जुर्मुराउँदै नारायणी कला मन्दिर

सांस्कृतिक गतिविधिहरु भइरहने चितवनको नारायणी कला मन्दिरको व्यस्तता अहिले अझ बढेको छ । विशेष गरिकन यहाँ सांगीतिक, साहित्यिक कार्यक्रम, सभा सम्मेलनका साथै विभिन्न तालिमका कक्षाहरु सञ्चालन भइरहन्छन् ।
अन्य गतिविधिसँगै कला मन्दिरमा अहिले ‘चरनदास चोर’ नाटकको तयारी चलिरहेको छ । मंसिर ५ गते बिहीबार प्रदर्शन गरिने नाटकको तयारीमा कलाकारहरु व्यस्त छन् । निर्देशक विकास जोशी र उनको समूह तथा नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधान तथा पदाधिकारीहरुलाई तयारीमा भ्याइनभ्याइ छ । काठमाडौंको मण्डला थिएटरसँगको सहकार्यमा नारायणी कला मन्दिरले चर्चित लोक नाटक ‘चरनदास चोर’ प्रदर्शन गर्न लागेको हो ।


‘चरनदास चोर’ भारत बेलायतको उपनिवेश रहेका बखत विजयदान देथाले लेखेको नाटकलाई भारतीय लेखक हबीव तनवीरले नाटकीय रुपान्तरण गरेपछि आशान्त शर्माले नेपालीमा अनुवाद गरेको नाटक हो । मण्डला थिएटरसँगको सहकार्यमा उक्त नाटकलाई लोक शैलीमा प्रस्तुत गरिंदैछ । गण्डक भाषा शैलीमा उक्त नाटकलाई प्रस्तुत गर्न लागेको निर्देशक जोशीले बताए । चितवनकै १८ जना कलाकारहरुले अभिनय गर्ने नाटकलाई चुस्त बनाउन जोशीलाई अष्ट्रियन नागरिक माइकलले पनि सघाइरहेका छन् । साथै अर्जुन न्यौपाने र अञ्जान ढुंगानाले सहायक निर्देशकका रुपमा सघाइरहेका छन् । पुष्प श्रेष्ठले नृत्यमा र साजन जोशीले गीतमा सघाएका छन् । मण्डला थिएटरबाट विजय बराल र सोमनाथ खनालले नाटकलाई प्रभावकारी बनाउन सहयोग गरिरहेका छन् ।

नाटकको तयारी थाल्नुअघि कला मन्दिरले नाटकसम्बन्धी कार्यशाला गरेको थियो । यस नाटकमा अभिनयगर्ने प्रायः त्यही कार्यशालामा सहभागि भएकाहरु छन् । कार्यशालामा सहभागि भएपश्चात नाटकको तयारीमा व्यस्त भरतपुर वेलचोकका सुमन गहतराज नाटकको क्षेत्रमा केहीगर्न सकिन्छ कि भन्ने विश्वास लाग्न थालेको बताउँछन् । नटककी एक पात्र भरतपुर वेलटाँडीकी शलिना वाग्ले विगतमा पनि नाटकहरुमा अभिनय गरेको भएपनि यसपटक धेरै सिकेर काम गर्न पाएका कारण राम्रो हुने विश्वास गर्छिन् ।
नारायणी कला मन्दिरले धेरै कलाकारहरु जन्मायो । ती मध्ये कतिपयले राष्ट्रिय कलाकारका रुपमा ख्याति कमाइरहेका छन् । तर नाटकको क्षेत्रमा चितवन अझै पछाडी नै छ । केही वर्ष अघि ‘सकस’ नाटक प्रदर्शन गरिएपछि कला मन्दिर आफैंले कुनै पनि नाटक निर्माण गरेन । कर्मी चौतारी नाट्य समूहले ‘श्रीमान बिरबहादुर’ र ‘बहुलाकाजीको सपना’ नाटक निर्माण गरेर कला मन्दिरमै प्रस्तुत गरेको भएपनि आफैंले नाटक निर्माण नगरेको धेरै भयो । “प्रतिभावान कलाकारहरु हुँदा हुँदै पनि विभिन्न कारणले निरन्तर नाटक निर्माण÷प्रदर्शन गर्न सकिएको छैन”, कला मन्दिरका अध्यक्ष प्रधान भन्छन्, “थप मेहनत गर्न सके नियमत नाटक प्रदर्शनको वातावरण बनाउन सकिन्छ कि भनेर लागेका छौं ।” उनका अनुसार कला मन्दिरको हालको भवनलाई व्यवस्थित बनाउने तयारी पनि भइरहेको छ । हाल रहेको पाँच सय सीट क्षमताको भवनलाई एसीयूक्त बनाउने र कुर्सीहरुलाई व्यवस्थित गरेर गतिविधि बढाउँदै लैजाने लक्ष्य छ ।
उनले चितवनमा निर्माण भएको नाटकलाई काठमाडौं, पोखरालगायतका स्थानमा र अन्य क्षेत्रमा निर्माण भएका नाटकलाई चितवनमा प्रदर्शन गर्ने तयारी भइरहेको बताए । “यसैका लागि हामीले नाटक निर्माण÷प्रदर्शनका लागि देशकै चर्चित मण्डला थिएटरसँग सहकार्य गरेका छौं”, उनले थपे । चितवनमा बिहीबार प्रदर्शन गरिएपछि उक्त नाटक मंसिर २० र २१ गते काठमाडौंस्थित मण्डला थिएटरमा प्रस्तुत गरिनेछ । पुसको अन्तिम सातामा पुनः चितवनमा प्रदर्शन गरिनेछ ।
नाटकका निर्देशक विकास जोशीले कलाकारिताको दृष्टिले चितवन धेरै संभावना भएको क्षेत्र भएपनि दर्शकसँगको दुरी बढ्दै गएकाले थप गतिविधि आवश्यक रहेको बताए । मण्डला थिएटरमार्फत थुप्रै नाटकमा अभिनय र करिब आधा दर्जन नाटकको निर्देशन गरिसकेका जोशी चितवनकै स्थानीय बासिन्दा हुन् । “जिल्लामा नाटकलाई प्रोत्साहन गर्नकै लागि कला मन्दिरसँग सहकार्य गरेका छौं”, उनले भने, “यहाँको नाटकलाई व्यवसायिक बनाउँदै राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन सकिन्छ भन्ने लाग्छ ।” उनले निर्देशन गरेको ‘सकेको तिरौंला नत्र फिरीमा’ नाटक मण्डला थिएटरमा एक महिना प्रदर्शन भयो । आरोप, मिरा–मिराज, प्रणलगायतका नाटक उनले निर्देशन गरेका छन् । नेपाली चलचित्र, टेलीचलचित्र तथा म्यूजिक भिडियोमा समेत काम गर्दै आएका जोशी आफ्नो ठाउँमा आफैंले निर्देशन गरेको नाटक प्रदर्शनको क्रममा रहँदा निकै उत्साहित भएको सुनाए ।


उनका अनुसार ‘चरनदास चोर’ नाटकले बेरोजगारीको समस्या, मानवीय प्रवृत्ती, कुलतको समस्या तथा समसामयिक विषयबस्तुलाई बोकेको छ । १ घण्टा २० मिनेटको नाटकका लागि कलाकार आफैंले सृजना गरेको मौलिक लयका गीतहरुलाई स्थान दिइने उनले बताए ।
नाटक प्रदर्शन गर्दासम्म करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान नारायणी कला मन्दिरको छ । नाटकलाई चितवन तथा अन्य स्थानमा प्रदर्शन गरेर आम्दानी गर्ने लक्ष्य रहेको अध्यक्ष प्रधानले बताए । साथै नारायणी कला मन्दिरले पोखराको चर्चित हिमाली सांस्कृतिक परिवारसँगको सहकार्यमा संस्कृति आदान–प्रदान गर्दैछ । मंसिर ७ गते शनिबार पोखराको समूहले कला मन्दिरमा प्रस्तुति दिने र केही दिनमा चितवनको समूहले पोखरा पुगेर यहाँको संस्कृति प्रदर्शन गर्ने तयारी रहेको प्रधानले बताए ।
कला मन्दिरले मंसिर २३ गते आफ्नो नियमित कार्यक्रम नारायण गोपाल साँझ गर्दैछ । नियमितरुपमा इन्द्रेणी साँझ, जुनेली रात, शुभकामना साँझ, रोपाईंजात्रा, होली विशेष कार्यक्रमका अलावा गायन, वाद्यवादन, नृत्य, जुम्बा, उद्घोषणलगायतका तालिमहरु कलामन्दिरले सञ्चालन गर्दै आएको नारायणी कला मन्दिरका उपाध्यक्ष उद्धव जोशीले बताए । आगामि वैशाख देखि असार सम्म नाटक निर्माण, तालिमलगायतका विभिन्न गतिविधिगर्ने तयारी पनि भइरहेको उनले बताए ।
प्रस्तुति–राजेश घिमिरे

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट