भरतपुर, १७ मंसिर
लायन्स क्लब अफ चितवन र चितवन एभर ग्रीनले भरतपुर–११, बसेनीस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न तथा खेलकुद सामग्री प्रदान गरेका छन् । लायन्स क्लब अफ चितवनका अध्यक्ष दीपक ढकाल र एभर ग्रीनका अध्यक्ष ईञ्जिनियर सुलभ अधिकारीका दाजु सुवासको जन्मदिनको अवसरमा दुई क्लबले कार्यक्रम आयोजना गरेका हुन् ।
लायन्स क्लब अफ चितवनका अध्यक्ष दीपक ढकालको अध्यक्षता तथा लायन्स डिस्ट्रिक्ट ३२५ बी २ का द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर राम प्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मीसमेत रहेका सुवास अधिकारीले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक कर्ममा जोडिन पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै जन्मदिन रहेका दीपक ढकालले आफूलाई समाजसेवाका लागि लायन्स क्लबले नै प्रेरणा दिएको भन्दै कृतज्ञता प्रकट गरे ।
प्रमुख अतिथि भट्टले सामाजिक भावना र यसको जगमा गरिने विभिन्न कर्महरुबाट नै समाजमा लायन्स सदस्यहरुको छुट्टै पहिचान भएको बताए । कार्यक्रममा ४० जनाभन्दा बढी लायन्सकर्मी तथा सामाजिक अगुवाहरुको सहभागिता थियो । कार्यक्रमा आश्रम सञ्चालक मञ्जु खाँडलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।





