भोट चाहिँदा आश्वासन, चुनाव जितेपछि बेवास्ता

अस्पतालको पर्खाइमा शारदानगर
विप्लव काफ्ले
भरतपुर, ५ पुस
२०७० सालदेखि अस्पताल बन्ने चर्चामा आएको शारदानगर स्वास्थ्यचौकी अझै अस्पतालमा विकास हुन सकेको छैन । दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन चितवन–४ नम्बर क्षेत्रबाट चुनाव जितेका स्व. सुशील कोइराला प्रधानमन्त्रीसमेत बने । तर, चुनावका बेला २५ शैयाको अस्पताल बनाउने प्रतिबद्धता पूरा गरेनन् । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई २०७३ चैतमा अस्पताल बनाउन गठित पहल समितिको टोलीले मागपत्र बुझाएको थियो । थापाले अस्पताल हुने गरी स्तरवृद्धि गर्ने आश्वासन दिए । तर, अस्पताल दिएनन् ।


१ वर्ष पहिले पनि स्वास्थ्यचौकीले अस्पतालको माग गर्दै मन्त्रालय तहसम्म फाइल बुझायो । तर, प्रगति भएन । उपरदाङगढीमा चितवनको सदरमुकाम भएकाले हालको भरतपुर अस्पतालमा भरतपुर स्वास्थ्यचौकी थियो । यो चौकी गोरीगञ्जमा स¥यो । खैरहनीमा नयाँ प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भयो । पश्चिम चितवनमा पनि सेवा आवश्यक देखिएको भन्दै शारदानगर माविको एक कोठाबाट सुरु भएको शारदानगर प्राथमिक स्वास्थ्य केन्द्र सुरु भयो । पछि गाउँपञ्चायतले जग्गा उपलब्ध गराएपछि शारदानगर स्वास्थ्य चौकी बन्यो । यो भरतपुर महानगरको सबैभन्दा पुरानो स्वास्थ्यचौकी हो ।
शारदानगर स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष धर्मराज सुवेदी अस्पताल बन्नेमा आशावादी रहेको बताउँछन् । “१–२ वर्षमा अस्पताल हुने विश्वास गरेका छौँ”, उनले भने, “प्रक्रिया पूरा गर्दै ढिलो भइरहेको छ ।” उनका अनुसार स्वास्थ्यचौकी मातहतमा करिब ६ विघा जग्गा छ । “ठूलो अस्पताल बनाउन सकिने जग्गा छ”, उनले भने, “बेलाबखत ‘लबिङ’ भइरहेको छ, तर आशा मरेको छैन ।” भरतपुर महानगरको नगरकार्यपालिकाको यही कात्तिक ७ गते बसेको ३४ औं बैठकले १५ शैयाको अस्पतालका रुपमा ‘अपग्रेड’ गर्न अनुरोध गरी पठाउने निर्णय गरेको थियो ।
महानगरभित्रकै गीतानगर, मेघौली स्वास्थ्य चौकीका लागि मन्त्रालय धाइरहेकाले कुनलाई सिफारिस दिने भन्नेमा महानगर अलमलमा थियो । हरेक स्थानीय तहमा १ अस्पताल बनाउने नीति अनुसार महानगरले जग्गा प्रयाप्त भएको र पश्चिम चितवनको केन्द्रभागमा रहेको भन्दै शारदानगरलाईनै अस्पताल बनाउन सिफारिस गर्ने निर्णय ग¥यो ।
शारदानगर स्वास्थ्यचौकीका इञ्चार्ज बद्रीप्रसाद खकुरेलले छिट्टै अस्पताल बन्ने वातावरण बनेको बताए । “बिरामीको चाप बढ्दो छ, भित्री बस्तीबाट समेत सेवा लिन आउने केन्द्रका रुपमा चिनिएको छ”, उनले भने, “अस्पतालका रुपमा स्वीकृति पाउने पखाईमा छौँ ।” हालको स्वास्थ्य चौकीबाट दैनिक ५० जनाले सेवा लिँदै आएका छन् । २४ सै घण्टा प्रसुती सेवा, वर्थिङ सेन्टर, प्रयोगशाला लगायतका सेवा सञ्चालनमा छन् । शारदानगर स्वास्थ्य चौकी भरतपुर–१९ मा पर्छ । भरतपुरबाट शारदानगरको दुरी करिव १५ किमि पर्छ । स्वास्थ्य चौकीमा ४ भवनहरु छन् । पुरानो भवन, तालिम भवन, स्वास्थ्य चौकी भवन, आवासीय भवन छन् । महानगरको १९, २०, १७ र १८ नम्बर वडाका स्थानीयले उपचार सेवा लिदै आइरहेका छन् । यहाँ ७ जना दरबन्दीमा कार्यरत छन् भने ३ जना करारमा कार्यरत छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट