गजल लेखनमा आशा गर्ने ठाउँ प्रशस्त छन् : अर्याल (कुराकानी)

कमल अर्याल विशेषगरी गजल लेख्छन् । हालै सप्पन्न गजल मञ्च चितवनको अधिवेशनबाट उनी कोषाध्यक्ष पदमा चुनिएका छन् । गजलका अलावा उनी निबन्ध र कथा लेखनमा पनि क्रियाशील छन् । पूर्वी चितवनको रत्ननगर निवासी उनी त्यस क्षेत्रमा हुन अधिकांश साहित्यिक गोष्ठी र अनुष्ठानमा लागिपरेका हुन्छन् । ‘तिमी आउनुअघि’, ‘तिमी आएपछि’ र ‘लौरो’ गरी तीनवटा गजल संग्रह प्रकाशन गरेका उनका संयुक्त गजल संग्रहको रूपमा ‘ई–प्रतिनिधि नेपाली गजल’, ‘हैसियत २’, ‘अक्षरहरुको पिरामिड’ र ‘शब्द शिविर’ लगायतका कृति प्रकाशित छन् । यस्तै उनको ‘उत्तरकी अप्सरा’ नामको अर्को कृति पनि प्रकाशित छ । यसमा उनको घुमघामको क्रममा तयार पारिएको यात्रा साहित्य समेटिएको छ । अर्यालले स्कूले जीवनदेखि नै साहित्य सिर्जना गर्न थालेका हुन् । सानैदेखिको कविता लेख्ने, सुनाउने र सुन्ने उनको रहर अहिले पनि यथावत छ ।
कायाकैरन दैनिकको शनिबासरीय परिशिष्टअन्तर्गत ‘मेरो सिर्जना’ स्तम्भमा चैत महिनाको पाहुनाका रूपमा यिनै स्रस्टालाई प्रस्तुत गरिरहेका छौं । चैत महिनाभरका शनिबार हामीले अर्यालका साहित्यिक सन्दर्भमा रहेर विभिन्न सामग्रीहरु पाठकमाझ प्रस्तुत ग¥यौं । चैत महिनाभरको सिर्जनात्मक सहकार्यका लागि कमल अर्याललाई विशेष आभार व्यक्त गर्दै आजको अन्तिम श्रृंखलामा उनीसँग गरिएको कुराकानी प्रकाशन गरेका छौं ।

गजल लेखनमा तपाईंको रुचि कसरी बढ्यो ?
मलाई साहित्यप्रति अझ गेयात्मक विधाप्रति सानैदेखि रूचि थियो । पहाडमा दोहोरी गाएको, भजन भट्याएको सुन्थें । झ्याउरे गीतका लय र तालले मेरो मन तान्थ्यो । पाठ्यपुस्तकमा भएका रचनाहरूमध्ये मलाई लय मिलाएर पढ्न मिल्ने कविताहरू विशेष मन पर्थे । नयाँ कक्षा सुरु भएपछि पाठ्यपुस्तक हात परेको दिन म सबैभन्दा पहिले नेपाली पल्टाउँथें र त्यसमा पनि मेरा आँखाले लयात्मक कविताको खोजी गथ्र्यो । पाठ्यपुस्तकका लयात्मक कविताहरू म पुस्तक फेला पारेकै दिन कण्ठ पार्थें ।२०५१/५२ सालतिर हामी सपरिवार चितवन बसाइँ स¥यौं । चितवन झरेपछि मेरो मन मनु ब्राजाकी, बुँद रानाका गजल रचनाले ताने । अझ बुँद रानाका गजल वाचनको मिठासपूर्ण शैलीले त म अत्यन्त प्रभावित भएँ । त्यतिखेर मलाई लाग्थ्यो–आहा, यस्तै लेख्न पाए त, यसैगरी गाउन पाए त । हो, यसैगरी म गजलप्रति आकर्षित भएँ र मेरो साहित्यिक लेखनको मूल विधा पनि यही विधा बन्यो ।

गजल लेखनलाई कस्तो वातावरण सहज लाग्छ तपाईंलाई ?
लेख्नका लागि यस्तै वातावरण चाहिन्छ भन्ने हुँदैन । भावनाहरू जतिवेला पनि आउनसक्छन् मानसपटलमा । जतिवेला म भावनाको ज्वरले ग्रस्त हुन्छु त्यतिवेलै कपी र कलम लिएर टिपिहाल्छु । भावनाले अतिक्रमण गरेका बेला टिपोट गर्न सकिएन भने एउटा गजल सम्भावनाको अन्त हुन्छ । कतिपटक मेरा सम्भावित गजलहरू समयमै लिपिबद्ध गर्न नसकेका कारण नजन्मदै सकिएका छन् । यस्तो अवस्थामा म दुःखी हुन्छु । जब म मेरा भावनालाई फुत्किन नदिई लिपिबद्ध गर्छु त्यतिवेला मलाई निकै ठूलो पुरस्कार हात पारेजस्तो हुन्छ ।

गजलभन्दा बाहिर गएर कलम चलाउँदा कुन बिधामा रमाउन मन लाग्छ ?
मैलै माथि नै भनिसकें मेरो मुख्य रूचिको विधा गजल नै हो । मलाई गजल लेख्न र गुन्गुनाउन निकै मन पर्छ । अभिव्यक्तिलाई तिखारेर एउटा गजल लेख्दा म दिनभर रोमाञ्चित बनिरहन्छु । गजलका अतिरिक्त मलाई यात्रा साहित्य मनपर्छ । यात्राका अनुभूतिलाई लेख्नु भनेको भ्रमणको बारेमा भोगिएका अनुभूति अरुलाई बुझाउनु हो । आफ्नो अनुभूति अरुलाई बुझाउन सकें भन्ने लाग्यो भने त्यसले पनि मलाई निकै आनन्दित बनाउँछ । पछिल्लो समयमा मलाई लघुकथाका आकर्षणले पनि तान्न थालेका छन् । थोरैमा धेरै भन्न सक्ने विधा भएकाले पनि मलाई लघुकथा मन पर्छ ।

पढ्नलाई आनन्द आउने विधा कुन हो ?
सुन्दर आन्तरिक साजसज्जाका साथ आएका सबै विधाले आनन्द प्रदान गर्छन् । त्यसमा पनि गजल कविता र गीतहरू पढ्दाभन्दा वाचन गर्दा र गाउँदा मजा आउँछ । मलाई कोरा कल्पनाका उपज रचनाभन्दा यथार्थिक जीवन छोएर बग्ने रचनाहरू मन पर्छन् । अटोवायोग्राफिक रचनाहरू बढी मन पर्छन् । यात्राका अनुभूति पोखिएका रचनाहरू पनि म बढी रूचाउँछु । आदर्शवादी रचनाहरूभन्दा यथार्थवादी रचनाहरू बढी जीवन्त हुन्छन् भन्ने मेरो बुझाइ हो ।

