लेखराम सापकोटा
सौराहा, ७ मंसिर
नेपाली साहित्यमा कथाको स्थान उच्च स्थानमा रहेकोे छ । कथा लेखन र पाठकको रोजाइले पनि कथालाई यो स्थान दिएको हो । शनिबार सौराहामा आयोजित कार्यक्रममा कथाकार महेश पौड्यालले समकालीन नेपाली कथाका बारेमा मन्तव्य राखे । उनले नेपाली साहित्यका अब्बल कथाकार र तिनका कृतिको चर्चा गर्दै विश्व साहित्यमा पनि कथाको स्थान सबैभन्दा उच्च रहेको बताए ।
कविडाँडा साहित्य समाजको १७ औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा ‘समकालीन नेपाली कथाः परम्पराको भार कि प्रयोगवादको सिकार’ शीर्षकमा पनि बहस चलाइएको थियो । बहस कार्यक्रममा नारायण ढकाल, नयनराज पाण्डे, जलेश्वरी श्रेष्ठ र भागिरथी श्रेष्ठसँग अश्विनी कोइरालाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कथामा देखाइने पात्र चरित्रका बारेमा चर्चा गरिएको थियो भने नेपाली लेखकले कथा लेखनका क्रममा प्रयोगमा ल्याउने धारको बारेमा पनि बहस भएको थियो । समाजले नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरेको छ ।
जसअन्तर्गत कविडाँडा साहित्य सम्मान तथा देव–खिना स्मृति पुरस्कार–२०७६ बाट कवि इन्द्र रेग्मीलाई सम्मान गरेको छ । रेग्मीले सम्मानपत्रसहित ११ हजार १६० नगद प्राप्त गरे । कविडाँडा अविनाशी कृति पुरस्कार–२०७५ बाट ‘मैदारो’ उपन्यासका लागि आख्यानकार भूपिनलाई सम्मान गरेको छ । भूपिनले सम्मानपत्रसहित १० हजार १६० नगद प्राप्त गरे । कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार–२०७५ बाट ‘मरीचिका’ कथा संग्रहका लागि महेश थापा सम्मानित भए । उनले सम्मानपत्र सहित २५ हजार १६० नगद प्राप्त गरे ।

त्यस्तै कविडाँडा साहित्य सम्मान–२०७६ बाट वरिष्ठ स्रस्टाहरू भागिरथी श्रेष्ठ, उषा शेरचन र नारायण ढकाल सम्मानित भए । सम्मानित सबैलाई प्रमुख अतिथि माया ठकुरी, कविडाँडाका अध्यक्ष एलबी क्षेत्री र मीना लामिछाने, ट्रष्टकी प्रमुख मीना लामिछानेले सम्मान गरे ।
त्यस्तै सोही कार्यक्रममा समाजले आयोजना गरेको कविडाँडा राष्ट्रिय कथा प्रतियोगिताको नतिजा पनि सार्वजनिक गरियो । कथा प्रतियोगितामा पुण्यप्रसाद खरेलको ‘घोडा’ शीर्षकको कथाले पहिलो स्थान हासिल गरेको छ । त्यसैगरी मुना चौधरीको ‘समध’ कथाले दोस्रो स्थान हासिल ग¥यो भने तेस्रो स्थानमा इन्द्रबहादुर भण्डारीको ‘इन्द्रेणी’, जमिल खाँको ‘मिसन प्रस्ताव’ र मन्दिरा मधुश्रीको ‘कुमारी कोख’ गरी दुइटा कथा छानिए ।

त्यसैगरी कथा प्रतियोगिताको उत्कृष्ट दसमा गायत्रीकुमार चापागाईंको ‘आरोहणको कथा, टंकबहादुर आले मगरको ‘फेसबुके बाजे’, चरित्रा शाह भण्डारीको ‘सम्बन्ध’, राजेश विद्रोहीको ‘भोज’, सिर्जन अविरलको ‘मोड’, हिरा लामाको ‘बाजे’ र हरिप्रसाद अधिकारीको ‘चारमन दाउरा’ शीर्षकका कथा छानिएका थिए । प्रतियोगितामा पहिलो हुने कथालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार तथा उत्कृष्ट दशमा परेकालाई २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपाली साहित्यको संरक्षण र विकासका लागि मोफसलमा बसेर नियमितरूपमा काम गर्दै आएको कविडाँडाले यो वर्ष आख्यान विधालाई छानेर कार्यक्रम गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले बताए ।





