कोरोनाको त्रासले व्यवसायमा असर:ब्याज मिनाहा गर्न माग

ध्रुवराज खनाल
रत्ननगर, २ चैत
चितवनको उद्योगी व्यवसायीहरुले कोरोनाका कारण व्यवसायमा असर परेको भन्दै वित्तीय संस्थासँग लिइएको ऋणको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेका छन् । साथै, ऋणको किस्ता तिर्ने समयावधि थप गर्नुपर्नेसमेत बताएका छन् ।

कोरोनाका कारण विश्वकै अर्थतन्त्रमा असर गरिरहेका बेला यहाँ पनि असर देखिएकाले उद्योगी व्यवसायीहरुले ब्याज मिनाहाका लागि सरकार गुहारेका हुन् । रत्ननगर उद्योग बाणिज्य संघको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको एक टोलीले चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

संघका अध्यक्ष राजाराम रेग्मीसहितको टोलीले प्रजिअ भट्टराई आइतबार ऋणको ब्याज मिनाहसहितका बुँदा समेटिएको ज्ञापनपत्र बुझाएको थियो । कोरोना भाइरसको रोकथामका लागि विभिन्न मुलुकहरुले अपनाएका पूर्वसावधानीका कारण आयात निर्यात कार्य लगभग ठप्पजस्तो हुने परिस्थिति सिर्जना भएको संघको ठहर छ । यो अवस्थामा राज्यभित्र सञ्चालनमा रहेको उद्योग व्यवसायसमेत धरासायी बन्न सक्ने भयावह स्थिति रहेको संघका अध्यक्ष रेग्मीले बताए ।

व्यवसायमा असर परेका बेला उद्योग, कलकारखाना तथा व्यवसाय सञ्चालनार्थ लिएको ऋणको ब्याज तिर्न हालको परिस्थितिअनुकूल नरहेको उनको भनाइ छ । “कोरोनाका कारण विश्वको अर्थतन्त्रमै असर परेको छ”, संघका अध्यक्ष रेग्मीले भने, “यहाँका उद्योग व्यवसायमा विस्तारै असर देखिसकेकाले परिस्थितिअनुकूल नहुँदासम्मको ब्याज मिनाहा हुनुपर्छ ।” बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज समायमा तिर्नुपर्ने बाध्यकारी अवस्थाका कारण व्यवसायी हतोत्साहित भएका संघले जनाएको छ ।

संघले बुझाएको ज्ञापनपत्रमा उद्योगी तथा व्यवसायीलाई ‘व्यावसायिक संक्रमणकाल’को रुपमा घोषणा गर्दै सो समायावधिको बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा तथा साँवा बुझाउने समय थप गर्नुका साथै उद्योग व्यवसायभित्र प्रयोग भएको विद्युत् महसुल मिनाहाको व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

त्यस्तै कोरोना भाइरसका प्रभावको रोकथाम गर्नका लागि सरकार र निजी क्षेत्रबाट सहकार्य गरी जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, आयात–निर्यातमा परेका असरलाई ध्यानमा राख्दै प्रभावकारी ढंगले बजार अनुगमन गर्नका साथै साना तथा मझौला व्यवसायीलाई अनावश्यक झन्झटिलो व्यवस्था गर्न नहुने, दैनिक उपभोग्य सामाग्रीहरु सर्वसुलभरुपमा उपलव्ध गराउनुपर्ने, उपभोक्ता वर्गहरुले अभाव हुने आशंकामा आवश्यकताभन्दा बढी खरिद र भण्डारण गर्ने क्रम सुरु भएकाले यस तर्फ पनि ध्यान दिन आग्रह गरिएको छ ।

यता कोरोना भाइरसको त्रासले गर्दा पर्यटकीय क्षेत्र सौराहा पनि सुनसानजस्तै छ । जसका कारण होटल, रेस्टुरेन्टलगायत पर्यटन व्यवसायमा असर परेको व्यवसायीहरुले बताएका छन् । व्यवसायमा परेको असरका कारण वित्तीय संस्थाको ऋण तिर्र्ने अवस्था नरहेकाले ऋणको ब्याज मिनाहा गरिनुपर्ने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई बताउँछन् ।
यो अवस्थामा ब्याज मिनाहा गर्नुका साथै किस्तालाई साँवामा गाभ्नुपर्ने भट्टराईले बताए । “कोरोनाको त्रासले पर्यटन क्षेत्रमा ठूलो असर परेको छ”, क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले भने, “यो प्रतिकूल अवस्थासम्म बैंकको ब्याज मिनाहा गरेमा राहत महसुस हुने थियो । सौराहामा साना ठूला गरी १ सय १० वटाभन्दा बढी होटल तथा ६० वटाभन्दा बढी रेस्टुरेन्ट छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट