लेखक हतारमा छन्, पाठक फुर्सदमा

उदय अधिकारीमा साहित्य चेतसँगै राजनीतिक चेत पनि उत्तिकै छ। उनका बाबु मुक्तिनाथ अधिकारी चितवनको बाम राजनीतिका अगुवा हुन्। त्यसो त उनको सिंगो परिवार नै राजनीतिक माहोलमा छ। बाबुकै राजनीतिक पृष्ठभूमिको प्रभाव उनमा पनि प¥यो। उनका भिनाजु रामकृष्ण घिमिरे नेपाली कांग्रेस चितवनका एकजना वरिस्ठ नेता हुन् । कम्युनिष्ट र प्रजातान्त्रिक वातावरणको दोहोरो प्रभावको राजनीतिक चेत उनमा छ। राजनीतिक बहस र छलफलमा उनी अहिले पनि उत्तिकै लागिरहेका छन्। उनको पठनमा, समीक्षामा राजनीतिक विषयवस्तु प्राथमिकतामा परिरहन्छन् अझै पनि। हामीले उनै उदय अधिकारीलाई माघ महिनाको पाहुनाको रूपमा प्रस्तुत गरिरहेका छौं । आज महिनाको अन्तिम शनिबार हो। आजको श्रृंखलामा शनिबासरीय स्तम्भका लागि लेखराम सापकोटा र विजय विश्वकर्माले गरेको कुराकानी प्रकाशन गरेका छौं ः

लेख्न भन्दा बढी बोल्न मनपराउनुहुने तपाईंलाई आज पक्कै राहत महसुस भएको हुनुपर्छ, होइन ?
यो सन्दर्भ सायद रामलाल जोशीको उपन्यास ‘सखी’माथिको परिचर्चाको हो । म बोल्ने र रामलाल जोशीलगायतले सुन्ने भएपछि बोल्दा पाइने स्वतन्त्रतामाथि एक प्रकारको दवदवा महसुस हुनु प्राकृतिक नै हो । बोल्नु भनेको सिधा संवाद गर्नु हो भने लेख्नु संवादका लागि अलि घुमाउरो बाटो हिँड्नु हो । यही प्रत्यक्ष संवादले मलाई लेख्नेभन्दा बोल्नेतिर बढी तानेको हो । म आफ्ना कुरा भनिहाल्ने र एक प्रकारको बोझबाट मुक्त हुन चाहने व्यक्ति हुँ । म पुराना कुराहरूको बोझ बोकेर हिँड्ने मानिस होइन । नयाँ कुराहरू, नयाँ पुस्तकहरु नयाँ विचारहरुसँग संवादरत रहनु मेरो बानी नै भइसकेको छ । बोल्दा तपाईं सम्पूर्णरुपले बोल्न सक्नुहुन्छ र ‘अफ द रेकर्ड’ले जुन आनन्द दिन्छ, त्यो आनन्द बाँधिएर लेख्दा मेरा लागि नआउने भएकाले पनि म बोल्नतिर बढी तानिएँ कि ! वा मसँग लेख्ने कलाको अभावले पनि बोलीतर्फ मुखरित पो भएँ कि !
तर, हामीले प्रकाशन गरेका तपाईंका पछिल्ला सामग्रीलाई हेर्दा तपाईंमा लेखन कला पनि उत्तिकै उम्दा छ भन्ने लाग्छ । फेरि पनि तपाईंले नलेखेरै यत्रो समय कटाउनुभयो, किन ?
धन्यवाद छ लेखरामजी, धन्यवाद विजयजी यहाँहरुले मेरो लेखन कलालाई मन पराउनुभएकोमा । तर, कतिपय सत्य स्रस्टा आफूले मात्रै महसुस गर्ने पनि हुँदोरहेछ । मलाई थाहा छ, तपाईंहरुले भनेकोजस्तो मेरो लेखन कला उम्दा छैन । म बाध्य नभइकन लेख्न पनि सक्दिन । नेपाली साहित्यमा देवकोटाको निबन्ध, बीपी र पारिजातको आख्यान, भूपी शेरचन र श्रवण मुकारुङको कविता उम्दा लेखनका केही नमूनाहरु हुन् । अहिले पनि थुप्रै उम्दा लेखकहरु नेपाली साहित्यमा क्रियाशील छन् । समय त त्यसै पनि कट्छ नै । फरक–फरक विचार बोकेका लेखक र पाठकहरुसँगको संवादले यत्रो समय भन्ने नै बिर्साएछ । यही प्रश्न तपाईंहरुतिर फर्काएँ भने के हुन्छ ? पोखराकी सरस्वती प्रतीक्षाले बर्दियाको वादी बस्तीमाथि नथिया लेखिन् । धनगढीमा बसेर रामलाल जोशीले सुदूरपश्चिमको कमैया र कमलरी मुक्ति आन्दोलनको कथा लेखे, विजयजी तपाईं चाँदनी–दोधाराको मानिस मसँग गफिएर यस्तो महत्वपूर्ण समय किन खेर फालिरहनुभएको छ त ? अनि लेखरामजी तपाईं पनि अरबी मुलुकमा त्यति धेरै समय बिताउनुभएको मान्छे । नेपालीहरुको दुःखलाई देख्नुभएको मान्छे, मीनराज बसन्तले ‘मुदिर’ लेखेर संवादमा आइसकेको बेलामा तपाईंचाहिँ मसँग गफिएर बसिरहनुभएको छ त ! मैले ठट्टा मात्रै गरेको हो है । तपाईंहरु गम्भीर हुनु पर्दैन । (लामो हाँसो सबैको ) आखिर नलेखेरै पनि समय त कट्दो रहेछ नि ! हामी सबै समय कटाइरहेका छौं । र, मलाई अहिलेसम्म आफूले बिताएको समयमा कुनै पछूतो छैन ।
पुस्तकप्रति तपाईंको यति धेरै प्रेमचाहिँ किन ?
मैले संसारलाई पुस्तकहरुमार्फत चिनें । फरक–फरक पुस्तकहरुले मलाई फरक गोलाद्र्धको संघर्ष, संस्कृति, राजनीति र भूगोलसँग चिनायो । धेरैजसो मेरा अत्यन्तै प्रिय मित्रहरूलाई मैले पुस्तकको माध्यमबाटै भेटें । कुनैबेला म सिद्धिचरण श्रेष्ठसँग केही समय देवघाटमा बसेको थिएँ । यो नाता पनि पुस्तकले नै बनाएको थियो । सिद्धिचरणजीले देवकोटा र गणेशमानको बारेमा बोलेको सुन्नु ‘धृतराष्ट्रले सञ्जयमार्फत महाभारत युद्धको वर्णन सुन्नु’जत्तिकै महत्वपूर्ण थियो मेरा लागि । पुस्तक मेरा लागि सम्पूर्ण शोषित–पीडित मनहरुसँग जोडिने माध्यम हो । मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिट्युड र नो वन राइट्स टु कर्नेल’ नपढेको भए दक्षिण अमेरिकाको जसरी पनि शासनमा बस्नुपर्ने महत्वाकांक्षी शासकहरुको मनोविज्ञान मलाई थाहा हुने थिएन । र, उनीहरुको शक्तिको आशक्तताले त्यहाँको विकास र जनताको जीवनस्तरलाई कसरी वर्वाद ग¥यो भनेर जान्नको लागि पनि ‘गार्बियल गार्सिया मार्खेज’ पढ्न आवश्यक छ । धेरै कुराले नेपाल पनि ल्याटिन अमेरिकी देशहरूको नजिक छ । पुस्तकले नायकहरु चिन्न पनि सघाउँछ । नेल्सन मण्डेलाको ‘लङ वाक टु फ्रीडम’ भन्ने आत्मकथा पढ्दै जाँदा पाठक रंगभेद भनेको के हो र कसरी थोरै गोराहरुले बाहिरको सहायताले त्यहाँका धेरै संख्यामा रहेका काला स्थानीयमाथि शासन गरिरहेका छन् र कसरी अफ्रिकाको मुक्तिको लागि नेल्सन मण्डेला अघि आए भन्ने कुरा थाहा पाउँदै जान्छ ।
आज भोलि के पढ्दै हुनुहुन्छ ?
आन्ना वर्नले लेखेको ‘मिल्कम्यान’ सिध्याउने तयारीमा छु । समस्यामा गुज्रिरहेको उत्तरी आयरल्याण्डको कथा एउटा अवसाद छाडिरहेको छ । भर्खरै बोल्नुपर्ने भएको कारणले गर्दा मुक्तान थेवाको ‘अखण्ड आलाप’ हतारमा सकेर अहिले दोहो¥याइरहेको छु । उनका कविताहरु तपाईंलाई प्रतिक्रियामा केही बोल्न उक्साउँछन् । आजकल के पढ्दै हुनुहुन्छ भन्ने प्रश्न जति सजिलो सुनिन्छ, त्यति यसको उत्तर दिन सजिलो छैन । राजबको कथा संग्रह ‘पाई’ मार्फत अमेरिकाको नेपाली समाजको समस्या बुझ्ने कोसिस गरिरहेको छु । भर्खरै पिटर जे कार्थकको अंग्रेजी उपन्यास ‘काठमाण्डुइट’ र श्रद्धा घलेको ‘द वे वार्ड डटर’ पढें र मलाई के लाग्यो भने अंग्रेजीमा नेपाली लेखकहरु गजबसँग लेख्ने भइसकेका छन् । अब त के हेर्दै हुनुहुन्छ भन्ने प्रश्न पो सान्दर्भिक होलाजस्तो छ ।
तपाईंले पुस्तकमार्फत देख्न चाहेको समाज कस्तो हो ?
समाजहरुभित्र विचारहरु धेरै छन् र पुस्तकहरु पनि फरक–फरक विचारका प्रतिबिम्ब भएझैं तिनले प्रतिबिम्बित गर्ने समाजहरु पनि फरक छन् । लेखकहरुका सरोकार फरक हुने हुनाले पुस्तकहरुले उठाउने विषयवस्तुहरु पनि फरक हुन्छन् । महात्मा गान्धी आफ्नो प्रशिद्ध पुस्तक ‘द स्टोरी अफ माइ एक्सपेरिमेन्ट विथ ट्रूथ’ मा अफ्रिकाबारे धेरै उल्लेख गरेका छन् र त्यहाँ रहेका भारतीय मूलका मानिसहरुमाथि भएको अन्यायको विरोध गरेका छन् । यसै विषयलाई लिएर प्रशिद्ध लेखक अरुन्धती रोयले गान्धीले अफ्रिकामा गरेको विरोधलाई सम्पूर्ण मानवताको लागि भन्दा पनि भारतीयको लागि मात्र गरेको आन्दोलन भनेर विश्लेषण गर्दछिन् । तर, रोयले बुझ्नुपर्ने कुरा के हो भने आन्दोलन पहिले सानो झिल्कोबाट सुरु हुन्छ र यसले क्रमशः ज्वालाको रुप धारण गर्दछ । अहिले, यतिबेला आएर गान्धी सबै हेपिएका मानिसहरुका आवाज उठाइदिने प्रतीक बनेका छन् ।
र, मैले देख्न चाहेको समाजचाहिँ न्यायपूर्ण समाज हो । को, कति संख्यामा छ महत्वपूर्ण होइन र कुनैपनि मानिसलाई आफ्नो समूहको आकार नाप्न बाध्य पार्ने समाजको म विरोधी ! धर्म र भाषा छनोट व्यक्तिगत स्वतन्त्रताभित्र पारिनु पर्दछ । धर्म, जाति र लिंगको आधारमा भेदभाव नहुने समाजमा बस्न मन पराउने अनगिन्ती मानिसहरूमध्ये म पनि एक हुँ । हाम्रो छिमेकी देश भारतमा भीमराव अम्बेडकरले बनाएको संविधानले कल्पना गरेको समाजको नजिकमा नेपालको संविधानले कल्पना गरेको समाज पनि नजिकै पुगेको जस्तो देखिनु एउटा सुखद भविष्यको लक्षण हो ।
तपाईं अनुवादलाई किन जोड दिइरहनुहुन्छ ?
तपाईं हाम्रो विश्व साहित्यसँगको नाता नै अनुवादले धानेर राखिदिएको छ । नेपाल विश्वको मानचित्रमा अलग–थलग भएर रहन सक्दैन । फ्रेञ्च क्रान्तिको मूल मन्त्रको रूपमा रहेको स्वतन्त्रताको ज्वारभाटा हामीसँग अनुवादमार्फत नै आइपुगेको हो । संसारभर चलेका समानताका लहरहरुलाई हामीले अनुवादकै माध्यमबाट पढेको हो । जब मैले साहित्य पढ्न सुरु गरें, मैले प्रसिद्ध दार्शनिक रुषोको ‘कन्फेसन’लाई स्वीकारोक्तिको रूपमा नेपाली अनुवादमा नै पढेको हुँ ।
आनातोले फ्रान्सको ‘थाया’ मैले नेपालीमै पढेको हुँ । जोन स्टेन बकको प्रसिद्ध पुस्तक ‘ग्रयाप्स अफ ¥याथ’ पुस्तक नेपाली अनुवादमा नै भेटेको हो । रवीन्द्रनाथ टैगोरको प्रसिद्ध कथाहरू र सरतचन्द्र चट्टोपाध्यायको प्रसिद्ध उपन्यास ‘शेषप्रश्न’ नेपालीमै पढेर आनन्द लिइएको हो । कालिदासका प्रसिद्ध रचनाहरु ‘मेघदूत’ र ‘अभिज्ञान शाकुन्तलम’ मैले हिन्दी अनुवादमा पढेको हो । र, म के कुरा विश्वासका साथ भन्दछु भने मैले जति पनि फराकिलो संसार चिनें, त्यसको माध्यम अनुवादमा उपलब्ध पुस्तकहरु नै थिए र बीसको, तीसको दशकमा प्रज्ञा प्रतिष्ठानले अनुवादमाथि निकै काम गरेको थियो । विजयजी, तपाईं र मैले आरोन पामुकको प्रसिद्ध उपन्यास ‘द स्नो’ अंग्र्रेजी अनुवादमै पढेको त हो नि ! पामुक आफ्नो त्यो उपन्यासमा टर्कीमा भइरहेको आधुनिक र परम्परागत धार्मिक विचारको सम्बन्धलाई केलाउँदछन् । उनी युरोप र एसियाको बीचमा रहेको आफ्नो देश टर्कीमा उठिरहेका विचारहरुको द्वन्द्व र त्यसले त्यहाँका मानिसहरुमा पारेको प्रभावलाई पात्रहरूमार्फत व्यक्त गर्दछन् । कति राम्रो हुन्थ्यो हामीहरुमध्ये कसैले त्यस सुन्दर उपन्यासलाई नेपाली भाषामा अनुवाद गरिदिए ! गान्धीको आत्मकथा यदि गुजरातीबाट अंग्रेजीमा अनुवाद नभएको भए म त्यस महान पुस्तकसँग जोडिनबाट वञ्चित हुने थिएँ । हामीसँग लामो संस्कृतको परम्परा भएजस्तै युरोपियनहरुसँग ग्रीकको परम्परा छ । ग्रीकका महान नाटककार सोफक्ल्स अनुवाद नभएका भए आफ्नो प्रसिद्ध नाटक ‘इडिपस द रेक्स’मार्फत हामीसँग आइपुग्थेनन् । हामीसँग भएका चिजहरुलाई संसारसम्म पु¥याउने र संसारभर भएका राम्रा चिजहरुलाई हामीसम्म ल्याइपु¥याउने माध्यम नै अनुवाद हो ।
इलेक्ट्रोनिक मिडियाले साहित्यका पाठकहरुलाई घटाइरहेको छ भन्ने कुरा आइरहेको छ नि !
