ग्राहकको भेषमा बजार अनुगमन:चितवन प्रशासन

भरतपुर, २ चैत
चितवन प्रशासनले कालोबजारीको बिरुद्ध ‘शून्य सहनशीलता’ अपनाउने बताएको छ । सोमबार जिल्लाका पत्रकारहरुसँगको भेटघाटमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले कोरोना भाइरसको हल्लासँगै चितवनमा कालोबाजारी बढेको सूचना पाएको बताए ।

“यो समाज प्रतिको द्रोह हो । राज्य माथिको द्रोह हो”, भट्टराइले भने, “यसका बिरुद्धमा हामी कडारुपमा प्रस्तुत हुँदैछौं ।” उनले कालोबजारीको बिरुद्ध उत्रन नागरिक समाजलाई आह्वान गरे । कोरोना भाइरसको हल्लासँगै बजारमा सामान स्टक राखेर कृतिम अभाव देखाउने, उपभोक्ताले पनि आवश्यकता भन्दा बढी सामान थुपार्ने प्रबृत्ती बढेको सूचना प्राप्त भएको उनले बताए ।

“हामीले ग्राहकको भेषमा अनुगमन गरिरहेका छौं”, उनले भने, “कानून बिपरित गरेको पाइएमा कानूनमा उल्लेख भएको अधिकतम कारबाही गरिनेछ ।” उनले बजारमा मास्क, स्यानिटाइजर तथा दैनिक उपभोग्य बस्तुहरु ग्याँस, पेट्रोल तथा खाद्यान्नमा मनोमानी चलिरहेको भन्दै सुध्रिन आग्रह गरे ।

प्रजिअ भट्टराइले चितवन प्रशासनले जिल्लामा कोरोना भाइरसको संक्रमण प्रवेश नै नगरोस भनेर सतर्कता अपनाएको बताए । “विशेषगरीकन ठोरी नाका र भरतपुर विमानस्थलमा हामीले कडाई गरिरहेका छौं”, उनले भने, “अस्पतालहरुमा पनि छुट्टै वार्ड निर्माण गरेर सतर्कता अपनाएका छौं ।” उनले संक्रमण भइहालेमा त्यसको व्यवस्थापनका लागि पनि तयारी भइरहेको बताए । हाल भरतपुर अस्पतालमा मात्र रहेको आइसोलेसन वार्डलाई बिस्तार गरी कम्तिमा ७५ शैयाको बनाउने तयारी रहेको उनले बताए ।

अहिले भरतपुर अस्पतालमा १९ शैयाको वार्ड रहेकोमा जिल्लाका दुई मेडिकल कलेजमा २०/२० शैया तथा अन्य अस्पतालहरुमा २ देखि ५ शैयाका दरले आइसोलेसन वार्ड स्थापना गर्ने तयारी भएको उनले जानकारी दिए ।
साथै संभावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन क्षेत्र तोक्ने तयारी भइरहेको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट