कपीमा लुट, पुस्तकसँगै फलफुल बिक्री
विप्लव काफ्ले
भरतपुर, ३ चैत्र
नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । पुस्तक व्यवसायीका लागि यो समय ‘दशंै’ सरह हो । यो सिजन चैतबाट सुरु भएर बैशाखभर चल्छ । वर्षभरीकै सबैभन्दा बढी कारोबार हुने महिना यिनै हुन् ।
विगतमा पाठ्यपुस्तकमा दिइदैं आएको छुट नदिन व्यवसायी एक जुट बनेका छन् । शनिबार नारायणगढमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ शाखा चितवनले जिल्ला भेला डाकेर छुट नदिन सबै व्यवसायीलाई अनुरोध गरे । “सरकारले पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको छ, अस्वस्थ प्रतिस्पर्धा हटेको छ”, जिल्ला अध्यक्ष राजेन्द्र तिवारीले भने, “अब अंकित मूल्यमै पुस्तक बिक्री हुन्छ, छुट दिइदैन ।” उनले जहाँ किनेपनि पुस्तकको मूल्यमा कुनै प्रभाव नपर्ने बताए ।
“छुट खोज्दै विद्यार्थी तथा अभिभावक धाउनुपर्ने अवस्था अन्त्य भएको छ”, उनले भने, “ठगी हुन्छ भन्ने आरोप पनि हट्दैछ ।” उनले अंकित मूल्यभन्दा बढीमा पाठ्यपुस्तक बिक्री गरेको पाइए कारबाही हुने बताए । संघमा ३ सय जना व्यवसायी आबद्ध छन्, जसमा १० जना थोकबिक्रेता छन् ।

सरकारले २०७४ सालदेखि लागू हुने गरी पुस्तक नीति ल्याएपछि अंकित मूल्यमै पुस्तक बेच्ने वातावरण सुनिश्चित भएको उनको भनाइ छ । प्रदेश–३ का अध्यक्ष किरणकुमार खनालले अंकित मूल्यमा २० प्रतिशत मुनाफा नजोडी बेच्न सुझाए । “चितवनमा गतवर्षबाटै स्वच्छ व्यवसाय स्थापित भएको छ”, उनले भने, “अब अंकित मूल्यमै बिक्री हुन्छन्, नैतिक र इमान्दारीको सन्देश दिनुछ ।”
सरकारले स्यामश्वेतको प्रतिपेज १ रुपैयाँ १० पैसा, २ कलरमा १ रुपैयाँ २५ पैसा र ४ कलरमा प्रति पेज १ रुपैयाँ ४५ पैसालाई आधार बनाएर पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको छ । प्रदेश–३ का सल्लाहकार समितिका सभापति विष्णुप्रसाद धितालले विगतको कमिसन घटेकाले अंकित मूल्यमा छुट नदिइने बताए । विगतमा निजी प्रकाशन गृहका पुस्तकमा २५ प्रतिशतसम्म छुट व्यवसायीले पाउँथे”, उनले भने, “तर, अहिले १४ प्रतिशतमा झरेको छ, मौज्दात रहेका पुस्तकसमेत फिर्ता हुँदैनन्, त्यसैले पहिलेजस्तो छुट दिने अवस्था हटेको छ ।”
उनका अनुसार सामुदायिक विद्यालयका पाठ्यक्रमको अंकित मूल्यमा बढीमा ९ प्रतिशतसम्म मात्रै मुनाफा व्यवसायीले पाउँछन् । “२० प्रतिशत मुनाफा लिन पाइने प्रावधान नै छ”, उनले भने, “व्यवसायीले अंकित मूल्यमै बेच्ने निर्णयले सबैलाई फाइदा पुग्छ, अतिरिक्त मूल्य तिर्नुपदैन ।” केन्द्रीय सचिव नारायण काफ्लेले विगतको छुट दिने प्रवृत्तिले व्यवसाय नै धरापमा परेको बताए । “मूल्य निर्धारण भएपछिको अंकित मूल्यमा छुट दिन मिल्ने खालकै छैन”, उनले भने, “धेरै मुनाफा नभएकाले छुट दिन मिल्दैन ।” केन्द्रीय वरिष्ठ उपाध्यक्ष मनहरी बस्यालले देशभरिका व्यवसायीलाई अंकित मूल्यमै बेच्न सुझाएको बताए । “अस्वस्थ प्रतिस्पर्धाले व्यवसायलाई नै संकटमा पु¥याएको थियो”, उनले भने, “अब त्यस्तो अवस्था छैन ।”
कपीमा लुट
कपीको गुणस्तर र परिमाणबारे स्पष्ट नीति छैन । जसको फाइदा कपी उद्योगहरुले लिदै आएका छन् । विगतको तुलनामा कपीको आकार सानो बन्दै गएको छ । “७० प्रतिशत कपी किराना पसलबाट बिक्री हुन्छन्”, केन्द्रीय वरिष्ठ उपाध्यक्ष बस्यालले भने, “किराना पसललाई भएभरको सुविधा दिने, अनि हामीलाई मात्रै दोष थुपारेर हुन्छ ?” उनले कपी उद्योगले गुणस्तर र मापदण्ड सुधारेर ‘ब्राण्ड’ बनाउन सुझाए । प्रदेश–३ का अध्यक्ष खनालले ४० पृष्ठको कपीको आकार ३० पेजमा झरेपनि मूल्य उही रहेको आरोप लगाए ।
“मापदण्ड के, कति ग्रामको मूल्य के भन्ने निश्चित छैन”, उनले भने, “द्विविधात्मक व्यवसाय हामीले कहिलेसम्म गर्ने ?” उनले कपीको मर्यादित व्यवसाय गर्न व्यवसायी तयार रहेको बताए । “विगतमा २४ पृष्ठको जिस्ता अहिले ६ पृष्ठमा खुम्चियो”, प्रदेशका सल्लाहकार धितालले भने, “उद्योगको कमिसनले धेरै अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।” कच्चापदार्थ आयातमा कर वृद्धि भएकाले मूल्य बढाउनुपरेको दावी उद्योगीको छ । चितवनमा ७ वटा कपी उद्योग छन् ।
विद्यालयमा पुस्तक व्यापार रोकिने
केही विद्यालयले ‘कमिसन’ को प्रलोभनमा परेर परिसरबाटै पुस्तक तथा अन्य शैक्षिक सामग्री बेच्दै गरेका छन् । सर्वाेच्च अदालतले २०६८ वैशाख १५ मा अन्तरिम आदेश जारी गरेको थियो । विद्यालय परिसरबाट विद्यार्थी र अभिभावकलाई पुस्तक किन्न बाध्य नपार्न आदेश गरेको थियो । “व्यक्तिगत ‘डिलिङ’ गर्दै प्रकाशन गृहले नै विद्यालय परिसरमै पुस्तक बेच्न सहयोग गरेको पाइएको छ”, बस्यालले भने, “प्रकाशन गृहको गतिविधिबारे पर्ख र हेरको अवस्थामा छौँ, उहाँहरु पनि आचारसंहिता अनुसार चल्नुपर्छ ।”
उनले बोर्डिङको पुस्तकका कारण व्यवसायीको शीर निहुरिएको दुखेसो सुनाए । विद्यालयका सञ्चालकले पुस्तक व्यवसाय दर्ता गर्न लगाएर आफूअनुकूल विद्यालय हातामै पसल चलाउने गरेका छन् । विद्यालय परिसरभित्र पुस्तक किनबेच भएको पाइए कानूनी दायरामा ल्याइने उनको दावी छ ।
पुस्तक पसलको विकल्प
पुस्तक व्यवसायीले पछिल्लो समय पसलमा पूजा, फेन्सी, फलफुलका सामग्रीसमेत बेच्न थालेका छन् । शैक्षिक सामग्रीका अतिरिक्त जुत्ता, चप्पल, ब्यागलगायत वैकल्पिक व्यवसाय छेउको सटरमा वा सोही पसलमा चलाउँदै आएका छन् । “पुस्तक व्यवसाय ‘पार्टटाइमजस्तो बन्न थालेको छ”, धितालले भने, “संकटबाट जोगाउन विकल्प खोज्नुपरेको छ ।” धरै पुस्तक पसलले फोटोकपी तथा फोटो स्टुडियोसमेत चलाउन थालेका छन् । पुस्तकबाट मुनाफा कम हुन थालेपछि विकल्पको पेशा रोज्न बाध्य भएको उनको भनाइ छ ।




