सन्दर्भ गजलको हो । आजभोलि म गजलप्रिय बन्दैछु । गजलका रस–रहमा पौडिँदै छु र गजलकै सपनामा हराउँदै छु । म मात्र होइन, आजको युवा जमात खेलकुद, हाँसखेल वा मनोरञ्जनतिरभन्दा गजलतिर भुल्न थालेको छ । युवा जमातको मनोरञ्जनस्थल गजल बन्दै गएको छ । हुन पनि के गाउँ, के बेँसी, के नगर, के शहर ? सर्वत्र गजलको चर्चाले गुञ्जायमान छ । यस्तो अवसरमा के म गजलको भँवरो गजलको मधु–रसमा नभुली अड्न सकूँला र ?

देशमा लोकतन्त्र शासन व्यवस्था छ । शासनकै वरिपरि जनताका चाहहरु परिभ्रमित हुँदैछन् । त्यसको धेरथोर असर साहित्यमा नपरिरहला भन्न सकिँदैन । साहित्य समाजको दर्पण भएकोले सिर्जनामा लोकतन्त्र र लोकतन्त्रमा सिर्जनाको बौछारले व्याप्ति पाउँदा उदेक वा आश्चर्य मान्न परोइन । आजभोलि पुस्तक पसलहरुमा अधिकतर गजलका कृतिहरु नै बिक्री–वितरण भइरहेका छन् । त्यसपछि मात्र आख्यान र काव्यहरुमा क्रेताहरुको दृष्टि गइरहेको छ । हरेक एफएम रेडियोहरुले कार्यक्रमको कुनै न कुनै बहानामा गजलसम्बन्धी कार्यक्रम चलाइरहेका हुन्छन् । जति नै गद्यप्रधान पत्रिका होस्, एक दुईवटा गजल नराखी उसको पत्रिका चल्ने अवस्था छैन । चाहे माध्यमिक तहका हुन्, चाहे कलेजस्तरका विद्यार्थी, सबैको रुचि, चासो र जिज्ञासाको विषय गजल नै बनिरहेको वर्तमानको वास्तविकता र यथार्थ हो । यति धेरै लोकप्रिय बन्दै गइरहेको गजलका विषयमा झिनामसिना असहिष्णुताका स्वरुप प्रकट हुनु आश्चर्य पनि होइन । त्यसले गजलमा कुनै असर पर्नेवाला छैन ।
आजको गजल नारायणी नदीको निर्मल जल–प्रवाह झैं कलकल बगिरहेछ र बगिरहनेछ । सरितताका शीतल प्रवाहले तिर्खालुहरुको तिर्खा मेटिरहने छ । जे होस् मलाई हिजो भर्खर चितवनका चर्चित गीतकार, गायक, कथाकार र गजलकार निर्दोष जीवनले ‘प्रिय साथी (२०७६)’ नामको गजल संग्रह थमाउँदै भने–“गुरुदेव ! मेरो प्रिय साथी गजल संग्रहको बारेमा कायाकैरनका लागि केही लेखिदिन प¥यो । प्रिय साथी आज भदौ २८ गते शनिबार सार्वजनिकीकरण हुँदै छ । कृतिको अध्ययन नै नगरी वा अध्ययन गरे पनि विषयवस्तु, समसामयिकता, भाव, शब्दविन्यास र आयामिक स्वरुपले हृदय स्पर्श नगरी कलम चलाउनु वा हुन्छ भनेर स्वीकार्नु मेरो लागि एकमुरी धान थाप्लोमा बोकेर मौलाकालिकाको उकालो चढ्नु जत्तिकै कष्टप्रद बन्दछ ।
मैले ३२ वर्षपर्यन्त निष्काम भावले शिक्षण गरेकोले आज पनि कसैले आएर श्रद्धापूर्वक ‘गुरु’ भन्यो भने म पग्लन्छु र भारी बोकेर मौलाकालिकाको उकालो चढ्न हौसिन्छु । निर्दोष जीवनको मप्रतिको आस्था र विश्वासको धरहरा अग्लिरहोस्, ऊभित्रको रचनात्मक रहर अझै पल्लवित र पुष्पित होस् भन्ने सोचेर हुन्छ म लेखूँला भन्दछु । निर्दोष जीवन मेरो निवासबाट हिँडे । मैले उनको पुस्तकलाई गहिरिएर हेरें । प्रिय साथी निर्दोष जीवन र पदमराज ढकाल ‘आशावादी’ मिलेर संयुक्तरुपमा प्रकाशित कृति रहेछ । निर्दोष जीवनका पञ्चानब्बे र पदमराज ढकाल आशावादीको सन्ताउन्न वटा गरी जम्मा १५२ वटा गजलहरु बटुलेर खाँदिएका रहेछन् । युरेका बूकले संग्रह प्रकाशन गरेको रहेछ । निर्दोष जीवन गायनमा पनि विशेष रुचि राख्ने भएकाले यो गजल संग्रहमा लगभग एक दर्जन जति एल्बममा सजाइएका वा गाइएका गजलहरु संकलित रहेछन् । त्यसरी निर्दोष जीवनले आफंैले आवाज दिएका गजलहरुमध्येबाट जीवनको मार्मिकता र यथार्थतालाई खुलस्त पारिएको गहन अर्थवहन गरेको एउटा गजल प्रस्तुत छ ः
तप्प तप्प आँखाबाट झरिरा’छ जीवन
पलपल आफ्नै काखमा मरिरा’छ जीवन
सुख–शान्ति छैन मलाई दसै नंग्रा खियाए नि
सधैंजसो अभावमै टरिरा’छ जीवन
को आफ्नो को पराई कतै जाने ठाउँ छैन
लक्ष्यविहीन यात्रा सधैं गरिरा’छ जीवन
साथीभाइको जीवन उज्यालोले झिलिमिली
आफ्नो भने अँध्यारोमै परिरा’छ जीवन
खुकुरीको धारमुनि अचानो भै रेटिँदा नि
चोटमाथि चोट अझै भरिरा’छ जीवन
(प्रिय साथी, पृष्ठ–११)
मैले उपर्युक्त गजलको प्रशंसा गर्नु पर्दैन । प्रिय पाठक ! सत्य भन्छु तपाईं स्वयं गजलको पारखी हुनुहुन्छ । बहर वा लयलाई पर पन्छाएर गजल बन्दैन । यो कुरोलाई निर्दोष जीवनको माथिको गजलले पुष्टि गरिसकेको छ । उनी स्वयं राम्रा गजल गायक भएकोले संग्रहभित्रका सबै गजलहरु मिठासपूर्ण र गेयात्मक हुनु यसको प्रमाण हो ।
आदरणीय पाठक महोदय, तपाईं गजलको अनुरागी हुनुहुन्छ र गजल लेख्ने विचारले तपाईंलाई पच्छ्याइरहन्छ भने गजलका संरचनात्मक, विषयगत र कलात्मक पक्षका बारेमा विज्ञ गुरुसँग गएर गजल लेख्न सिक्नोस् । मैले तपाईंको सजिलोको निम्ति आक्षरिकलय, गीतिलय वा स्वनिर्मितलय वा नाद सौन्दर्यमिश्रितलयमा वा लय नै नमिलाई लेख्नोस् हुन्छ, चल्छ, भनिदिउँला । तपाईं मेरा कुरामा विश्वस्त भएर बहर वा गैर बहरमा लेख्नुहोला । सत्य त एकदिन प्रकट भइहाल्छ । भनौं न गजलका महारथी मानिने एकाध गुरुहरुले तपाईंलाई गैर बहरमा लेखे पनि फरक पर्दैन भन्देलान् । तपाईं त्यतैतिर लाग्नुहोला । डोकोले छोपेर सत्य त छोपिंदैन । पोल त खुलिहाल्छ त्यतिबेला के गर्नुहुन्छ ? मेरो प्रश्न यही नै हो ।
गजलको चर्चा गर्दा संभवतः मत्ला, मक्ता, रुक्न, अर्कान, बहर आदिको प्रसंग किन उठिरहन्छ भन्ने तर्क पनि ध्यान दिनुहोस् भनी म खरा कुरा राख्न चाहन्न । तपाईंको गजल संग्रहमा कतिवटा बहरको प्रयोग भएको छ ? भनेर कसैले प्रश्न गर्न सक्छ कि सक्दैन ? गजलका सन्दर्भमा यो प्रश्न कति उपर्युक्त र कति अनुपयुक्त हुनसक्छ । म त्यतातिर जान चाहन्न । कारण सिर्जना भन्ने कुरा स्वयं सिर्जनाकारको अधिनमा रहन्छ । सिर्जनाकारले जस्तो चाहन्छ उस्तै सिर्जना गर्दछ । सिर्जनाकारको स्वतन्त्रतामा कसैले धावा बोल्न मिल्दैन । अब तपाईं सिर्जना गर्नुहोस्, गाउनुहोस्, गाउन कसैलाई प्रेरित गर्नुहोस्, यो तपाईंको मौलिक अधिकार हो, कसैले छिन्न सक्दैन । टीकाटिप्पणी गर्ने काम समालोचकको हो । उसैले टीकाटिप्पणी गरिरहन्छ । हामी गजलतिर लागौं ः
तिमीविना यात्रा एक्लै गर्न कठिन भो
सागर यो पिरतीको तर्न कठिन भो
कहिले पुल, कहिले सिंढी बनाएर मलाई
शिखरमा पुग्यौ तिमी झर्न कठिन भो
हिजोआज तिमीलाई देख्छु धेरै रुपमा
त्यही भएर तिम्रो सिउँदो भर्न कठिन भो
तिमीलाई त सहज होला जिउन एक्लै
मलाई भने मर्छु भन्दा मर्न कठिन भो
(प्रिय साथी, पृष्ठ ५८)
आजका चर्चित युवा गजलकार निर्दोष जीवनको प्रिय साथीसँगै रहेर संयुक्त गजल संग्रहका सहभागी बनेका पदमराज ढकाल ‘आशावादी’ पनि आक्षरिक लयमा जोड दिएर गजल सिर्जना गर्ने कुशल गजलशिल्पी हुन् । उनका सिर्जनामा पनि देशमा दृष्टिगोचरीभूत, सामाजिक र राजनीतिक विकृति–विसंगतिबाहेक प्रेम प्रणयका भावनाहरु मुस्लिएका छन् । उनको रचनामा प्रस्फुटित जीवनवादी मर्म यसरी परिलक्षित भएको देखिन्छ । उनका सन्ताउन्न वटा गजलमध्येबाट एउटा गजलको नमूना प्रस्तुत छः
हाँसो खुसी दुःख पीडा स्वरुप जिन्दगी यो
खरानी भै बिलाई जाने धूप जिन्दगी यो
बाँच्नै मन लाग्ने कति अन्तिम श्वास फेर्दा पनि
दीर्घायुको प्यास नमेट्ने कूप जिन्दगी यो
सान्त्वनाका सुझावहरु दिन्छौ कति अरुलाई
आफ्नै चिच्याहटभित्र चूप जिन्दगी यो
आज बच्चा भोलि ठिटो पर्सी बुढेसकाल
चरण बदलिजाने कस्तो रुप जिन्दगी यो
अनेकन चाहनाको भण्डारहरुभित्र पनि
आफ्नै इच्छा बन्द गर्ने हूप जिन्दगी यो
(प्रिय साथी, पृष्ठ ११२)
हाम्रो जीवन द्वैतवादको परिधिमा अल्झिरहेको छ । यो प्रकृतिको नियम पनि हो । प्रकृतिको नियमलाई कसैले उल्लंघन गर्न सक्दैन त्यसैले विनाद्वैत कतै एक फड्को मार्न सकिंदैन । घामको विपरीत जून भनें झैं दिनको रात, उज्यालोको अँध्यारो, शान्तिको हिंसा, सुखको दुःख, आमाको बाबु, पुरुषको महिला हुनु द्वैतवादको दृष्टान्त हो । छन्द वा बहरमा यही द्वैतवादको प्रभाव छ । कोही छन्द वा बहरमा पच्छ्याएर लेख्छन्, कोही मुक्तछन्द वा गैरबहरमा लेख्छन् । जे जसरी लेखे पनि अनुसरण गर्नेले चिरस्थायी वस्तुसत्यको गर्नुपर्दछ ।
युवा गजलकारद्वय निर्दोष जीवन र पदमराज ढकाल ‘आशावादी’हरुको प्रिय साथी गजल संग्रह (२०७६)को तथा निर्दोष जीवनको चौथो सांगीतिक एल्बम ‘मेरो गीत’ को विमोचन आज भाद्र २८ गते शनिबार धुमधामका साथ गजल मञ्च चितवनको तत्वावधानमा सगुन पार्टी प्यालेस भरतपुरमा हुँदैछ । यो कृति आफैंमा राम्रो भएकोले यसको गजल फाँटमा विशेष चर्चासहित अस्तित्व रहनेछ । यसमा सामाजिक जनजिन्दगीका कुराहरुदेखि लिएर देश दुखेको प्रसंगहरुका साथै सामाजिक, धार्मिक, साँस्कृतिक र राजनीतिक विकृति विसंगतिप्रति कडा व्यंग्य प्रहार गरिएको छ । त्यसो त कृतिमा अधिकांश प्रेम प्रणयका बैंसकालीन रहर पनि छताछुल्ल भएर पोखिएका छन् । समग्रमा कृति पठनीय र सङग्रहणीय बनेको छ । एल्बम ःफस्ट लभमा समावेश गरिएको गजल गजलकार निर्दोष जीवनको आफ्नै शब्द, संगीत र आवाज रहेको सुमधुर गजल प्रस्तुत गर्दै लेखनी थाम्दछु ः
बिछोड खप्न नसकेर पिएको हुँ अलिकति
तिम्रो याद बिर्सनलाई लिएको हुँ अलिकति
यो मन साह्रै दुख्दो रै’छ फाटेपछि पिरतीमा
नसाको सहारा लिई सिएको हुँ अलिकति
अन्तै नाता जोडे पनि के भो भनी सोध्छौ अरे
मत तिम्रै सम्झनाले खिएको हुँ अलिकति





