एउटा सवारीको पन्ध्र सय रुपैयाँका दरले पछिल्लो दुई महिनामा ट्राफिक प्रहरीले जथाभावी पार्किङ कसुरमा चालकहरूबाट दुई लाख ४४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।
शिव गौतम
भरतपुर, २ चैत
नारायणगढको लायन्स चोकदेखि पुलचोकसम्म सडकको दुवैतिर दर्जनभन्दा बढी ठाउँमा ‘नो पार्किङ’ चिह्न अंकित बोर्डहरू ठडिएका छन् । कहिलेकाहीँ हावाले बंग्याउने ती ट्राफिक बोर्डलाई सडक विभाग तथा ट्राफिक प्रहरी मिलेर विभिन्न समयमा मर्मत पनि गर्दै आएका छन् । तर, सवारीचालकहरूलाई ट्राफिक चिह्नको ज्ञान नभएर हो या लापरवाहीका कारण, उनीहरूले अधिकांश समय सडकको छेउमा लगेर सवारीसाधन पार्क गर्ने गरेका छन् ।

नो पार्किङ चिह्न अंकित बोर्डको नजिकै लगेर गाडी पार्क गर्दा उनीहरूले कानून र व्यवस्थाकै धज्जी उडाएको भान हुने गरेको छ । आफूबाट गल्ती भएछ भन्नेसम्म पनि मान्न तयार नहुने उनीहरूले यस्ता कार्यलाई बहादुरीका रूपमा लिने गरेका छन् । विशेषगरी निजी चारपाङ्ग्रे सवारीका चालकहरूले सडकको छेउमा गाडी रोकेर घण्टौंसम्म छाड्ने गरेका छन् ।
दुईपाङ्ग्र्रे सवारीसाधनका चालकहरूले त झन् फूटपाथमै मोटरसाइकल तथा स्कूटर कुदाउन र रोक्न पनि भ्याउने गरेका छन् । यस्ता कार्यबाट आजित बनेका पैदलयात्री भने महानगरपालिकाले पार्किङका लागि पर्याप्त ठाउँ छुट्याउनुपर्ने विचार राख्छन् । “सडकमा भन्दा फूटपाथमा सुरक्षित भइएला भन्यो, हर्न बजाउँदै मोटरसाइकल नै फुटपाथमा छिराउँछन्”, स्थानीय विष्णु क्षत्रीले भने, “महानगरले सबै गाडी अट्ने गरी पार्किङस्थल छनौट गरिदिए फूटपाथमा हिँड्नेले सास्ती भोग्नुपर्ने थिएन ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जथाभावी पार्किङ गर्ने सवारीसाधनको पाङ्ग्रामा ‘चेनलक’ लगाउने अभियान नै थालेको छ । तर, सवारीचालकको घैंटोमा घाम लागे पो ! २०७६ माघमा मात्रै जथाभावी पार्किङ गरेको कसुरमा ८६ वटा सवारीसाधन कारबाहीमा परेका छन् । त्यस्तै फागुन महिनामा ट्राफिक प्रहरीले ७५ वटा सवारीसाधनलाई सोही कसुरमा कारबाही गरेको छ । चैत महिनाको पहिलो दिनमा मात्रै दुई वटा सवारीमा ‘चेनलक’ लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
एउटा सवारीको पन्ध्र सय रुपैयाँका दरले पछिल्लो दुई महिनामा ट्राफिक प्रहरीले जथाभावी पार्किङ कसुरमा चालकहरूबाट दुई लाख ४४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिसकेको छ । “खास गरी बजारी क्षेत्रमा पर्ने लायन्सचोक–पुलचोक–पोखरा बसपार्क खण्डमा जथाभावी पार्क गर्ने सवारीको पाङ्ग्रामा चेनलक लगाउने गरेका छौं”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक दयाकृष्ण भट्टले भने ।
जथाभावी पार्क गर्नेहरूमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे दुवै खालका सवारीहरू रहेको उनले बताए । “जथाभावी पार्किङ गर्नेलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरीवाना लिन पाउने व्यवस्था गरिएको छ”, उनले सुनाए, “जसले सडकको धेरै भाग ओगटेर पार्क गरेको छ, उसलाई बढी जरीवाना लिन्छौं ।” सवारीसाधनको पार्किङलाई व्यवस्थित बनाउन महानगरपालिकाले नारायणघाटको दुई ठाउँमा पार्किङ क्षेत्र पनि छुट्याएको छ । एउटा पार्किङ स्थल जूनहल नजिकै छ भने अर्काे पार्किङ स्थल लायन्स चोकमा रहेको पुरानो सब्जीमण्डीलाई बनाइएको छ ।
तर, सवारी चालकहरूले त्यसको प्रयोग नै नगर्ने गरेको ट्राफिक प्रहरी बताउँछ । “वित्तीयदेखि व्यापारिक केन्द्र सबै त्यही बजारी क्षेत्रमा छन् । त्यो कारण पनि मोटरसाइकलहरू फुटपाथमा पार्क गर्ने गरेको पाएका छौं”, प्रहरी निरीक्षक भट्टले थपे, “निजी सवारी चालक एकदमै सुविधाभोगी बन्ने हुनाले पार्किङमा समस्या आउने गरेको छ ।”

गाडीलाई महानगरपालिकाले तोकेको ठाउँमा नबिसाएर आफू पुग्नु पर्ने ठाउँकै अगाडि लगेर गाडी रोक्ने बानी चालकहरूमा बसेको उनले बताए । ट्राफिक नियम पालना गर्ने हो भने दुर्घटनाबाट मात्रै नभएर अनावश्यक जरीवानाबाट पनि बच्न सकिन्छ भन्ने कुरामा चालकहरूले ध्यान दिन जरुरी रहेको छ ।





