भरतपुर, ५ पुस
हङकङमा बस्ने चितवनको समूहले नेपाल रेडक्रस सोसाइटी उपशाखा शारदानगरलाई एम्बुलेन्स सहयोग गरेका छन् । चितवन समाज हङकङका अध्यक्ष ओमराज गुरुङ, भरतपुर महानगरका मेयर रेनु दाहालले संयुक्तरुपमा रेडक्रस उपशाखाका सभापति बसन्तकुमार पौडेललाई एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
अध्यक्ष गुरुङका अनुसार समाजले ६० प्रतिशत र ४० प्रतिशत रेडक्रस उपशाखाको लगानीमा ‘ख’ श्रेणीको एम्बुलेन्स ल्याइएको हो । हङकङमा बस्ने चितवनका स्थानीयले गर्ने सांस्कृतिक कार्यक्रम, विविध इभेण्टबाट संकलन भएको रकम सो एम्बुलेन्स खरिद गर्न उपयोग भएको थियो । एम्बुलेन्सलाई करिव १८ लाख परेको छ ।

अध्यक्ष गुरुङले गरिव तथा विपन्न समुदायका बढी लाभान्वित हुने गरी सहयोग गरिएको बताए । यसअघि समाजले २ वर्ष पहिले रेडक्रस उपशाखा कल्याणपुरमा एम्बुलेन्स सहयोग गरेको थियो । चितवन समाज हङकङको कार्यसमितिमा १५ जना छन् । चितवन स्थायी घर भएका करिब ५ सय जना समाजले गर्ने सहभागिता जनाउदै आएका छन् । मेयर दाहालले उच्च स्तरको एम्बुलेन्सले यस क्षेत्रका बासिन्दालाई फाइदा पुग्ने बताइन् ।
यसअघि रेडक्रस उपशाखा शारदानगरको पहलमा खरिद भएको एम्बुलेन्स करिव १३ वर्ष सञ्चालन भएपछि ३ वर्ष जीर्ण भएको थन्किएको थियो । पार्वतीपुर, भुवनवस्ती, चनौली, दीव्यनगर रेडक्रसका एम्बुलेन्सबाट शारदानगरका स्थानीयले सेवा लिनुपरेको थियो ।
शारदानगर उपशाखाका सभापति बसन्तकुमार पौडेलले एम्बुलेन्स भाडादर छिटै तयर गरिने बताए । उनका अनुसार गरिव तथा विपन्न, बालबालिका, जेष्ठ नागरिकलाई दाताको सहयोग जुटाएर निःशुल्क सेवा दिन पहल गरिने बताए । चितवन हङकङ सम्पर्क समाजका सचिव विष्णु ढकालले नर्सिङसहित राख्न मिल्ने एम्बुलेन्सले बिरामीलाई धेरै नै सहयोग पुग्ने बताए । चितवन सम्पर्क समिति मार्फत चितवन समाज हङकङले शिक्षा क्षेत्र, अपांगता भएका व्यक्तिलाई सहयोग, भूकम्प प्रभावितलाई राहत वितरण लगायतका काम गर्दै आइरहेको छ ।





