डेंगेरोग नियन्त्रणका लागि तत्काल कुनै कार्यक्रम बनेका छैनन् । परीक्षण गर्ने किट पनि छैनन् । डेंगेका कतिपय लक्षण कोरोनासँग मिल्ने भएकोले झनै त्रास बढेको छ ।
विप्लव काफ्ले
भरतपुर, २ चैत
विश्वमा कोरोना भाइरसको महामारी फैलिएको छ । नेपालले उच्च सतर्कता अपनाइरहेको छ । कोरोना आइसकेको छैन । आउन सक्ने त्रासले अनेक तयारी गरिएका छन् । मान्छे तर्सिएका छन् । तर, यहाँको नियमितजस्तो बनेको अर्को डरलाग्दो रोग डेंगेविरुद्ध लड्न हामीसँग पर्याप्त तयारी छैन ।

डेंगे धेरै देख्ने मौसम सुरु भएको छ । यसबाट संक्रमित हुनेहरु फाटफुट देखा पर्न थालेका छन् । पुस ११ देखि फागुन ३० सम्म ३६ जनामा डेंगे संक्रमण भेटिइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेश १ मा ६, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा ५, सुदूरपश्चिममा २ र प्रदेश ५ मा १४ जना डेंगेका बिरामी फेला परिसकेका छन् । १८ जिल्लामा डेंगेका बिरामी फेला परेका छन् । बागमती प्रदेशको नुवाकोट, काठ्माडौं, ललितपुर, रामेछाप र मकवानपुरमा डेंगेका बिरामी भेटिएका हुन् । ज्वरो तथा रुघाखोकी लाग्ने, घाँटी–टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने डेंगेको लक्षण कोरोनासँग मिल्छन् । त्यही कारणले झनै त्रासको वातावरण देखिन थालेको छ ।
चितवनमा गत मंसिरसम्म डेंगेका बिरामी फेला परेका थिए । साउनदेखि मंसिरसम्म चितवनमा ४ हजार ८ सय ४ जना डेंगेका बिरामी फेला परेका थिए । जसमध्ये २ जना भरतपुर महानगरका र १ जना गैंडाकोटका व्यक्तिले ज्यान गुमाएका थिए । “मंसिरयता डेंगेका बिरामी फेला परेका छैनन्”, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, “४–५ दिन झरी परेर पानी जम्मा हुने स्थिति भएमा महामारी आउन सक्छ । तर, अहिल्यै डराउनुपर्ने अवस्था छैन ।” चितवनमा साउनमा ९७, भदौमा २ हजार १ सय ३, असोजमा १ हजार १ सय ५, कार्तिकमा १ सय ६२, मंसीरमा १५ जना डेंगेका बिरामी भेटिएका थिए ।
“३–३ वर्षको फरकमा डेंगेले चितवमा महामारीको रुप लिएको छ”, उनले भने, “भदौ–असोजमा धेरै बिरामी भए पनि त्यसयता डेंगेका बिरामी न्यून छन् ।” उनका अनुसार गतवर्ष स्वास्थ्य कार्यालयमार्फत डेंगे पहिचान गर्न अस्पतालहरुलाई १ हजार किट वितरण गरेको थियो । साउन दोस्रो सातादेखि लार्भा खोज र नष्ट गर अभियानसहित सचेतना कार्यक्रम भएका थिए । हरेक शनिबार सरसफाइ तथा सचेतना अभियान पनि गरिएका थिए । वडा तहबाटै टोल–टोलमा सचेतना फैलाइएको थियो ।
पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोलाई डेंगे भनिन्छ । डेंगेका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ । “विगतमा चैत, वैशाखमा डेंगेको महामारी चितवनमा फैलिएको अवस्था छैन”, तिवारीले भने, “तर, सावधानी अपाउनुपर्छ, लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो ।” खाल्डाखुल्डी, गमला, खाली भाँडा, एसीमा पानी जम्मा भएमा त्यहाँ लामखुट्टे हुर्किन्छन् । “डेंगेरोग नियन्त्रणका लागि तत्काल कार्यक्रम बनेका छैनन्”, उनले भने, “यो महिना डेंगेका बिरामी पनि भेटिएका छैनन्, तर हरेक व्यक्ति सजग भएमा डेंगेबाट बच्न सकिन्छ ।” उनले २ हजार किट माग प्रस्ताव गर्न लागिएको बताए । “यो ज्वरोको सिजन हो, डेंगे आइहालेमा उपचारमा कमी हुन नदिन सर्तक छौँ”, उनले भने, “महाशाखासँग समन्वय भइरहेको छ ।”
यही भदौ–असोजमा चितवनमा किट अभावको बहानामा रगत परीक्षणमा मनपरी शुल्क लिइएको थियो । भरतपुर महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीले डेंगेरोगका बिरामी यो महिना नभेटिए पनि शाखाले आवश्यक तयारी गरिरहेको बताए । “विगतमा डेंगेको महामारी थियो, पछिल्ला महिनामा त्यस्तो अवस्था छैन”, उनले भने, “तर, डेंगेको उपचारमा कुनै कमी हुने छैन ।”
पछिल्लो ५ महिनाकोे तथ्यांक केलाउँदा सबैभन्दा जोखिम भरतपुर महानगर क्षेत्रमै देखिएको थियो । भरतपुरमा २ हजार ७ सय ९२, रत्ननगरमा १ सय ७१, खैरहनीमा ७६, राप्तीमा ६७, माडीमा ६०, कालिकाका ५३, इच्छाकामनामा ३४ जना डेंगेका बिरामी भेटिएका थिए । चितवनमा उपचार गराएका बाहिरी जिल्लाका २ सय २९ जना बिरामी थिए । ५ वर्षसम्मका २१, ५ देखि १४ वर्षसम्मका १ सय ८१, १४ वर्ष माथिका ३ हजार ४८ जनामा डेंगे संक्रमण भेटिएको थियो । चितवनमा ६ सरकारी अस्पताल र करिब २ सय नीजि अस्पताल तथा क्लिनिकहरु छन् । डेंगे रोग पहिचानका लागि आवश्यक किट मौज्जात राखेको अवस्था समेत छैन ।
दादुरा–रुबेला खोप अभियान सुरु
चितवनमा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । भरतपुर महानगरका २ सय ५९, रत्ननगरका ६३, कालिकाको ४२, माडीको ४४, इच्छाकामनामा ४१ खोप केन्द्रमा आइतबारदेखि अभियान सुरु गरिएको हो । यी स्थानीय तहमा ७ गतेसम्म खोप दिइनेछ । अन्य स्थानीय तहमा १० गतेदेखि १४ र १८ गतेसम्म खोप लगाइनेछ । ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेलाको खोप दिन सुरु गरिएको हो । चितवनमा ५८ हजा ९ सय ८३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । आइतबार करिब ७ हजार बालबालिकालाई खोप लगाइएको अनुमान गरिएको छ ।
चितवनमा डेंगे रोगका बिरामी (स्रोतः स्वास्थ्य कार्यालय चितवन)
आर्थिक वर्ष रगत परीक्षण डेंगे पोजिटिभ मृत्यु
२०७३/०७४ २५६२ ६८७ १
२०७४/०७५ १२९१ ५९ १
२०७५/०७६ १९५१ ३१ ०
२०७६/०७७ (मंसिरसम्म) – ४८०४ ३





