“हामीलाई पैसाभन्दा पनि उपचारका क्रममा प्रयोग गर्ने सामग्रीहरु सुरक्षाको दृष्टिले उपयुक्त हुने ग्यारेन्टी गरिनुपर्छ”, स्वास्थ्यकर्मीले भन्छन्, “सुरक्षामा लापरबाही नहोस् ।”
राजेश घिमिरे
भरतपुर, ५ चैत
चीनमा केही हप्ताअघि कोरोनाको संक्रमण भएका व्यक्तिको उपचारमा संलग्न चिकित्सककै मृत्यु भएको खबरले विश्वको ध्यान तान्यो । पछिल्ला दिनमा अर्को छिमेकी देश भारतमा पनि धेरै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमासमेत कोरोना संक्रमण भएको खबर आइरहेका छन् । जसले ठूलो मनोवैज्ञानिक असर नेपालमा पनि परिरहेको छ ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर देशका प्रायः ठूला अस्पतालहरुमा ‘आइसोलेसन वार्ड’हरु तयार गरिएका छन् । विभिन्न ठाउँमा ‘क्वारेन्टाइन’ क्षेत्र नै तोकेर उपचारको तयारी भइरहेको छ । तर, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरु भने भित्रभित्रै त्रसित छन् । कोही यस विषयमा खुलेर प्रस्तुत हुन्छन् त कोही नाम सार्वजनिक नगर्ने सर्तमा ।
भरतपुरमा कोरोना संक्रमितको उपचारका लागि भनेर तयार गर्न लागिएको क्वारेन्टाइन क्षेत्रको बहिरङ्ग सेवा सञ्चालनको जिम्मेवारीसमेत पाएका डा. अनिलविक्रम कार्की सरकारको कमजोर तयारीका कारण स्वास्थ्यकर्मीहरु जोखिममा काम गर्न बाध्य भइरहेको बताउँछन् । नेपाल चिकित्सक संघका उपाध्यक्षसमेत रहेका डा.कार्की आवश्यक सुरक्षाका सामग्रीको प्रयोगविना सेवामा खट्नुपर्ने बाध्यता स्वास्थ्यकर्मीको रहेको बताउँछन् । “अहिलेसम्ममा त अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमाना बन्द गरेर संक्रमण रोक्नु पर्दथ्यो”, उनी भन्छन्, “तर, विडम्बना हामीसँग रोग परीक्षण गर्ने गतिलो ल्याब पनि छैन ।” काठमाडौंमा रहेको ल्याबको विश्वसनियतामाथि धेरैको प्रश्न उठिरहेको भन्दै उनले भने, “सरकारको लापरबाहीले भयावह स्थिति नआउला भनेर बस्ने अवस्था रहेन ।”
डा.कार्की ७० शैयाको क्वारेन्टाइन केन्द्र सञ्चालन गर्दैगर्दा सोही अनुपातमा पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट(पीपीई) आवश्यक पर्ने भए पनि यसको व्यवस्था कसरी गर्ने भन्ने विषयमा कोही पनि सचेत रहेको नपाइएको बताउँछन् । “त्यस्ता सुरक्षाका सामग्री बिना हामी कसरी उपचारमा खट्न सक्छौं ?”, डा.कार्की प्रश्न गर्छन्, “पोजिटिभ केस’ नदेखिँदासम्म त केही नहोला । देखियो भने कसरी व्यवस्थापन गर्ने विना साधन ?”
कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुविधा दोब्बर बनाउने निर्णय गरिएको छ । तर, स्वास्थ्यकर्मीहरु यसमा सन्तुष्ट छैनन् । “हामीलाई पैसाभन्दा पनि उपचारका क्रममा प्रयोग गर्ने सामग्रीहरु सुरक्षाको दृष्टिले उपयुक्त हुने ग्यारेन्टी गरिनुपर्छ”, एक स्वास्थ्यकर्मीले भने, “सुरक्षामा लापरबाही नहोस् ।”
उपचारमा निरन्तर खट्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरु बढी जोखिममा हुन्छन् । अर्का एक स्वास्थ्यकर्मीको गुनासो छ, “क्षणिक चर्चाको लागि ७२ घण्टाभित्रमा अस्पताल तयार पार्ने भनेर हामीलाई जोखिममा पार्ने काम गरिएको छ । सबै व्यवस्थापन नहुँदासम्म कसैको चर्चाको लाग भनेर जोखिम मोल्न सकिन्न ।”
हाल १९ शैयाको आइसोलेसन वार्ड तयार पारिएको भरतपुर अस्पतालमा स्वास्थ्यकर्मीका लागि अत्यावश्यक मानिने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट(पीपीई) १५ थान मात्रै छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीले स्वास्थ्यकर्मीको सुरक्षाका लागि भनेर आवश्यक सामग्री खरिदको काम सुरु भएको बताए । “क्वारेन्टाइन केन्द्रमा खट्ने स्वास्थ्यकर्मीलाई स्वस्थ्यमा खतरा नहोस भनेर पीपीईलगायतका सामग्री खरिदको प्रक्रिया अघि बढेको छ”, उनले भने, “सेवा सुरु हुनुभन्दा अघि नै सबै सामग्री जुटाउने तयारीमा छौं ।”





