६ चैत/कोरोना भाइरसको संक्रमणले बलीउडलाई पनि असर गरिरहेको छ । भाइरसको संक्रमणबाट बच्न कलाकारहरु ‘सेल्फ क्वारेन्टाइन’मा बस्न थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पछिल्लो समयमा सेल्फ क्वारेन्टाइनमा बसेकी हिरोइन हुन् सोनम कपुर । बलीउडकी चर्चित अभिनेतृ सोनम केही दिन अघि मात्रै पति आनन्द आहूजासँग लण्डन घुमेर फर्किएकी थिइन् । घर फर्किएलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेकी हुन् ।
सेल्फ क्वारेन्टाइनमा रहेकी सोनमले आफ्नै परिवारका सदस्यसँगको भेट पनि बन्द गरेकी छन् । उनले आफ्नो सासु प्रिया आहूजासँग झ्यालबाट कुराकानी गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । भिडियोमा सोनम घरको उपल्लो तल्लाको झ्याको सिसाबाट तल्लो तल्लामा रहेकी सासुसँग गफ गरिरहेकी छन् ।
लण्डनबाट फर्कनेक्रममा सोनमलाई विमानस्थलमा धेरै पटक जाँच गरिएको थियो । घर पुगेलगत्तै उनले सेल्फ क्वारेन्टाइनमा रहने निर्णय गरेकी थिइन् । ताकि उनको कारण परिवारका अन्य सदस्यको स्वास्थ्यमा कुनै समस्या नआओस् ।
बलीउड सुपरस्टार अनिल कपुरकी छोरी सोनम पछिल्लो पटक फिल्म ‘द जोय फ्याक्टर’ मा देखिएकी थिइन् ।