समग्रमा चितवनको गजल गतिविधि कस्तो छ ?
चितवनलाई त गजलको राजधानी नै भनिन्छ होइन र ? चितवनलाई गजल राजधानी भनिएको त्यत्तिकै होइन । गजलमा चितवनको गतिविधि अन्य ठाउँभन्दा अगाडि नै छ । धेरै सर्जकहरू गजल विधा प्रति आकर्षित भएका छन् यहाँ । गजल लेख्ने छपाउने काम अन्य ठाउँभन्दा यहाँ नै बढी भएको छ । गजललाई एफ.एम. रेडियोहरूले बढी नै स्थान दिएका छन् । पत्रपत्रिकाहरूमा गजल सधैं छापिएका हुन्छन् । गजलका सिद्धान्तकारमा केशवराज आमोदीले कलम चलाइरहेका छन् भने लेखनतर्फ धनराज गिरी, प्रभाकर पण्डित, पुष्प अधिकारी अञ्जलि, प्रेम विनोद नन्दन, शीतल कादम्बिनी आदिले गजल विधालाई पुष्पित र पल्लवित बनाउन गरेको प्रयास प्रसंशनीय रहेको छ । अझ पुष्प अधिकारीले गजल विधालाई विशेष बनाए । ठूलो सरकारी धनराशि खर्च गर्ने सरकारी साहित्यिक संस्थाले भन्दा एउटा पुष्प अधिकारी अञ्जलिले गजलका सन्दर्भमा गरेको काम ओजिलो देखापर्छ । यो कुरा आज नभए पनि इतिहासले मूल्याङ्कन गर्छ नै । गजलका धेरै संस्थाहरू खुलेका छन् चितवनमा । गजलमञ्चले पनि राम्रै गजल गतिविधि सञ्चालन गरेको छ ।

नेपाली साहित्यमा गजलको स्थिति कुन स्थानमा रहेकोे मान्नुहुन्छ ?
नेपाली साहित्यमा गजलको थालनी गर्ने मोतीराम भट्ट हुन् । त्यसपछि नेपाली साहित्यका लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, गोपालप्रसाद रिमाल, भूपि शेरचन, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठजस्ता ठूला कविहरूले गजललाई खासै वास्ता गरेको पाइँदैन । त्यसैले कविताका अन्य प्रविधाका तुलनामा गजलले फस्टाउने मौका पाएन । विगत जेजस्तो भए पनि आजको स्थिति फेरिएको छ । आज गजल सर्वप्रिय प्रविधा बनेको छ । धेरैले गजल लेख्न थालेका छन् । एफ.एम. रेडियोमा गजलका कार्यक्रमहरू दिनहुँ प्रसारण हुने गर्छन् । गजल प्रधान पत्रिकाहरू पनि प्रकाशित हुन थालिसकेका छन् । गजल लेखन अन्य प्रविधाको लेखनजस्तो होइन । यसको छुट्टै लेखन पाटो छ । गजलको टेक्निकल पाटो नबुझी लेख्नेहरू पनि प्रशस्त छन् । कतिपयले राम्रै लेखिरहेका पनि छन् । अर्को कुरा हामी गजल लेख्नेहरूमा आत्मविश्वासको कमी भएझैं लाग्छ । गजल लेख्दा लेख्दै अन्य विधामा हाम्फाल्ने र चर्चा कमाउने परिपाटी पनि चल्न थालेको छ । एकै विधामा पनि इमान्दार लेखक बन्न सकिन्छ भन्ने कुरामा लेखकले बुझ्न सक्यो भने समस्या आउँदैन । समग्रमा भन्नुपर्दा नेपाली साहित्यमा गजलको स्थिति त्यति निराशाजनक छैन । आशाका ठाउँहरू प्रशस्त छन् ।

कस्ता गजल पढ्न रुची लाग्छ तपाईंलाई ?
भावनाहरू सलल बगेका गजलहरू बढी पठनीय हुन्छन् । गजलका शब्दहरू जटिल हुनुहुँदैन । कतिपय लेखकहरू जटिल शब्दसंयोजनबाट गजल उत्कृष्ट हुन्छ भन्ने ठान्छन् । यो भ्रम हो । सरलताले गजल मिठो बन्छ । सरल हुनु भनेको कमजोर हुनु होइन । विषयवस्तु जे पनि हुन सक्छ । देश बोलिएका र जीवन भोगाइका अभिव्यक्तिहरू गजलमा बढी सुरुचिपूर्ण हुन्छ भन्ने मलाई लाग्छ । गजलको अनिवार्य गेयात्मकता हो । यो भएन भने गजलको सौन्दर्यपक्ष कमजोर हुनजान्छ भन्ने मलाई लाग्छ ।

नयाँ गजलकारहरूबाट कति आशावादी हुनुहुन्छ ?
निकै धेरै आशावादी छु तर गजलको नियम थाहा नपाईकन हतार गरेर लेख्ने र फेसबुकमा पोस्ट गरिहाल्ने बानीलाई सुधारेर गजल भयो भएन भन्ने कुराको अध्ययन र अनुसन्धान गर्न निकै धेरै जरुरी छ । लेखौं, सिकेर लेखौ, बुझेर लेखौं हामी सफल हुनेछौं ।

तपाईंलाई मन परेका गजलकार र गजल कृति बारे केही बताइदिनुस् न ।
मलाई मनपर्ने गजलकार धेरै छन् गजल कृतिहरू पनि धेरै छन् । लयमा बाधिएर लेखिएका प्रायः अक्षर बराबर भएका गजलहरू मन पर्छन् । यो ऊ भनेर नाम तोक्न गाह्रो छ ।

विभिन्न कार्यक्रममा तपाईं गजल सुनाउँदा गायनको रूपमा प्रस्तुत हुनुहुन्छ । तर अरु बेलामा तपाईंको गायन प्रतिभा लुकेको हुन्छ किन ?
प्रायः सबै गजलकारहरुले गाउने लय एकै प्रकारको हुन्छ । मेरो आफ्नै मान्यता छ । मेरा गजलहरूका मेरा आफ्नै लय छन् । अरुको नक्कल गरियो भने आफ्नो परिचय हराउँछ भन्ने कुरामा म सचेत छु झंै लाग्छ । म प्रायः गजल सुन्नेहरूलाई मध्यनजर गरेर गजल वाचन गर्ने कि गाउने कुरामा निर्णय गर्छु । स्रोताले कस्तो रुचाउँछन् त्यस्तै गर्न मन पर्छ ।

कविताहरू कत्तिको पढ्नुभएको छ ? तपाईंलाई कस्ता कविता पढ्न रुचि लाग्छ ?
म कविता लेख्छु पनि र पढ्छु पनि । जति पढ्छु त्यति लेख्न चै आउन्न । गद्यकविता भन्दा पद्य कविता सुन्दा आनन्द आउँछ । सबै पाठकहरूले बढी रुचाउने पनि पद्य नै हो । गद्य कविताको पनि आफ्नै किसिमको लयात्मकता हुन्छ । भूपि शेरचन, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटाका गद्य कवितालाई कसले पो चुनौति दिन सक्छ र ? परि पु¥याएर लेखिएका गद्य कविताहरू पद्य कविताभन्दा पनि बेजोड हुन्छन् । पद्य कवितामा भन्दा गद्य कवितामा भावलाई प्रस्तुत गर्न अझ सजिलो हुन्छ भन्ने

अन्त्यमा तपाईंका पाठक शुभ चिन्तकलाई के भन्नुहुन्छ ?
आफ्नो परिचय आफैंले बनाउने हो । अरुको न क्कल गरेर अरु जस्तो बन्न खोजियो भने आफ्नो परिचय हराउँछ । सबै विधामा हात हाल्नुभन्दा आफ्नो मनपर्ने विधामा दक्ष हुन खोज्नु पर्छ जस्तो लाग्छ तर म आफू सफल भएझैं मान्दिन । कोसिस भने पक्कै गरिरहेछु र गरिरहने छु पनि । म पाठकहरूको माया सल्लाह सुझावलाई मध्यनजर गरेर अगडि बढ्नेछु । मलाई वा वा गरेर खुशी बनाउन दिएको तालीभन्दा खबरदारी गर्ने असली शुभचिन्तक मन पर्छ । कायाकैरन दैनिकले चैत महिना भरिको पहुना हुन योग्य सम्झिदिएकामा निकै आभारी छु । नयाँ वर्षले हजुरहरू सबैको जीवनमा उमङ्ग ल्याओस् हार्दिक हार्दिक शुभकामना छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट