पुनर्जीवन
राजीव पाठक
“ल है म हिँडे । चाँडै जानुपर्ने आज पनि ढिलो भइन्छ कि के हो ?”, रामप्रसाद गौतम आफ्नी अर्धाङ्गिनी मीरालाई यति भनेर घरबाट निक्लन्छ । “ल ल हतार छ भनेर बढी नहाक्नुस् है । समयभन्दा गोडा चार मिनेट ढिलो भएर केही हँुदैन ।”, मीरा भान्साबाट आवाज चिसो हात पुछदै बाहिर आँगनमा आइन् ।
रामप्रसाद विद्युत् प्राधिकरणमा पिएनको जागिर खान्छन् । मीरा घरको गृहमन्त्री ! ‘हामी दुई, हाम्रा दुई’ भन्ने नाराबाट अति प्रभावित मान्छे भन्दा फरक नपर्ला । छोरी श्वेता र छोरा सुवासले साँच्चै घरको रौनक बढाएका थिए । उनीहरु यो निवासका इज्जत नै बनिसकेका थिए ।
किशोरीबाट वैँशतिर हात लम्काउँदै गरेकी छोरी दश कक्षा पढ्छे । पढाइमा मात्रै होइन, उनी अरु क्षेत्रमा पनि अब्बल छिन् । सानोलाई माया र ठूलोलाई सम्मान गर्न कहीँ पछि हट्दैनथिन् । उनी पढ्ने स्कूलमा उनकै नजिकको गाउँको केटो सुवर्ण पनि पढ्थ्यो, एउटै कक्षा र एउटै सेक्सनमा । केटो इमानदार थियो ।
गोह्रो वर्ण । लगभग ५.५ फिट उचाइ भएकी । ढाडसम्म सिल्की केश । कम्मर र वक्षस्थल दुबै कसिला । हेर्दा निकै आकर्षक थिइन् श्वेता । फूलमा भवरा नडुल्ने कुरै भएन । श्वेतामाथि धेरै केटाहरुको आँखा थिए ।
श्वेता र सुवर्ण सँगै स्कूल आउँथे । यो देखेर अरु केटाहरुलाई सैह्य हँुदैनथ्यो । घर पनि दुवैजना सँगै जान्थे । साँझतिर फोनिक्स साईकलको घन्टी टिरिङ–टिरिङ बजाउँदै रामप्रसाद घर आउँथ्यो । मीरा भने चुलोचौकामै केन्द्रित हुन्थिन् । रामप्रसादको घर सुख र शान्त थियो । श्वेता अलि ‘मोडर्न’ जमानाकी थिई । उनको सोचाइ पनि अरुभन्दा अलि फरक नै थियो ।
सुवास बल्ल पाँच कक्षामा पढ्दै थियो । रामप्रसादका दिदीहरु सिमरा बस्थे । दुई भाइ र दुई दिदीसहित चार जना थिए परिवारमा । तर, अफसोच एक भाइ र एक दिदी पहिल्यै स्वर्गीय भइसकेका थिए । समयसँगै श्वेता दिन बढ्दै थिइन् ।
“श्वेता जाउँ हिँड । अबेर नगर”, सुवर्ण हरदम श्वेताको घर अगाडि आएर आवाज दिन्थ्यो । उनीहरुसँगै स्कूल जान्थे । विस्तारै उनीहरुबीचको सम्बन्ध प्रेममा स्थापित हुँदै गयो । उनीहरु प्रेमी–पे्रमिका बने । उनीहरुबीच अब प्रेमिल कुराहरु पनि हुन थाले । स्कूल जाने बेलामा मात्र नभई स्कूलमै पनि उनीहरु सँगै हुन थाले । समय र जवानीको बेगले उनीहरुलाई आफ्नो जालमा छोपिहाल्यो । प्रेमको गहिरो कुण्डमा प्रेमका भलाकुसारी गर्दै एकअर्कामा लिप्त हुँदै डुब्न थाले ।
हेर्दाहेदै कक्षा दशको वार्षिक परीक्षा पनि आयो । दुबै जनाले परीक्षा दिए । परीक्षापछि उनीहरु अझ एकअर्कासँग भेट्न थाले । मायापिरतीका पहाड ठड्याउन थाले । उनीहरु दुई मुटु एक धड्कन भने झै हुन थाले । सुवर्ण अलि उत्तेजित स्वभावको केटा थियो । जवानीको जोशमा दुबैजना हराउन थाले । श्वेता अब सुवर्णको यादमा विलिन हुन थालिन् । न उसलाई घरको चिन्ता, न अरु कुनै चिजको ।
परीक्षाको नतिजा पनि आयो । ३.३५ जीपीएसहित श्वेताले कक्षा दश तरिन् । उता सुवर्ण को ३.२० जीपीए आयो । दुवै जना खुसी थिए । घरमा श्वेताको रिजल्टले सबै हर्षविभोर भए । श्वेतालाई बधाई दिनेहरु टन्नै भए । श्वेता र सुवर्ण दुबै कलेज भर्ना भए । तर, कलेज फरक । समयले बडो मज्जासँग जोत्यो उनीहरुलाई । ‘जति टाढा, झन् माया गाढा’ भने झै उनीहरु समय मिलाएर चौतारोमा सँगै समय बिताउन थाले । श्वेता प्रश्न गर्थी, “सुवर्ण यसरी सधैं भेट्न सम्भव छ ?”
सुवर्ण आश्चर्य मान्थ्यो, “किन सोध्दै छौ, तिमी यो सब श्वेता ?”
श्वेता भन्थी, “हामी बग्रेठो झै भयौँ सुवर्ण, समयको छालले हामीलाई बिछोडको बगरमा लगेर वारि अनि पारी गरी उछिट्यायो ।”
सुवर्ण सम्झाउन खोज्थ्यो, “उछिट्यायो त के भयो श्वेता ? थाहा छ, खोला सुकेर खोलासँगै बगेका ढुङ्गा किनारमा उछिट्टिए पनि बर्खायाममा उर्लेर आउने खोलाले त्यो छुटिएको ढुङ्गालाई अवश्य अँगाल्छ । त्यो समय आउँछ, बर्खायाममा उर्लेको खहरे खोला झैं अनि हामीलाई एक अर्काको आलिङ्गनमा बाँधिदिएर जान्छ ।”
श्वेता खुइय गर्थिन्, “बिहानीले रात पर्खंदैन, अनि रातले बिहानी ।”
समय यसरी नै बित्दै गयो । छोरा सुवास पनि उमेर सँगै, चङ्खे खालको स्वभाव लिएर हुर्कदै थियो । श्वेता र सुवर्णको कलेज फरक भए पनि एकअर्कालाई भेट्न कसैले पनि रोक्न सकेन । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने झैं उनीहरु एकअर्कामा डुब्न अनेक अनेक उपाय खोज्थे । यसैगरी दुवैले कक्षा एघार पनि पास गरे । तर, सुवर्णले त्यसपछिको शैक्षिक यात्रालाई निरन्तरता दिन सकेन । आफ्नो व्यवहारिक समस्याले सुवर्ण इण्डियाको बम्बै शहर पुग्यो, कामको खोजीमा ।
सुवर्णले वेश्यालयमा काम गर्न थाल्यो, पोछा लाउने । त्यहाँबाट थोरै कमाइ हुन्थ्यो । यता श्वेता सुवर्णको अभावले पानीविनाको माछो झैं तड्पिन थाली । सुवर्णको दिनचर्या पोछा लगाउनेमै बित्थ्यो । सुवर्ण एकदम अचम्मित हुन्थ्यो, वेश्यालयको वातावरण हेर्दा । खसी बोका झै मानिसको मोलमोलाइ हुने ठाउँ उसलाई नरकभन्दा कम लागेन । विस्तारै ऊ पनि त्यही स्वभावको बन्दै गयो । सुवर्ण पनि पैसाको लागि मरिहत्ते गर्न थाल्यो, जसरी वेश्यालयमा आफ्नै श्रीमती ल्याएर छाडी जान्थे पुरुषहरु ।
विचरा निर्दोष महिलाको आवाज सुनिदिने चार भित्ताबाहेक कोही हँुदैनथ्यो । बम्बैको शहरले सुवर्णको दिमाग जम्मै बदलदिएको थियो । सुवर्णको मगजमा पनि अनेक पापहरु सल्बलाउन थाले । एकदिन वेश्यालयको मालिक्नीले उसलाई नेपालबाट केटी ल्याउन लगाइन् । सुरुमा त सुवर्ण विलकुल सहमत थिएन । पैसा देखेपछि शिवजीको पनि तीन नेत्र खुल्छन् भने झैं विचरा सुवर्ण के चिज ? एउटी केटी बराबरको एक लाख पचास हजार मूल्य तोकिदियो । कुकुरले हड्डीमाथि ¥याल चुहाए जसरी यति ठूलो रकम आजसम्म उसले पाएको थिएन, उसले मालिक्नीको प्रस्ताव स्वीकार्यो र नेपाल फर्कियो ।
गाउँमा उही हालत नै थियो । रामप्रसाद त्यही फोनिक्स साईकलको सहायताले आफ्नो जागिर गरेर आउँथे । मीरा घरधन्दामै रुमलिन्थिन् । फुच्चे सुवास पनि आठ कक्षामा पढ्ने भइसकेको थियो । श्वेताको पढाइ पहिलेभन्दा खस्किएको थियो । कलेज मन लागे जान्थी, मन नलागे जाँदैनथी । सुवर्ण श्वेतालाई भेट्न गए उसैको घरमा ।
श्वेतालाई सुवर्ण फर्किनेमा विश्वास थिएन । फर्केर त आउला । तर, मलाई सम्झला कि बिर्सला ? श्वेता यस्ता प्रश्न खेलाउँदै दिन प्रतिदिन सिथिल हुँदै थिइन् । सुवर्णको आवाज सुनेर हत्तपत्त घर बाहिर निस्किन् श्वेता । सुवर्णलाई देखेर श्वेता अवाक् भइन् । रुन थालिन् । सुवर्णले श्वेतालाई अङ्गालोमा बे¥यो । उनीहरु गफ गर्न थाले । एक अर्काबीचको अभावका पीडा पोख्न थाले । इण्डियाबाट सुवर्ण अर्कै सोच बनाएर आएको थियो । सुवर्ण चेलिबेटी दलाली भइसकेको थियो । उसको मगजमा पैसाबाहेक अरु केही चल्दैनथ्यो । श्वेता रुँदै भन्थी, “सुवर्ण मलाई छोडेर कहाँ गएको थियौ ? किन गयौ ?”
सुवर्णले भन्यो, “म जहाँ गएको थिएँ र, हाम्रो भविष्य निमार्णको लागि गएको थिएँ । अब हामी एक हुँदैछौं श्वेता, मान्छौ तिमी ?” एकछिन मौनता छायो, मौनताको ताला तोड्दै श्वेताले प्रश्न गरी, “म को हो तिम्रो लागि, तिमीले मलाई पछि छोड्यौ, माया गरेनौ भने नि ? छ केही ग्यारेन्टी ?”
“तिमी म हँु, श्वेता । ल तिमी आफैं भन त म आफूले आफैंलाई कसरी छाड्न सक्छु ? आफूले आफैंलाई माया नगरी कसरी बस्न सक्छु ?”, सुवर्णले यति भनिसकेपछि श्वेता चुप भइन् । यस्तै अनेक कुरा गरेर श्वेतालाई बिहे गर्न राजी बनायो सुवर्णले । छिट्टै भागेर बिहे गर्ने र विदेश जाने मोह पनि देखायो । श्वेता हर्षले गद्गद् भइन् । वर्षौंपछि आफ्नो प्रेम आफूलाई सदासदाको लागि लिन आएको छ भन्ने श्वेता ठान्थी । तर, श्वेताको सुवर्णमाथिको अन्धो भरोसाको कालोपट्टी कसले खोलिदिने ?
असारको कुनै एक दिन थियो सुवर्ण नेपाल आएको । चेलीबेटी लानेहरुको लिस्टमा बिचरी श्वेता पनि थिई । सुवर्णले आफ्नो प्रेमलाई रकममा बेच्न राजी भइसकेको थियो । हाय ! कति स्वार्थी छ यो संसार पैसाको लागि मान्छेहरु आफ्नो प्रेम पनि बेच्न तयार हुन्छन् । श्वेता आफ्नो प्रेममा आँखा चिम्लेर विश्वास गर्थी । आफ्नो वैवाहिक जीवनको सपनालाई न्यानो कल्पनाले बुनेर ओथारो बसिरहेकी थिई श्वेता । उनले ठान्थिन् उनी भाग्यमानी छिन्, जसले आफ्नो प्रेम फिर्ता पाएको छ । तर, अफसोच बिचरी श्वेतालाई के थाहा ? ऊ कसरी राक्षसका माझमा फ्याँकिनेवाला छ । गिद्धले सिनो लुछे जसरी पापी दानवहरुले उनको यौवनको चोक्टा–लाम्टा कसरी लुस्छन् भनेर ? श्वेता कल्पनाको महल ठड्याउँथी, जहाँ ऊ अनि उसको प्रेमसँगै एकै धुरीभित्र ओत लाएर बस्छ । तर, उसलाई के थाहा उसको सपनाको महल एकदिन बडो दयनीय तरिकाले लड्छ, जसलाई उठाउन अधिक गाह्रो हुनेछ ।
श्वेता बाह्रको परीक्षामा पनि उत्तीर्ण भई । तर, पहिलेको जस्तै रौनक भने घरमा थिएन किनकि श्वेताको नतिजा त्यति राम्रो आएन । श्वेता वरपीपलको बोट मुनी आई । सुवर्ण पनि आयो । घण्टौंसम्म अङ्गालेमा बेरिएर कुरा गरे उनीहरुले । त्यत्तिकैमा सुवर्णले भन्यो, “श्वेता हामी भोलि भागेर बिहे गर्ने, दुई चार जोर कपडा ठीक पार ।” श्वेता सुवर्णको प्यारमा लिप्त भइसकेकी थिइन् । सुवर्ण जे–जे भन्दै जान्थ्यो, श्वेता मान्दै जान्थी । भोलि बिहान ३ बजे यही पीपलमुनि भेट्ने सर्तसहित उनीहरु छुट्टिए ।
उनीहरु भाग्ने दिन आयो । श्वेताले एउटा पत्र पारिको सुवर्णसँग भागेर बिहे गर्ने कुरा उल्लेख गर्दै टेबलमा छाडी र घरबाट भागी । दुबैजना पीपलमुनि भेट भए र त्यहाँबाट भागे । उनीहरु बम्बै पुगे बेलुकाको करिब आठ बजेतिर । सुवर्णले श्वेतालाई बम्बै आफ्नो डेरामा लिएर गयो । त्यहाँको परिवेश, होहल्ला, स्वर श्वेतालाई अपच भयो । वर–पीपलकै मुनि सुवर्णले श्वेताको सिउँदो रंगाइसकेको थियो । उनी आधिकारिकरुपमा सुवर्णको भइसकेकी थिइन् । त्यस रात श्वेताको अस्मितामा जूठो लाग्यो । उनको कालो दिनको सुरुआत पतिपरमेश्वरबाट भयो ।
यता श्वेताको घरमा रुवाबासी चलिरहेको थियो । श्वेताको बुवा रामप्रसादले चिठ्ठी पढ्यो । घरमा आँसुको बाढी आयो । गुहार्ने पनि कसलाई ? सुवर्ण एक कामदार जो थियो । न उसको त्यस गाउँमा अस्तित्व थियो न केही थियो ? जाउन् पनि कता ? एक मात्र सहारा प्रहरी । सास रहुञ्जेल आश रहन्छ भने झैं उनीहरुले प्रहरीमा रिपोर्ट गरे ।
उता बम्बैमा बिहानीको सूर्य उदायो । जति–जति सूर्य उदाएर चम्किलो प्रकाश छर्दै थियो, उति–उति श्वेताको जीवनमा अँध्यारो भरिँदै थियो । सुवर्णले श्वेतालाई वेश्यालयका मालिक्नीको सामु सुम्पियो र मालिकनीवाट पैसाको बिट्टो लियो । श्वेताको त्यहाँ जीवनको रसमा निर्लज्ज पुरुषहरुले ¥याल चुहाउने थाले । सुरुमा त श्वेता मानिसहेकी थिइन । तर, कोर्रा र मानसिक यातनाले उसलाई राजी गराई छाड्यो, सोच्थी, भाग्यमा जे छ त्यही पाइन्छ । यतिका उमेरसम्म आमा र बाबाको माया पाएको थिएँ । त्यहाँ रमाएकी थिएँ तर अब म यसमै रमाउन सिक्नुपर्छ । तर जानी–जानी कुन नारी आफ्नो अस्मिता पोखिदिन दिन्थी ।
श्वेताको जवानीको बोलिलाग्न थाल्यो । उनको शरीरसित मानिसहरु खेल्न थाले । आफ्नो यौन तिर्खा मेटाउन थाले । श्वेता काराउँथी, चिच्याउँथी, सहयोग माग्थी । तर, उसको आवाज सुनिदिने त्यो चार भित्ताबाहेक अरु कोही भएन । भित्ताहरु पनि आजित भइसकेका थिए, त्यस्ता चिच्चाहटबाट, त्यस्ता आवाजबाट भित्ताका कानहरु पनि टट्टाइसकेका थिए । ऊ आमालाई पुकार्थी, बाबालाई पुकार्थी अनि आफ्नो प्रेमलाई धिक्कार्थी ।
उनी यहाँसम्म आइपुग्नुको कारण अन्धो प्रेम थियो । यसरी मान्छेहरु आँखा चिम्लेर जो कसैको मिठो–मिठो कुरामा आएर प्रेम गर्छन् अनि पछि बेचिन्छन् । यहाँ त अरुको भन्दा पनि पे्रम व्यापारको बजार बढी फस्टाएको छ । कयाँै नेपाली नारीहरु श्वेता झैं ठगिएका छन् । अझ कति त ठगिनै बाँकी होलान् । कतिका चरित्रमा जीवनभर नमेटिने दाग लाग्न बाँकी नै होला । कयौँ बाबुआमाले आफ्नो छोरी, कयौँ मामा माइजूहरुले आफ्नी भाञ्जीहरु गुमाउनै बाँकी होलान् । आखिर अब यो कतिसम्म ? रोक्ने कसले ?
समयले आफ्नो गति बेजोडले लिइरहेको थियो । यता श्वेता चिच्याएको लुछिएको कयाँैपटक टुटिसकेको पनि ६ महिना भइसकेछ । उता रामप्रसाद छोरी खोज्दै थियो । तर, न रामप्रसादको केही लाग्यो न नेपाल पुलिसको ।
एकदिनको कुरा हो, ग्राहकले श्वेतालाई भोगको लागि बाहिर लिएर गयो । श्वेता नचाहँदा नचाहँदै विवश थिइन् । उनी गइन् । तर, अरु बेला जाने गरेको मुद्राभन्दा अलिक बेग्लै मुद्रा थियो उसको, प्रफुल्लित । उनले त्यहाँबाट भाग्ने सोच गरिसकेकी थिइन् । समयले पनि साथ दिँदै थियो उनलाई । रातको समय थियो । चहलपहल अधिक थियो । भिडबाट गुज्रँदै गरेको बेला ग्राहकको आँखाबाट छलिन पुगिन् श्वेता । अब श्वेताको जीवनमा टुट्ने, फुट्ने भन्ने कुराहरु एकादेशको कथा झैं हुनेवाला थियो । श्वेता त्यस नरकबाट फुत्किएर भागी । श्वेता भलई २० वर्षकी थिई । तर, साहसी र निडर थिई । वेश्यालयको त्यस्तो अमानवीय व्यवहारले श्वेताको मानसपटलमा एउटा अभियानको उत्पत्ति गरायो । श्वेताले ठानिसकेकी थिई उनी एकदिन यो पिंजडाबाट उडेर भाग्छे अनि उनी जस्तै फसिन बाँकी भएकी दिदीबहिनीलाई बचाउँछे । अखिर उनी आफ्नो अभियानको पहिलो चरण हाँसिल गर्ने सफल भई ।
उनी आफ्नो घर फर्किन् । अचानक आफ्नी छोरी आँखा अगाडि देखेर रामप्रसाद आश्चर्यचकित भयो । बुवाको आलिङ्गनमा बेरिएर श्वेताले अश्रुधारा बगाइन् । आफ्नो सबै वृतान्त बुवालाई सुनाइसकेपछि बुवा रामप्रसादको आँखा रसायो । उनले अभियानलाई साथ दिने कुरा बताए । श्वेतालाई अझ बढी शक्ति र प्रेरणा मिल्यो ।
सुवर्ण लुकिछुपी आएर अन्य गाउँको निर्दोष नारीहरुलाई फकाएर लैजान्थ्यो । झुट, अपराध जति नै लुकेपनि एकदिन अवश्य समाजसामू छर्लङ्ग देखिन्छ । एउटा नारीलाई बम्बै लाँदै गर्दा पुलिसबाट सुवर्ण समातियो । समातेको २ घण्टामा श्वेतालाई झिकाइयो र आमनेसामने राखियो । श्वेताले सुवर्णको मुखमा थुकिदिई र गालामा पाँच औँलाको डाम बसाइदिई ।
श्वेताले रुँदै प्रश्न गरिन्, “आखिर प्रेम बेचेर तिमीले के पायौ ? किन यस्तो ग¥यौ ? के प्रेमको मूल्य जाबो हातको मयलमा निर्धारित हुन्छ, पैसामा हुन्छ ? तिमीजस्तो नालायक पुरुषले गर्दा हामी नारीहरुको अस्मितामाथि कहिल्यै नमेटिने दाग लाग्ने गर्छ । यसको मुल्य कसले तिर्ने ? तिमीजस्तो पुरुषलाई हाम्रो अंगसँग खेल्न मन छ भने आऊ खेल, मसँग खेल । किन शिर झुकाउँछौ ?”
श्वेता अझ थप्दै दिई । सुवर्णलाई पुलिसले लिएर गयो । श्वेताको नेतृत्वमा प्रहरीको साथमा बम्बैमा रहेका नारीहरुलाई छुट्कारा दिलाइयो । श्वेताको यो अभियानले सफल रुप पायो । श्वेता चर्चित भइन् । देशभर मात्र नभई अन्तराष्ट्रियस्तरमा उसको यो घटनाको चर्चा हुन थाल्यो । जसरी उसँगै उसको अस्तित्व समाजमा बिलाउँदै गएको थियो, त्यसरी नै उसको असल कार्यले उनलाई समाजमा पुनस्थार्पित गरी पुनर्जीवन दिलायो ।
आफूसँगै उत्पीडनमा परेका कयौंलाई पुनर्जीवन दिलाउन सफल भइन् श्वेता । उनले नेपालमा आएर महिला सशक्तीकरणको बारेमा कार्यक्रमहरु आयोजना गरिन् । गाँउ–गाँउ बस्ती–बस्तीबाट उत्पीडनमा परेका नारीलाई समेट्दै विभिन्न सीपमूलक अभियान कार्यक्रम आयोजना गराएर आफ्नो खुट्टामा उभिन सहयोग गरिन् । उनको यो प्रयासले राष्ट्रियस्तरमा ख्याति पायो । उनले नेपालको सीएनएन हिरो उपाधि हासिल गर्न सफल भइन् ।
उनी अन्तर्राष्ट्रिय नोबेल शान्ति पुरस्कारबाट पनि सम्मानित भइन् । रामप्रसाद, मीरालगायत सुवासको इज्जत त रह्यो नै, गाँउको इज्जत पनि बढ्यो । श्वेता गौतम ‘द श्वेता गौतम’ले चिनिन् । उनी सबैको प्रेरणाकी पात्र बनिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट