डिजिटल कारोबारमा सर्वसाधारणको विश्वास कम, बैंकमा भिड बढ्दो

सेवाग्राहीको सुविधाका लागि नेपालभर रहेका जुनसुकै एटीएम मेसिनबाट रकम भुक्तानी गर्दा अतिरिक्त पैसा नलाग्ने व्यवस्था पनि सरकारले गरेको छ । यस्तै बैंक सञ्चालकहरूले भाइरसबाट जोगिनका लागि मोबाइल बैंकिङ सेवाको प्रयोग गरी कारोबार गर्न आग्रह पनि गरेका छन् ।

शिव गौतम

भरतपुर, १० चैत

नोबल कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा पनि लकडाउन हुनसक्ने अनुमान लगाउँदै रकम भुक्तानी गर्न बैंक पुग्ने सेवाग्राहीहरूको संख्या बढ्न थालेको छ । सर्वसाधारण खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरिद गरी भण्डारण गर्नका लागि रकम भुक्तानी गर्न बैंक पुग्ने गरेका हुन् ।

यस्तै बैंक लगायतका वित्तीय संस्था पनि बन्द हुन सक्ने भन्दै सर्वसाधारणले बैंकको पैसा निकाली घरमै राख्न थालेका हुन् । प्रधानमन्त्रीले नै देशबासीका नाममा सम्बोधन गरी कोरोनाबाट बच्न सन्देश दिएसँगै भरतपुर क्षेत्रमा रहेका बैंकमा पुग्ने सेवाग्राहीको संख्या बढेको हो । बैंकहरूमा नगद भुक्तान गर्न जानेहरूका कारण बैंकभित्रको ठाउँ नै खचाखच हुन पुगेका छन् । प्रशासनले २५ जनाभन्दा बढी मानिस जम्मा नहुन निर्देशन दिए पनि सेवाग्राहीको संख्यालाई रोक्न नसकिएको राष्ट्रिय वाणिज्य बैंक चौबिसकोठी शाखाका सहायक शाखा प्रबन्धक सन्तोष सोतीले बताए । सुरुमा खातावालाहरूलाई एक पटकमा २५ जनाका दरले बैंक प्रवेशमा अनुमति दिने सोचेको भएपनि लागू गर्न नसकिएको उनले जानकारी दिए । “सेवाग्राहीका कारण भीड बढेको छ । भीडका कारण यहाँ काम गर्ने कर्मचारीहरू पनि जोखिममा छन्”, उनले भने ।

भाइरसको संक्रमणबाट सतर्क हुन बैंकका कर्मचारीले पनि मास्कको प्रयोग गर्न थालेका छन् । त्यस्तै बैंक छिर्ने सबैलाई चौकिदारहरूले सेनिटाइजर लगाइदिने गरेका छन् । बैंकमा आउने सबै सेवाग्राहीलाई डिस्पोजेबल मास्क वितरण गर्ने सम्बन्धमा पनि काम भइरहेको वाणिज्य बैंकका सहायक शाखा प्रबन्धक सोतीले भने । यस्तै, नारायणघाटमा रहेको बैंक अफ काठमाण्डौंले भने प्रशासनको निर्देशनलाई कडाइका साथ पालना गर्न तत्पर देखिएको छ । एक पटकमा केवल २५ देखि ३० जनालाई बैंक प्रवेशमा अनुमति दिने गरेको बैंकका हेड अफिसर मुकेश श्रेष्ठले बताए ।

सेवाग्राहीको संख्या बढेका खण्डमा उनीहरूलाई बस्नका लागि बैंक बाहिर नै कुर्सीको प्रबन्ध गरिएको श्रेष्ठले बताए । सेनिटाइजरले हात सफा गरेर मात्रै सेवाग्राहीलाई भित्र प्रवेश गर्न दिइएको बताउँदै उनले ज्वरो नाप्ने यन्त्र पनि मगाइएको बताए । बैंकहरूले व्यक्तिले एक दिनमा १० लाख रुपैयाँसम्म निकाल्न पाउने नियममा फेरबदल भने नल्याएको जनाएका छन् । सेवाग्राहीहरूको सुविधाका लागि नेपालभर रहेका जुनसुकै एटीएम मेसिनबाट रकम भुक्तानी गर्दा अतिरिक्त पैसा नलाग्ने व्यवस्था पनि सरकारले गरेको छ ।

यता, मास्क लगाएर एटीएम मेसिन प्रयोग गर्नेको संख्या बढेपछि बैंकहरूले त्यसतर्फको सुरक्षा पनि कडा पार्ने भएका छन् । एटीएमको प्रयोग गर्दा हेलमेट, मास्क र कालो चस्मा लगाउन नपाउने नियम भएपनि कोरोनाको सन्त्रासका कारण मास्क लगाएर एटीएममार्फत रकम भुक्तानी गर्नेको संख्या बढेको हो । “यो बेलामा एटीएम मसिनको सुरक्षा भन्दा पनि भाइरसबाट कसरी बच्ने भन्ने महत्त्वपूर्ण कुरा हो”, वाणिज्य बैंक चौबिसकोठी शाखाका सहायक शाखा प्रबन्धक सोतीले बताए, “तैपनि एटीएम काउण्टरमा गार्डहरूलाई अलि ध्यान दिन भनेका छौं ।” यस्तै बैंक सञ्चालकहरूले भाइरसबाट जोगिनका लागि मोबाइल बैंकिङ सेवाको प्रयोग गरी कारोबार गर्न आग्रह पनि गरेका छन् । नेपालको केन्द्रीय बैंकले भने हाल सृजना भएको गम्भीर परिस्थितिमा पनि वित्तीय संस्था खुला नै रहने जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट