काठमाडौं, ३ चैत
नेपाल आयल निगम पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि यहाँ दुई रुपैयाँ मात्रै घटाएको हो । ‘आधार मूल्य(खुद्रा बिक्री मूल्य)को आधारमा समायोजन गर्दा २ रुपैयाँ मात्रै घट्यो,’ निगमका एक अधिकारीले भने, ‘स्वचालित मूल्य प्रणालीमा २ प्रतिशत मात्रै समायोजन गर्ने अधिकार छ । जसले गर्दा बढी खेल्न सकेनौं ।’
निगमले हवाई इन्धन आन्तरिकतर्फ भने साढे ४ रुपैयाँ घटाएको जनाएको छ। हवाई इन्धनको हकमा प्रणाली छैन। निगम व्यवस्थापनबाटै उक्त मूल्य घटाएको हो। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ भने मूल्य यथावत नै राखेको छ।
निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार नया मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूची अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल/मट्टितेलको ९५ रुपैयाँ कायम गरिएको छ। हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम गरेको प्रवक्ता गोइतले जानकारी दिए।
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रुपमा घटेको छ। तीन महिनाअघि ओपेक राष्ट्रबाट निर्यात हुने कच्चा तेलको मूल्य प्रति ब्यारेल ६७ अमेरिकी डलर रहेकोमा सोमबार यो ३३.२५ डलर प्रति ब्यारेजलमा झरेको छ। कोरोनाको महामारी विश्वभर फैलिएसँगै विश्वभर हवाई इन्धनसहित सबै इन्धनको माग घटेको छ।
माग घटेसँगै तेलको मूल्यमा गिरावट आएको हो। तेलको मूल्य घटेसँगै साउदी अरेबिया नेतृत्वको ओपेकले रुसलाई समेत इन्धन उत्पादन कटौतीको प्रस्ताव गरेको थियो।
रुसले इन्धन उत्पादन कटौतीको प्रस्ताव नमानेपछि ओपेकले तेलको मूल्य घटाएको थियो।ओपेकले कच्चा तेलको मूल्य घटाएसँगै भारत, चीन, कोरियाजस्ता बढी इन्धन खपत गर्ने राष्ट्रहरुमा तयारी तेलको मूल्य घटेको छ।






