समस्यासँग जुध्दै माडीको पशुपालन

विप्लव काफ्ले
भरतपुर, २५ माघ
माडी–७, किर्तनपुरका २८ वर्षीय राजेश ओझा व्यावसायिक किसानका रुपमा चिनिन थालेका छन् । विदेश जाने सपनालाई उनले त्यागेर स्वदेशमै आत्मनिर्भर बन्न थालेका हुन् । कोरियन र जापनिज भाषा दिएर विदेश जाने तयारीमा रहेका उनी डेढ वर्षदेखि उन्नत जातका गाईभैंसीपालनमा लागेका छन् ।
दुई वटा गाईभैंसीबाट सुरु भएको उनको फर्ममा हाल २४ वटा गाईभैंसी छन् । उनी सृजना पशुपालन केन्द्र फर्मका सञ्चालक हुन् । “यहींको कामले खुसी दिएको छ”, उनी भन्छन्, “विदेशनै जानुपर्छ भन्ने मान्यता गलत रहेछ ।” उनकी श्रीमतीले पनि सहयोग गर्छिन् । “अहिले दुहुना गाईभैसी थोरै छन्, त्यहीपनि मासिक १ लाख आम्दानी हुन्छ”, उनी भन्छन्, “दैनिक ७५ लिटर दूध बिक्री हुन्छ ।” उनले ३ विघा जग्गा भाडामा लिएका छन् । “घाँस खेती जंगली जनावरले नष्ट गरिदिदा दुःख लाग्छ”, उनी भन्छन्, “दुःखै गरेर भएपनि आत्मनिर्भर बन्न लागेको छु ।”

 


माडी चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेकाले बस्तीमा जंगली जनावर प्रवेश गर्दा किसान समस्यामा छन् । विदेशबाट फर्केका र विदेशको सपना छाडेका १९ जनाको युवा समूह मिलेर श्रमजीवी युवा कृषक समूह गठन गरेका छन् । यो समूहले माडी–१, बरुवामा श्रमजीवी मिट मार्ट र माडी–२ शितलपुरमा पाडापाडी पालन सुरु गरेका छन् ।
समूहका अध्यक्ष नारायणप्रसाद अधिकारीले माडीमा धेरै जग्गा बाँझो रहेकाले पशुपालन र कृषिलाई व्यावसायीकरण गर्ने सम्भावना बढिरहेको बताउँछन् । “जमिन प्रायः बाँझै छन्, खेती गरेपनि जंगली जनावरले क्षति पु¥याउने समस्या छ”, उनी भन्छन्, “माडीमै व्यावसायिक किसान बन्न लागेका थुप्रै युवा छन्, स्थानीय तहले प्रोत्साहन गर्नु जरुरी छ ।” पाडापाडी पालन फर्ममा ४० वटा पाडाहरु छन् । “सम्भावना देखेरै लगानी गरेका हौँ”, उनी भन्छन्, “तर, घाँस खेती जोगाउनै गारो छ, प्रयाप्त पराल पाउन पनि मुस्किल छ ।” उनको समूहले दुई व्यावसायिक प्रयोजनका लागि ३० लाख लगानी गरेका छन् ।

राष्ट्रिय व्यवसायिक पशुपालन दूध उत्पादक कृषक समाज माडी अध्यक्ष सूर्यप्रसाद भुषालले पशुपालनमा युवा आकर्षित भएको बताए । “परम्परागत पेशालाई व्यावसायिकता दिने क्रम सुरु भएको छ”, उनले भने, “गाईभैंसी, पाडा, बाख्रपालनमा आकर्षण बढेको छ ।” उनका अनुसार १७ वटा गाईभैंसी फर्म, ३ वटा पाडापालन फर्म, १५ वटा बाख्रा फर्म व्यवसायिकतातर्फ उन्मुख भएका ठूला फर्महरु छन् । यस्तै दुई दर्जन ठूला कुखुरापालन फर्महरु सञ्चालनमा छन् । माडीमा दूधका परिकार बनाउने ३ वटा डेरीहरु सञ्चालनमा छन् ।
“सुहाउँदो हावापानी छ, प्रशस्तै जमिन भएकाले पशुपालन बढ्दो छ”, उनले भने, “तर, घाँसमा आधरित पशुपालन गर्न चुनौती छ ।” नदी, जंगल आसपासमा गरिने घाँस खेतीमा वर्सेनि जंगली जनावर, बाढीले असर पार्दै आइरहेको उनले बताए । “दाना, चोक्कर, ढुटो, परालका भरमा पशुपालन गर्नुपर्ने अवस्था छ”, उनी भन्छन्, “महंगो मूल्यमा किन्नुपर्छ, लागत बढी पर्छ, तर मूल्य छैन ।” माडीमा हाल दैनिक ५ हजार लिटर दूध व्यवसायिक रुपमा बिक्रि हुने गर्छ । जसमध्ये डिडिसीका चिस्यान केन्द्रमा दैनिक ४ हजार लिटर संकलन हुन्छ ।
उनी शिक्षक पनि हुन् । ४ वर्ष पहिले उनले भुषाल भैंसी अनुसन्धान तथा उत्पादन केन्द्र फर्म सञ्चालनमा ल्याएका छन् । हाल उनको फर्ममा ७० वटा गाईभैंसी तथा पाडाहरु छन् । जसमा ४० वटा पाडाहरु छन् । उनको फर्मबाट हाल दैनिक ८० लिटर दूध उत्पादन हुन्छ । “माडीका पाडाहरु बाग्लुङ, जोमसोम, काठमाडौं, पोखरासम्म बिक्री हुन्छ”, उनले भने, “करिब ३ हजार पाडा माडीबाट बिक्री हुन्छन् ।” साना पाडाहरु ३० देखि ४० हजार, ठूला पाडाहरु ६० देखि ८० हजार रुपैयाँसम्म बिक्री हुन्छन् ।
माडीबाट सरदर प्रति केजी २ सयमा बेचिने पाडाको मूल्य जोमसोम पुग्दा करिब ६ सय रुपैयाँ पर्छ । “माडीमै बिक्री केन्द्रहरु सञ्चालन गर्न सके विचौलिया समस्या समाधान हुने थियो”, उनी भन्छन्, “स्थानीय तहले पनि बजारीकरणमा सहयोग गरोस् भन्ने अपेक्षा छ ।” उत्पादन लागत कम गर्न घाँस खेती, उपकरणहरुमा अनुदान, ऋण सहुलियत भएमा किसानहरु आर्कषित हुने बताउँछन् ।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले व्यवसायिक पशुपालन र व्यवयायिक कृषिलाई सहयोग गर्न थुप्रै अनुदान र ऋण सहुलियतका कार्यक्रम ल्याइएको बताउँछन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा ३ करोड ५० लाख रुपैयाँ बराबरको अनुदान दिने योजना ल्याइएको बताए । उनले ५ प्रतिशत ऋण लगानी नगरपालिकाले गरिदिने बताए । उनका अनुसार ११ करोड ५० लाख बराबरको सहुलियत ऋण लगानी हुनेछ ।
“दूध बेचेको आधारमा प्रतिलिटर ३ रुपैयाँका दरले थप अनुदान दिदैछौँ”, मेयर ढकालले भने, “कार्यविधि बन्दैछ, छिटै यो योजना लागु हुनेछ ।” दूधमा अनुदान दिन नगरपालिकाले ६० लाख रुपैयाँ बजेट छुट्याएको छ । पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने साइलेज बनाउने प्रविधि सञ्चालनको प्रक्रिया अघि बढेको छ ।
रेवा नदीले कटान गर्ने क्षेत्रमा बृहद् घाँस उत्पादन योजना कार्यान्वयनमा आउँदैछ । करिव ३ सय हेक्टर क्षेत्रमा गरिने व्यवसायीक घाँसखेतीले बाह्रैमास हरियो घाँस उपलब्ध गराउन सहज हुने जनाइएको छ । नगरपालिकाले माउन्ट अन्नपूर्ण ग्रुप प्रालिबीच सम्झौता भैसकेको गरिसकेको छ । पहिलो चरणमा वार्षिक २३ हजार मेट्रिक टन साइलेज उत्पादन हुनेछ, जसले ३ हजार गाईलाई वर्षभरि हरियो घाँस सरहको आहारा पुरा गर्नेछ ।

बसन्तपुरमा पशुपालन उत्सव
माडी बसन्तपुरमा व्यवसायिक पशुपालन उत्सव हुने भएको छ । यही २६ गते बसन्तपुरको खुल्ला चौरमा माडीका व्यवसायीक किसान, विज्ञ र सरोकारवाला निकायको बृहत जमघट हुनेछ । राष्ट्रिय व्यवसायिक पशुपालन दूध उत्पादक कृषक समाज माडी अध्यक्ष सूर्यप्रसाद भुषालका अनुसार संस्थाको वार्षिकोत्सवको अवसर पारेर उत्सव मनाउन लागिएको बताए ।
सो कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मल, कृषि तथा बन विश्वविद्यालय रामपुरका उपकुलपति डा. ईश्वरी प्रसाद ढकाल, दुग्ध विकास संस्थानका महानिर्देशक डा. ईश्वरी राज न्यौपाने, पशु सेवा विभागका क्षेत्रीय निर्देशक राम गोपाल आचार्य, पशु विज्ञ केन्द्र भरतपुरका डा. विजय श्रेष्ठ र राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका डा. कृष्णकान्त न्यौपाने लगायत सहभागि हुनेछन् । सो अवसरमा कृषि औजार तथा उपजहरुको विशेष प्रर्दशनी समेत गरिनेछ । फष्टाउँदो पशुपालनका चूनौती र सम्भावनाका बारेमा सरोकारवालाबीच छलफल कार्यक्रम समेत हुने जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट