विप्लव काफ्ले
भरतपुर, १९ मंसिर
उपनिर्वाचनमा चितवनका ३ वटै वडामा वडाध्यक्ष पद जितेपछि नेपाली कांग्रेस निकै उत्साहित बनेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको पक्षमा मतदाता बढी हुने अनुमान गरिए पनि अन्ततः कांग्रेसले मंसिर १४ गतेको उपिनिर्वाचन जितेपछि यो उत्साह बढेको हो ।

भरतपुर–१६ को स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेका चतुरमान गुरुङले कांग्रेसका अमृतराज हमाललाई ६४ मतले हराएका थिए । यो वडामा तत्कालीन एमालेको प्यानलै विजयी बनेको थियो । तर, गुरुङको क्यान्सरका कारण निधन भएपछिको उपनिर्वाचनमा भयो । १६ नम्बर वडा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र, नेकपा नेता तथा राष्ट्रियसभा सदस्य पार्वती रावलको वडा हो ।
कांग्रेसबाट खैरहनी–४ का नरेन्द्रनाथ अधिकारी र खैरहनी–५ का विश्वविजय बस्नेत वडाध्यक्षमा विजयी बनेका थिए । उनीहरुको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको थियो । अधिकारीले ६४ तथा बस्नेतले २ सय २९ मतान्तरले तत्कालीन एमालेका उम्मेदवारलाई हराएका थिए । तर, तत्कालीन माओवादीले भरतपुर–१६ मा ८ सय ८९, खैरहनी–४ मा ३ सय ६, खैरहनी–५ मा २ सय ७३ मत ल्याएको थियो । उपनिर्वाचनमा १६ मा २ सय ४३, ४ मा ७५ र ५ मा ४५ मतदाता मात्रै बढेका थिए । खैरहनी नेकपाका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डको निर्वाचन क्षेत्र हो ।
दुई पार्टी मिलेर नेकपा बनेकाले मतान्तर सहजै पूरा गर्ने अंकगणित थियो । तर, कांग्रेसले ३ वटै वडामा जित्यो । भरतपुर–१६ मा ३ सय ८ मतान्तरले अमृतराज हमाल, खैरहनी–४ मा १ सय ५२ मतान्त्रले देवबहादुर बस्नेत, खैरहनी–५ मा ८६ मतान्तरले प्रतिमा कार्की विजयी बने । हमाल दोस्रो पटक चुनावी मैदानमा थिए । बस्नेत वडा सदस्यमा निर्वाचित भएर वडाध्यक्षको निधनपछि कार्यवाहक अध्यक्ष बनेका थिए । कार्की वडाध्यक्ष स्व. बस्नेतको श्रीमती हुन् ।
नेपाली कांग्रेस चितवनले उपनिर्वाचनमा विजयी बनेका ३ वटै वडाध्यक्षलाई बिहीबार सम्मान ग¥यो । “महाभारतको युद्ध जितेको होइन, २०७९ को चुनाव जित्नका लागि ‘काष्टिङ’ हो”, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने, “विगतको चुनावमा हामी जिम्मेवारीमा अलमलमा थियौँ, पार्टी एकताले नै चुनाव जितियो ।” उनले चितवन कांग्रेसले आफ्ना उम्मेदवारबाहेक अन्यत्र भोट नहाल्ने सन्देश पुगेको दावी गरे । “स्थानीय तह चुनावमा केन्द्रको गलत निर्णयले कांग्रेस कमजोर बन्यो”, उनले भने, “आगामी निर्वाचनमा उम्मेदवार सर्वसम्मत चयन गर्नेछौँ, कांग्रेसमय बनाउनेछौँ ।”
उपनिर्वाचनले व्यक्तिगत स्वार्थका लागि कांग्रेसलाई प्रयोग गर्ने अधिकार कसैलाई नभएकोे सन्देश दिएको बताए । स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट भरतपुर महानगरमा रेनु दाहाललाई जिताउन कांग्रेसले अभियानै चलाएको थियो । कांग्रेस चितवनका उपसभापति कैलाश कोइरालाले एक ढिक्का बनेमा कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे । “भाइ–भाइ फुट्दा हारेका थियौँ, उपनिर्वाचनमा भाइ–भाइ मिले, चुनाव जितियो”, उनले भने, “सरकार र कांग्रेस दुबै सच्चिने मौका उपनिर्वाचनको नतिजाले दिएको छ ।” कांग्रेस चितवनले चुनावका बेला निष्क्रिय रहँदै विपक्षीलाई मत दिने तर पार्टीको चुनावमा पकड जमाउन क्रियाशील सदस्य बढाउने व्यक्तिको सदस्यता नै रोक्ने अभियान चलाउने योजनासमेत बनाएको छ ।
जनताले पश्चाताप गरेः महत
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले विगतको निर्वाचनमा मत दिएका जनताले पश्चात्ताप गरेको जिकिर गरे । उपनिर्वाचनमा चितवनका ३ वडामा विजयी वडाध्यक्षलाई सम्मान गर्न आयोजित कार्यक्रममा महतले भने, “सपना बाँडे, भोट लगे, तर अहिले जनताको पश्चात्तापको ‘सेन्टिमेन्ट’ आइरहेको छ, त्यो ‘सेन्टिमेन्ट क्यास’ गर्न हामी केही सफल बन्यौँ ।” उनले उपनिर्वाचनले विगतमा भएको केही नोक्सानीको क्षतीपूर्तिसमेत भएको बताए ।
“अमेरिका सरकारको सहयोगमा ‘राप्ती भ्याली प्रोजेक्ट’ बाट चितवनलाई बसोबास योग्य बनाउने काममा कांग्रेसले अगुवाइ गरेको थियो”, विगत सुनाउँदै उनले भने, “केही निर्वाचनमा कांग्रेसले पराजय भोग्यो । तर, अब चितवमा कांग्रेस बलियो हुनेछ ।” उनले स्थानीय सरकारले लगाएको जथाभावी करको बोझ हटाउनुपर्ने बताए । सरकार राजनीतिक अधिकार कटौती गर्न, अधिनायकतर्फ उन्मुख भएको आरोप लगाए । उनले कांग्रेस नेतृत्वको सरकारका बेला डीपीआर र ठेक्का लागेका बहुवर्षीय आयोजना अलपत्र परेकोमा दुखेसो पोखे । “कयौं बहुवर्षीय योजना रोकिएका छन्, ती योजना विधिवतरुपमा स्थानीय वा प्रदेश सरकारमा हस्तान्तरण गरेर रकम उपलब्ध गराउनुप¥यो कि संघीय सरकारले नै सम्पन्न गराउनुप¥यो ।”
उनले आगामी निर्वाचनमा तल्लो तहबाट आएका सिफारिसका आधारमा उम्मेदवार छनौट गर्नुपर्ने नीति अंगाल्नुपर्ने बताए । उनले पार्टीभित्रको गुट त्यागेर चुनावमा लागेमा सफलता पाइने सन्देश उपनिर्वाचनले दिएको बताए ।प्रजातन्त्र कमजोर पार्दै सरकारः खाँड
नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले सरकार प्रजातन्त्रलाई कमजोर पार्न लागेको आरोप लगाए । “हरेक पक्षमा मानवअधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर गर्ने काम गरिरहेको छ”, उनले भने, “यस्तो अवस्थामा जनताले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई सबल र सुदृढ गराउने चाहना गरेको उपनिर्वाचनले देखाएको छ ।”
उनले चितवन प्रजातन्त्र भूमि भए पनि अधिनायकवादी चिन्तन राख्ने कम्युनिष्टले प्राप्त गरेको विजयी अस्थायी भएको जिकिर गरे । “आफ्ना उम्मेदवारलाई विजयी गराउनैपर्छ भन्ने प्रतिबद्धता, क्रियाशीलता देखिएको छ”, उनले भने, “देशभरी कांग्रेसको शक्तिलाई केन्द्रित गरेर बलियो र सबल बनाउने अभियानमा लागेमा आगामी निर्वाचनमा सफलता मिल्नेछ ।” उनले नवनिर्वाचत वडाध्यक्षलाई जनताको हकअधिकार, विकासका पूर्वाधार कार्यान्वयन गराउन पार्टील सघाउने बताए ।





