कथाकार र अनुवादकका रूपमा आफ्नो छवि बनाउनु भएका एकदेव अधिकारीलाई कात्तिक महिनाभरका शनिबार कायाकैरनमा प्रस्तुत गरिरहँदा उहाँको कथाकारिताका बारेमा खोतल्ने कोसिस गर्यौं । उहाँ राम्रो अनुवादक पनि हो । उहाँको अनुवाद कर्मका सन्दर्भमा रहेर हामीले केहि कुराकानी गरेका छौं। यो कुराकानी अनुवादमा चासो राख्ने आम पाठक र चिन्तकलाई उपयोगी हुने ठहर गरेका छौं । सोही कुराकानी आजको शृङ्खलामा समेटेका छौं ।

अनुवादतिर कसरी आकर्षित हुनुभयो ?
विशेषतः मैले धेरै समय खर्चेको विधा लघुकथा हो । लघुकथाहरू पढ्दै जाने क्रममा आफुले जानेका भाषाहरूमा लेखिएका लघुकथाहरू पढ्दै गएँ । फेसबुकमा एउटा समूह छ लघुकथा कुनो । त्यस समूहमा आएका लघुकथाहरू पढ्नुका साथै विश्वमा विभिन्न समयमा लेखिएका विभिन्न लघुकथाहरूको बारेमा आफुले जानेका कुरा त्यस समूहका पाठकहरूले पनि पढ्न सकुन भन्ने उद्देश्यका साथ लघुकथाहरू अनुवाद गर्दै त्यहि समूहमा पोस्ट गर्दै गएँ । यसो गर्दै जाँदा विश्व लघुकथाका बारेमा बुझ्न पनि पाइने, आफैँ लघुकथा लेख्न पनि सिक्न सकिने भएकाले त्यसमा रस बस्दै गयो । यसरी अनुवाद गर्दै जाने क्रममा एउटा संग्रह नै निकाल्न पुग्ने लघुकथाहरू अनुवाद भइसकेका रहेछन् । तिनै लघुकथाहरू समेटेर पहिलो अनुवाद कृति ‘स्वको खोजी’ प्रकासित भयो । यसरी म अनुवादका माध्यमबाट नै पहिलो पटक साहित्यिक क्षेत्रमा प्रवेश गरेँ र हालसम्म पनि यो क्रम जारी छ ।
नेपालमा अनुवादको अवस्था कस्तो छ ?
नेपालमा अनुवादको अवस्था साँच्चै नै भन्नु पर्दा दयनीय नै छ । अनुवादलाई नै मूल लेखन बनाउने सर्जक–अनुवादकहरू छैनन् भन्दा नै हुन्छ । साहित्यमा अनुवादको अवस्थाको बारेमा कुरा गर्नु पर्दा आन्तरिक अनुवाद र बाह्य अनुवाद दुवैको अवस्था हेर्नु पर्छ । आन्तरिक अनुवाद भन्नाले देश भित्र प्रचलित विभिन्न मातृभाषाहरू बीचको अनुवाद हो । यो क्षेत्रमा त्यति सकारात्मक काम भइरहेको मैले चाहिँ पाएको छैन । बाह्य अनुवाद भन्नाले विदेशी भाषाका कृतिहरू नेपाली भाषामा अनुवाद हुनु र नेपाली भाषाका कृतिहरू विश्व भाषामा अनुवाद हुनु हो । यसमा भने आन्तरिक अनुवाद भन्दा केही सन्तोषजनक अवस्था भए तापनि यथेष्ट रूपमा हुन भने सकेको छैन । कृतिहरू फाट्टफुट्टमात्र निस्किरहेको पाउँछु । निस्केका पुस्तकहरूमा पनि स्तरीयताको अभाव देखिन्छ । केही बहु–चर्चित पुस्तकहरूको नेपाली अनुवाद प्रयास भएको भएता पनि ती किताबहरूको स्तरीयताको बारेमा धेरै नै सवाल उठ्ने गरेको छ । केही स्तरीय नेपाली साहित्यिक कृतिहरू अङ्ग्रेजी भाषामा अनुवाद पनि भएका छन् तर यो स्थिति पनि सन्तोषजनक भने छैन । नेपाली साहित्यले विश्व बजार पाउनका लागि स्तरीय साहित्यहरू स्तरीय रूपमा अनुवाद भएर विश्व भरि वितरण हुनु जरुरी छ । जुन अहिलेको अवस्थाबाट सन्तोष मान्न सकिने अवस्था भने छैन ।
आम पाठकले नेपालमा राम्रोसँग अनुवाद भएका कृति, सामग्री पढ्न नपाएको गुनासो गर्छन् नि ?
यो गुनासो स्वाभाविक नै हो । यसका पछाडि विविध कारणहरू होलान् । एक त नेपालमा स्तरीय पुस्तकहरू स्तरीय तरिकाले अनुवाद हुन सकिरहेको छैन त्यसैले यस्तो गुनासो त आउँछ नै ।
तपाईंले के कस्ता सामग्रीहरु अहिलेसम्म अनुवाद गर्नुभएको छ ?
त्यसमा धेरै जसो त लघुकथाहरू नै छन् । नेपाली भाषामा लघुकथाहरूको सङ्ग्रह ‘स्वको खोजी’ बाहेक हिन्दीभाषाबाट आलोक कुमार सातपुतेको अपने–अपने तालिबान शिर्षकको लघुकथा सङ्रग्रहको पूर्ण पाठ, शय भन्दा बढी फुटकर लघुकथाहरू साथै केही कविताहरू, कथाहरू अनुवाद गरेको छु । अङ्ग्रेजी मा फुटकर लघुकथाहरूका साथमा २०३५ सालमा बिराटनगरबाट प्रकासित लघुकथाहरूको संकलित सङ्रग्रह प्रयोग – केही रेच्की गल्पहरूको अनुवाद गरेर अमेजन किन्डल मार्फत प्रकासित गरेको छु । केही कथाहरू अनुवाद गर्दै छु । र हिन्दी भाषामा भारतका विभिन्न पत्रिकाहरूमा आफ्ना तथा केही साथीहरूका लघुकथाहरू अनुवाद गरेर पठाउने गरेको छु । भारतको पटियालाबाट प्रकासित हुने लघुकथाको अर्धवार्षिक महा विशेषांक लघुकथा कलशमा नेपालका लघुकथाहरू संयोजन गरेर हिन्दीमा अनुवाद गरेर पछिल्ला दुई अंकहरूमा प्रकासित गराएको छु । कम्प्युटर डेस्कटपमा थुप्रै लघुकथा तथा कथाहरूका अनुवादहरू अन्तिम रूप पाउन पर्खिरहेका छन् ।
हिन्दी भाषी पत्रपत्रिकामा तपाईंका सामग्रीहरु नियमितरूपमा आइरहेका पाइन्छन् । तर नेपालमै तपाईं कम चर्चामा रहनुहुन्छ । आफ्नै भाषामा सिर्जनशील रहन किन कम रुचि भएको होला ?
नेपाली भाषामा पनि सिर्जनाहरू गरिरहेकै छु । फेसबुक तथा अनलाइन संस्करणहरूमा मेरा लघुकथाहरू पढ्न सकिन्छ । बि.एन. प्रकाशनबाट प्रकासित मेरो पछिल्लो कृति भिखारी भदौ १८ गते काठमाडौँमा विमोचन भएको हो । नेपाली पत्रिकाहरूमा भन्दा फेसबुकको लघुकथा कुनो र अनलाइन पत्रिका मझेरीमा मेरा रचनाहरू प्रकासित छन् । अनुवादमा बढी लागेको देखिनुमा चाहिँ म हिन्दी पत्रिकाहरूमा साथीहरूका रचनाहरूलाई पनि अनुवाद गरेर पठाउने गर्छु । केही भारतीय साहित्यकारहरूसँग सम्बन्ध बनेको छ । त्यो सम्बन्धले पनि केही सकारात्मक प्रभाव भने पक्कै पारेको छ ।
पाठकहरूले तपाईंको अनुवादलाई कुन रूपमा लिएका छन् ?
पाठकहरूको प्रतिक्रिया नै मेरो काममा लगनको आधार हो । यदि यो सकारात्मक नभएको भए अहिले यो अवस्था आउने थिएन होला ।
आफुले गरेको अनुवादबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु र जुन विधाको अनुवादमा आफुलाई बढी सन्तुष्ट पाउँछु, त्यही विधामा बढी काम गर्ने प्रेरणा मिल्दो रहेछ । केही कविताहरू पनि अनुवाद गर्ने प्रयास गरेँ तर ती कविताहरुमा आफुले न्याय गर्न सकेजस्तो नलागेकोले त्यतातिर अलिक कम समय दिएको छु ।
नेपाली पाठकले राम्रो अनुवाद पढ्न कसरी सक्लान् ?
त्यसका लागि त राम्रा साहित्यहरूको अनुवाद हुनु आवश्यक छ । अनुवादकहरूका स्तरीय अनुदित कृतिहरू प्रकाशन गृहहरूले पनि प्राथमिकताका साथ छपाउने र छापिएका पुस्तकहरूको वितरण व्यवस्थालाई प्रभावकारी बनाउन सके त्यो पक्कै संभव हुन्छ ।
नेपालमा कस्ता व्यक्तिहरू अनुवाद कर्ममा आएदेखी पाठकले राम्रो सामग्री पाउलान् ?
अनुवाद गर्नु भनेको एउटा भाषामा भएको सामग्रीलाई त्यसको अर्थ, मर्म तथा त्यसमा निहित अनेकानेक विशेषताहरूमा कुनै हानी नपुग्ने गरि त्यसलाई अर्को भाषामा रूपान्तरण गर्नु हो । यसका लागि अनुवादकसँग स्रोत भाषा र लक्षित भाषा दुवैको विशिष्ट ज्ञान हुनु आवश्यक हुन्छ । यदि यस्तो ज्ञान, सीप तथा कला भएका अनुवादकहरू अनुवाद कर्ममा आएदेखि पाठकहरूले राम्रो सामग्री पक्कै पाउने छन् ।
अनुवाद पुस्तक र सामग्रीले नेपाली पाठकलाई हुने फाइदा के हो?
अनुवाद पुस्तक र सामग्रीले पहिलो कुरा त विश्वमा भएका साहित्यिक गतिविधीको बारेमा जानकारी पाउन सहयोग गर्छ । यसका साथै विभिन्न देश तथा परिवेशहरूमा भएको साहित्यिक विकास, संस्कृति आदिको ज्ञान हुन्छ । आफ्नो देशको साहित्यलाई विश्व साहित्यसँग तुलना गरेर आफ्नो साहित्यलाई पनि विश्व साहित्यको प्रवृत्ति अनुसार अगाडि बढाउन मद्दत मिल्छ । दोस्रो कुरा नेपालको साहित्यलाई विश्वमा चिनाउन, विभिन्न भाषभाषीहरू बीच पु¥याउन सहयोग पुग्दछ । अनुवाद बाट नै कुनै पनि देशको साहित्य विश्व बजारमा पुग्न सफल हुन्छ र यसले साहित्यको व्यापकीकरणमा सहयोग पु¥याउँछ ।
नेपाली पुस्तकको अनुवाद अन्य भाषामा संख्यात्मकरूपमा त्यति भएको पाइँदैन । विश्व बजारमा नेपाली कला, साहित्यलाई कसरी लैजान सकिएला ?
विश्व बजारको तुलनामा नेपाली साहित्यको बजार निकै सानो छ । नेपाली साहित्यमा पनि विश्व साहित्यसँग प्रतिष्पर्धा गर्न सक्ने कृतिहरू उत्पादन तथा प्रकाशन भइरहेका छन् । विश्व बजारमा नेपाली साहित्यले आफ्नो प्रभाव छोड्न नेपाली साहित्य अङ्ग्रेजी भाषामा अनुवाद तथा प्रकाशन भएर वितरण हुनु जरुरी छ । आपूmसँग सीप तथा ज्ञान भएका अनुवादक तथा सर्जकहरूले आफ्ना कृतिहरू अनुवाद गरेर अथवा गराएर विश्व बजार सामु पु¥याउनु आवश्यक हुन्छ । यसो गर्न सकिएमा नेपाली साहित्यले पनि विश्व बजारमा आफ्नो प्रभाव छोड्न सफल हुन्छ ।
अङ्ग्रेजी र हिन्दी भाषामा पनि तपाईंको राम्रो दखल छ । यी दुबै भाषामा तपाईं नियमितरूपमा कलम चलाइरहनु भएको छ । नेपाली कला र साहित्यलाई विश्व बजारमा लैजान तपाईंको भूमिका के रहन्छ ?
साहित्य सिर्जना र अनुवाद गर्ने क्रममा आपूmले जानेका भाषाहरूमा कलम चलाउँदै जाने उद्देश्य लिएरै अघि बढिरहेको छु । आफ्नो समय स्रोत र साधनले भ्याएसम्म नेपाली साहित्यलाई आपूmले जानेका भाषामा अनुवाद गर्ने क्रमलाई जारी नै राख्नेछु । यसमा के कति सफल भइनेछ यो त भविष्यले अवश्य नै देखाउला ।





