विप्लव काफ्ले
भरतपुर, ३ मंसिर
माडीका ४ वटै मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिले ‘मेसजाली’ लाई प्राथमिकतामा पारेका छन् । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको माडीबासीले निकुञ्जबाट निस्कने जंगली जनावरबाट वर्षेनी सास्ती खेप्दै आइरहेका छन् ।
बढी जोखिमयुक्त क्षेत्रमा सूचिकृत मध्यवर्ती क्षेत्रका १४ उपभोक्ता समिति मध्ये माडीका ४ वटै पर्छन् । यो वर्ष ५० लाख बजेट निकुञ्जले ‘क’ श्रेणीमा रहेका यी उपभोक्ता समितिलाई बजेट दिने तयारी गरेको छ । पाँचपाण्डव उपभोक्ता समितिअन्र्तगत करिब १५ किमि भाग निकुञ्जसँग जोडिएको छ । बनकट्टा, पाण्डवनगर, सेरुवा बढी जोखिमका क्षेत्र हुन् । “यसपाली ३ किमिमा मेसजाली योजना छ”, पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले भने, “जंगली जनावरलाई बस्ती छिर्न नदिन मेसजाली उपयुक्त विकल्प हो ।” बनकट्टा–पाण्डवनगर–द्रौपतिनगर क्षेत्रमा मेसजाली राखिने छ । उनका अनुसार सोलार फेन्स जम्मा ३ किमि क्षेत्रमा मात्रै छ । “क्षेत्र ठूलो भएकाले जनावर छिर्ने मुख्य नाकाहरुमै मेसजाली लगाउन सकिएको छैन”, उनी भन्छन्, “लगाइएका मेसजाली, सोलारफेन्स पनि बाढीले क्षती पु¥याउँछ ।” यो क्षेत्रमा गैडाले बढी क्षति पु¥याउँछ । उनले गत वर्ष निकुञ्जको ५० लाख, मन्त्रालयको ५० लाख रुपैयाँ बजेटमा मानव र वन्यजन्तु न्यूनीकरणका काम भएका थिए । यो वर्ष मन्त्रालयमा २ करोड बढीका योजना प्रस्ताव गरिएको छ ।

बघौडा उपभोक्ता समिति अन्र्तगतका क्षेत्रमध्ये पौवारी, धोवाहा, सीमरा बढी प्रभावित क्षेत्र हो । ९ किमि क्षेत्र निकुञ्जको मुखमा पर्छ । “हालसम्म करिव ३ किमि मात्रै मेसजाली लगाइएको छ”, बघौडा उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतोले भने, “यो वर्ष सीमरा र धोवाहा खण्डमा मेसजाली राखिनेछ ।” उनका अनुसार सोलार फेन्स हात्ती नियन्त्रणमा प्रभावकारी नभएपछि मेसजाली राख्ने योजनालाई निरन्तरता दिन थालिएको छ । यो वर्ष १० लाख रुपैयाँ बजेटबाट मेसजाली राखिनेछ । यो क्षेत्रका खोलामा हाल करिव ६ किमि मात्रै ड्याम छ । “नदीमा व्यवस्थित तटबन्धन भएमा जनावर सोझै वस्ती छिर्नबाट रोकिने थिए”, उनी भन्छन्, “थोरै बजेटले धेरै काम गर्न गाह्रो छ ।” भ्यागुते, रतनी खोलाका केही भागमा सेलार फेन्स छ । “सोलार फेन्सलाई हात्तीले रुख ढलाएर फालिदिने समस्या छ, कहीले बाढीलेनै बगाउँछ”, उनी भन्छन्, “आरसीसी ढलानयुक्त मेसजालीनै राम्रो देखिएको छ ।”
रेवा उपभोक्ता समिति अन्र्तगतका क्षेत्रमध्ये हरिनगर, गोपालनगर, गौरीनगर बढी प्रभावित क्षेत्र हुन् । समिति अन्र्तगतका क्षेत्रमध्ये करिव ६ किमि निकुञ्जको मुखमा पर्छ । यहाँ बढी हात्तील सताउँछ । रिमाल, पतरे, घोल क्षेत्रबाट हात्ती वस्ती छिर्छन् । “विगतको काँडेतार असफल भए, अब अग्लो ड्याम बनाउनुपर्ने देखिन्छ”, रेवा उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्कीले भने, “यो वर्ष २८ लाखबाट पिसीसी ढलान सहितको मेसजाली राख्दैछौँ ।” उनका अनुसार अयोध्यापुरी र दिवानगरको साँध क्षेत्रबाट मेसजाली राख्न सुरु गरिने बताए । “बस्ती सुरक्षा गर्न अग्ला ड्याम र मेसजाली अतिखाँचो छ”, उनी भन्छन्, “निकुञ्जले दिने बजेटबाट मात्रै काम गर्न कठिन छ ।” यो क्षेत्रमा करिव ५ किमि सोलार फेन्स राखिसकिएको छ ।
अयोध्यापुरी उपभोक्ता समिति अन्र्तगतका गोविन्दवस्ती, प्याउली, घाँघर, कृष्णनगर, शिवद्वार बढी प्रभावित क्षेत्र हुन् । घाँघरm परुई, टुनामुना, बगईबाट हात्ती, गैडा बस्ती पस्छन् । “यो वर्ष करिव ४ किमि मेसजाली लगाउने योजना छ”, अयोध्यापुरी उपभोक्ता समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले भने, “कृष्णनगरदेखि बगईसम्म ६ फिट अग्लो मेसजाली राखिनेछ ।” जमिनमुनीबाटै ढलान गरेर ल्याइएका पिल्लरमा मेसजाली लगाउन चारै उपभोक्ता समितिले सक्रियता देखाएका छन् । “बगई–बनकट्टा करिडोरमा उच्च ड्याम बनेमा धेरै सहज हुनेथियो”, उनी भन्छन्, “सामान्य बजेटले बस्ती सुरक्षाका काम नगण्य देखिएका छन् ।”
उपभोक्ता समितिलाई १४ करोड
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेले मध्यवर्ती क्षेत्रका २२ उपभोक्ता समितिलाई १४ करोड रुपैयाँ बराबरका योजना प्रस्ताव गरिएको बताए । उनका अनुसार अर्थमन्त्रालयबाट बजेट स्वीकृत हुन बाँकी छ । “गत वर्ष करिब ८० प्रतिशत बजेट तारबारमै केन्द्रीत थियो”, उनले भने, “यो वर्षपनि यही हाराहारीमा लगानी हुँदैछ ।” उनले जमिनुमिनबाटै ढलान गरेर निकालिएको पर्खालमा राखिने मेसजाली दीगो देखिएकाले सोलार फेन्सका योजना कम परेका छन् । “धेरै ठाउँमा आरसीसी वाल सहितको मेसजालीको माग छ, तर बजेट कम छ”, उनी भन्छन्, “अधिकांस उपभोक्ता समितिले मेसजालीकै माग गरेका छन् ।” निकुञ्जले राजश्वबाट प्राप्त रकमबाट उपभोक्ता समितिहरुलाई १४ वटा ‘क’ श्रेणीका लागि ५० लाख, ‘ख’ श्रेणीका ७ वटालाई ४५ लाख, एउटा ‘ग’ श्रेणीकोलाई ३० लाख रुपैयाँ बजेट दिने योजना बनाएको छ । मध्यवर्ती क्षेत्रले पाएको कुल बजेटको ३०–३० प्रतिशत सामुदायिक विकास, संरक्षण कार्यक्रममा, आयआर्जन तथा सीप विकासमा २० प्रतिशत, संरक्षण शिक्षा र प्रशासनिक कार्यका लागि १०–१० प्रतिशत लगानी गर्नेछन् ।
उपभोक्ता समितिलाई चुनावी चटारो
मध्यवर्ती क्षेत्रका २२ वटै उपभोक्ता समितिलाई चुनावी चटारो लागेको छ । ३ गतेबाट ५ वर्षे कार्यकाल सकिएको छ । मंगलबार चितवन राष्ट्रिय निकुञ्जले बिदाई कार्यक्रम समेत राखेको थियो । स्थानीयलाई जंगली जनावरबाट हुने क्षतीपूर्ति लिन सहजीकरण गर्दै आइरहेका उपभोक्ता समितिले अब नयाँ नेतृत्व पाउँदैछन् ।
पीडितलाई १०–१० लाख दिने निर्णय
चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिका पदाधिकारी सहितको बसेको बैठकले शनिबार निकुञ्जको अमुवा पोष्ट नजिकै ज्यान गुमाएका माडी–१ बरुवाका बाबु छोरा बाबुराम पौडेल र राजुका परिवारलाई १०–१० लाख दिने निर्णय गरेको छ । पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले विशेष प्रस्तावका रुपमा पीडित परिवारलाई १०–१० लाख दिने लिखित निर्णय भएको जानकारी दिए । निकुञ्ज क्षेत्रमा जंगली जनावरको आक्रमणबाट हानी नोक्सानी भएमा क्षतिपूर्ति नदिने कारण देखाउँदै उम्कन खोजेको निकुञ्ज प्रशासन क्षतिपूर्ति दिन सहमत भएको छ । “सुविधाप्राप्त बाटोमै ज्यान गुमाएकाले क्षतीपूर्ति दिनुपर्ने आवाज उठायौँ”, उनले भने, “छिटै पीडित परिवारले राहत रकम पाउनेछन् ।”