मेरो विचारमा त यसले साहित्यलाई अझ धेरै मानिसहरुको बीचमा लगिरहेको छ । लेखक र पाठकको दूरीलाई कम गरिरहेको छ । लेखकले चाहँदा सहजै पाठकहरुको माझमा पुग्न पाएको छ । एउटा रचना छापिन वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । फेसबुकमार्फत आफूलाई मनपर्ने लेखकसँग पाठक गाँसिन आइपुगेको छ । लाइभ प्रस्तुतिमार्फत पाठक आफ्ना लेखकको तर्कलाई महसुस गर्ने भएको छ । मेरो सन्दर्भमा म एउटा सानो उदाहरण दिन चाहन्छु । मैले गायत्री स्पिकाभाकलाई पढेको छु । उनको प्रसिद्ध निबन्ध ‘क्यान सवार्लटन स्पीक’ ले ल्याएको तरंग पनि महसुस गरेको छु । तर, अहिले मिडियाको सहज पहुँचले तिनै गायत्री स्पिकाभाकका प्रसिद्ध लेक्चरहरु र डिस्कसनहरु युट्युबमार्फत हेरेर आनन्द लिन पाइरहेको छु । भर्खरै सिद्धिएको जयपुर लिटरेचर फेस्टिबलमा म जान पाइनँ । तर, त्यहाँ भएका डिस्कसनहरु म अहिले युट्युबमा हेरिरहेको छु र त्यसैमार्फत संसारका कुना–कुनाका लेखकहरुसँग जोडिन पाएको छु ।
संकट पाठकहरुमाथि होइन, लेखकहरुमाथि आइपरेको छ । एकैचोटि प्रविधिको विकासले सारा संसारभरिका लेखक ‘भर्चुअल बोल्ड’मा जम्मा भएका छन् । अब आफूमा शक्ति भएका लेखकहरु मात्र टिक्नेछन् र लेखेर भन्दा बोलेर टिकिरहेकाहरुले डायनोसरको नियति भोग्नुपर्नेछ । भाषाको भूमिका झन् टड्कारो भएर आएको छ । संसारमा हाम्रो दह्रो उपस्थितिको लागि हामीले केही भाषाहरु सिक्नै पर्नेछ । मो यानको ‘रेड सोरोगम’ मा भएको जस्तै विषयवस्तु संसारका धेरै देशहरुमा छन्, प्रश्न कसरी लाने र कसरी भन्ने हो ।
तपाईंलाई एक जना कुशल समालोचकका साथै ‘सेन्सिटिभ अब्जर्भर’ (संवेदनशील निरीक्षक) भन्दा अतिशयोक्ति नहोला । कस्तो पाउनुभएको छ नेपाली साहित्यको समकालीन अवस्था ?
पहिलो त, म तपाईंहरुले भनेको जस्तो कुशल समालोचक होइन । र, नेपालको सन्दर्भमा समालोचना भन्ने विषयले सान्दर्भिकता गुमाइसकेको छ । अब समालोचना जागिरमा सीमित भएको छ । नेपाली साहित्य समालोचकको हातबाट फुत्किएर पाठकहरुको हातमा आइपुगेको छ ।
नेपाली साहित्य फैलिँदो छ । एकोहोरो बाटोमा हिंडिरहेको साहित्य अचानक चोकमा आइपुगेको छ । राजनीतिक, सांस्कृतिक, आर्थिक, वैचारिक मुद्दाहरुलाई साहित्यले सम्बोधन गर्न थालेको छ । नेपाली साहित्यको सौन्दर्यशास्त्र परिवर्तन भइरहेको छ । साहित्यले समग्र जीवन, पहिचान, अपनत्वका प्रश्नहरुलाई सम्बोधन गरिरहेको छ । सांस्कृतिक, राजनीतिक र साहित्यिक आन्दोलनको बीचमा कहिलेकाहीं फरक छुट्याउन नसक्दा चिन्ताका लहरहरु देखिनु अस्वाभाविक होइन । अहिलेको साहित्यमा विविधता छ । अरुलाई नपढिकन लेखकहरु लेखनमा मात्र व्यस्त रहनु चिन्ताको विषय हुनसक्छ । लाग्छ, लेखकहरु हतारमा छन् । तर, पाठकहरु फुर्सदमा छन् र उनीहरु फुर्सद लिएर किताब छान्दछन् । नेपाली साहित्यमा आएको फराकिलोपन केही समययता निक्लिएका कविता संग्रहहरु आहुतिको ‘गहुँगोरो अफ्रिका’, श्रवण मुकारुङको ‘बिसे नगर्ची’को बयान, मनु मञ्जिलको ‘ल्याम्पपोस्टबाट खसेको जून’, सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना’, संगीत स्रोताको ‘म काठमाडौं आइपुगें’ र मुक्तान थेवाको ‘अखण्ड आलाप’ हरुमा अनुभूति गर्न सकिन्छ । यिनीहरुले अरु थुप्रै कृतिहरुको प्रतिनिधित्व मात्र गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट