राजेश घिमिरे
चितवन, १९ मंसिर
कृषिमा आधुनिकीकरणका लागि सञ्चालित यान्त्रिकीकरण कार्यक्रमतर्फ किसानको आकर्षण बढ्दो छ । चितवन र मकवानपुरबाट मात्रै यसवर्ष यान्त्रिकीकरणका लागि ५ अर्ब रुपैयाँभन्दा बढी रकम अनुदान माग भएको छ ।
दुई जिल्लाका किसान, समूह तथा सहकारीहरुले कृषिका लागि आवश्यक आधुनिक औजार खरिद गर्नका लागि उक्त रकम बराबरको अनुदान माग गरेका हुन् । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अनुदानका लागि मकवानपुर जिल्लाबाट २ सय १० आवेदन परेका छन् । मकवानपुरबाट मात्रै ४ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ अनुदान माग भएको केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीले बताइन् ।

चितवनबाट ३ सय १० वटा आवेदन कृषि औजार खरिदको अनुदानका लागि परेको छ । यहाँबाट ३८ करोड ४४ लाख रुपैयाँको अनुदान माग भएको त्रिपाठीले बताइन् । चितवनमा कार्यालय रहेको केन्द्रको कार्य क्षेत्र मकवानपुर जिल्ला पनि हो ।
अनुदान माग गर्नेको संख्या मकवानपुरमा कम भए पनि एउटै संस्थाबाट धेरै प्रकारका ‘मेसिन’ माग गरिएको केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले बताए । “मकवानपुरबाट एउटै सहकारीले दर्जनौं मेसिनका लागि अनुदान माग गरेका छन्”, पौडेलले भने, “प्रायःले महंगो मूल्यका सामग्रीको माग गरेका छन् ।” अनुदान माग गर्नेको संख्या बढी भएपनि चितवनका प्रायः किसान तथा सहकारी संस्थाहरुले थोरै सामग्री माग गरेका छन् । कृषि ज्ञान केन्द्रमा परेका सबै आवेदन कृषि निर्देशनालयमा पठाइएको सूचना अधिकारी त्रिपाठीले बताइन् ।
गतवर्ष यी दुई जिल्लाका ७५ किसान, समूह तथा सहकारीहरुले यान्त्रिकीकरणका लागि अनुदान लिएका थिए । उनीहरुलाई यन्त्र खरिदका लागि नेपाल सरकारले एक करोड ८९ लाख २४ हजार ३ सय ५६ रुपैयाँ खर्च गरेको अधिकृत पौडेलले जानकारी दिए । गतवर्ष यान्त्रिकीकरण कार्यक्रमका लागि २ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त भएकोमा ६० लाख रुपैयाँ फ्रीज भएको थियो ।
अघिल्लो वर्ष सम्झौता गरेका किसान पनि अनुदान लिन नआएका कारण बजेट फ्रीज भएको पौडेलले बताए । “यसवर्ष आवेदन दिनेको सूची हेर्दा कृषिमा आधुनिकीकरणका लागि किसान उत्साहित छन् भन्ने देखिन्छ”, पौडेलले भने, “यसवर्ष अनुदान रकम बढाइएका कारण पनि बढेको हुनसक्छ ।” सरकारले गतवर्ष २० हजार रुपैयाँभन्दा कम लागतको मेसिन खरिदमा ८० प्रतिशत, सामुहिक खेतीका लागि ८० प्रतिशत तथा अन्यलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । यसवर्ष भने अनुदान बढाएर ७५ प्रतिशत पु¥याइएको छ ।
केन्द्रका सूचना अधिकारी त्रिपाठीका अनुसार धेरै किसानले पावर टिलर, मीनी टिलर, थ्रेसर, स्प्रेयर, पावर स्प्रेयर, ब्रस कटर, राइस मिल, पोटेटो रिडार, ड्याङ् बनाउने, मकै छोडाउने मेसिन, एन्टी स्कीड वीड, सिडलिङ प्लान्टरलगायत मेसिनको माग गरेका छन् । यी मेसिनको मूल्य ३ हजार रुपैयाँ देखि ३ लाख ४० हजार रुपैयाँसम्म पर्छ ।





