विप्लव काफ्ले
भरतपुर, १६ मंसिर
भरतपुर–११, भोजाडस्थित प्रगतिपथमा ‘भगवान’ जन्मिरहेका छन् । अपाङ्ग जागरण अभियानको अगुवाइमा सञ्चालन आएको मूर्तिकला तालिम भवन ‘देवीदेवताको घर’ बनेको छ । ३ महिना लगाएर करिब १५ फिट अग्लो गणेश मूर्ति बनेको छ । गणेशको बहान ‘छुचुन्द्रो’ माथि टेकेको, हातमा कमल फुल लिएको आकर्षक मूर्ति बनाउन अपांगता भएकाहरु दिनरात खटिएका छन् ।

रोजगारीका सिलसिलामा मलेसिया पुगेका ३९ वर्षका मीनबहादुर विक भ¥याङबाट लडेर घाइते भए । कमाउन गएका उनी सामान्य हिडडुलसमेत गर्न नसक्ने बनेर फर्किए । विदेसिएको ४ वर्षपछि उनको जीवनले नयाँ मोड लियो । करिब ३ वर्षको उपचारपछि उनी ‘वाकर’ को सहायताले हिँड्न थाले । भरतपुर–२५, शुक्रनगरका मीनबहादुर आयआर्जनको बाटो खोजिरहेका थिए । चैतबाट अभियानले चलाएको ३ महिने मूर्तिकला तालिम लिए । अहिले उनी फाइबारबाट मूर्ति बनाउन सीपालु बनेका छन् । “सीप सिकेको छु, दिनभर मूर्ति बनाउन व्यस्त हुन्छु”, उनी भन्छन्, “आयआर्जन गर्न सजिलो बनेको छ ।” आल्मुनियम उत्पादन गर्ने फ्याक्ट्रीमा काम गरेका उनी अब मूर्ति बनाउन व्यस्त बनेका छन् । “विदेशमा मुस्किलले १० हजार बचत हुन्थ्यो, पछि शरिरमा ठुलो चोट लागेपछि नेपाल आएँ”, उनी सम्झन्छन्, “मूर्ति बनाउन गारो भएपनि हिम्मत हारेको छैन ।” उनको घरमा श्रीमति, छोरी, आमाबुबा छन् ।
मूर्तिकला तालिम भवनमा फाइबारका बुद्ध, वैज्ञानिक अल्वर्ट आइन्सटाइन, न्यूटन, देवीदेवताका मूर्ति, गमला, मुढा बनेका छन् । माटोबाट मूर्तिको पहिलो आकार (मास्टर मोडलिङ) बनाएपछि त्यसबाट मूर्तिको उल्टो आकारको ‘डाइ’ (फर्मा) बनाइन्छ । त्यही फर्मामा केमिकल मिसाइएको फाइबर राखेर मूर्ति बनाइन्छ । तालिम केन्द्रमा मूर्तिको पहिलो आकार दिने काम मूर्तिकार नेवलले गर्छन् । उनी भारत, चीनमा करिव २७ वर्ष मूर्ति बनाउने काममा सक्रिय थिए । नेवलले अपांगता भएकालाई मूर्ति बनाउन सिकाइरहेका छन् । इच्छाकामना–६, चण्डिभञ्ज्याङका २४ वर्षीय सविन गुरुङ मूर्तिकारलाई सघाउँदै मूर्ति बनाउन सिक्दैछन् । उनको ढाड असाधारण छ । शरीर विकास असमान्य छ । “मूर्ति बनाउने सीप सिकिरहेको छु”, उनी भन्छन्, “सीप जानेपछि कमाइ राम्रै होला जस्तो लाग्छ ।”
खैरहनी–९ का ३२ वर्षीय रञ्जितजंग तामाङ बोल्न, सुन्न सक्दैनन् । उनको दाहिने हातको माझीऔँला नै छैन । तर, उनी सीपलाई मूर्तिमा उतार्न व्यस्त छन् । “सीप सिकेर रञ्जित निकै उत्साहित देखिन्छन्”, उनका दाई सञ्जीवजंग भन्छन्, “मूर्तिकलाले उसमा खुशी फर्किएको छ ।” रञ्जीतमा सानैदेखि अपाङ्गता थियो । २०६० सालतिर सांकेतिक भाषा पढ्न खुरखुरे जाने क्रममा युद्धको दृश्य देखिएपछि उनी घर बाहिरनै छाडे, पढ्न जानै मानेनन् । भाइले सीप सिकेको उनका दाइ खुसी छन् ।
अपाङ्ग जागरण अभियान चितवनका सल्लाहकार राजु पौडेल तालिम केन्द्रले अपाङ्गता भएकालाई हौसला दिएको बताउँछन् । “आवासीय सुविधासहित मूर्ति बनाउन सिकाएका छौँ”, उनी भन्छन्, “तालिम अवधि सकेकालाई दक्षता हेरेर पारिश्रमिक पनि दिएका छौँ ।” उनका अनुसार तालिम केन्द्रमा ७ जना कार्यरत छन् । जसमध्ये ५ जना अपांगता भएका छन् । “आत्मबल बढाउने र आयमुलक काममा सहभागि गराउने अभियान हो”, उनी भन्छन्, “भविष्यमा कलासम्बन्धी स्कूल चलाउने लक्ष्य छ ।”
सुरुआती चरणमा भएकाले मूर्तिको अर्डर धेरै आएको छैन । तर, केही ठूला मूर्तिहरुको अर्डर हुन थालेको छ । जलदेवी सामुदायिक वनमा पृथ्वीमाथि बसेको चीलको आकर्षक मूर्ति लगिएको छ । कुँवर समाजले लगेको बलभद्रको अर्धकदको मूर्तिको स्वरुप यही बनेको हो । गणेशधाममा राख्न बनाइएको गणेशको विशाल मूर्तिको काम अन्तिम चरणमा पुगेको छ ।
संस्थाले २ कट्टठा जग्गा १० वर्षका लागि भाडामा लिएर तालिम केन्द्र चलाएको हो । भारतका केही अनुभवी मूर्तिकारलाई प्रशिक्षकका रुपमा ल्याउने तयारी समेत गरिएको छ । यहाँ फाइबारको मुढा, फाइबरको शौचालय कोठा समेत बनिरहेका छन् । “सार्न मिल्ने शौचालय पनि बनाउन लागेका छौँ”, पौडेलले भने, “बजार क्षेत्र, मेला महोत्सवमा बढी उपयोगी हुनेछ ।”
दिवस मनाइँदै
२८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस चितवनमा विविध कार्यक्रम गरी मनाइँदै छ । अपाङ्ग जागरण अभियान चितवनले जिसस अगाडि अपाङ्गता भएकाहरुलाई ह्वीलचियर वितरण, वातावरणमैत्री झोला बनाउने तालिमको उद्घाटन कार्यक्रम गरेको छ । अपाङ्गता उत्थान समन्वय समिति चितवनले कवर्डहल पछाडीको चौरमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । यस्तै अपाङ्गता क्षेत्रमा क्रियाशील संघसंस्थाले संयुक्तरुपमा चौबिसकोठीबाट ¥याली निकाल्दैछन् ।





