक संस्थाहरुकोसँग आइतबार भएको छलफलमा रत्ननगरका मेयर नारायण वनले सामुहिक प्रयासले मात्रै कोरोनालाई परास्त गर्न सकिने बताए । त्यसका लागि सामाजिक संघसंस्थाहरुले नगरपालिकासंग मिलेर सचेतनामुलक कार्यक्रम गर्नु पर्ने मेयर वनको भनाइ थियो । अत्यावश्यकवाहेक अन्य काममा घरबाहिर ननिस्किन नगरवासीलाई आग्रह गर्ने,कालो वजारी हुन नदिने,सचेतनामुलक कार्यक्रमलाई तीव्र रुपमा संचालन गर्ने सहमति भएको छ ।
छलफलमा उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल, वडाध्यक्षहरु, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रीय होटल संघ सौराहा, क्षेत्रीय रेवान सौराहा, विभिन्न लायन्स क्लब, जेसिज, लियो क्लब, चितवन उद्योग संघका प्रतिनिधीको सहभागीता रहेको थियो ।





