धु्रवराज खनाल
राप्ती, २४ माघ
राप्ती नगरपालिका–१२, वाकराङका राज चेपाङले स्थानीय विद्यालयमा अध्ययन गर्दा पढाइमा खासै राम्रो नतिजा ल्याएका थिएनन् । कक्षा ३ सम्म उनले तत्कालीन राष्ट्रिय प्राथमिक विद्यालय वाकराङमा अध्ययन गरे । विद्यालय पुग्न धेरै हिड्नुपर्ने तथा घरको कमजोर आर्थिक अवस्थाका कारण पनि उनले राम्रोसँग शिक्षा हासिल गर्न सकेनन् ।

वि.सं. २०५९÷६० तिर खैरहनीका समाजसेवी किशोरकाजी ढुंगानाको नजरमा परे उनी । ढुंगानाले खैरहनीमा अन्त्योदय जनजाति आवासीय विद्यालय सञ्चालन गरेका थिए । त्यसै विद्यालयमा राजले पढ्ने मौका पाए । खाने र बस्ने सुविधा पाएपछि राज वि.सं. २०६१ मा सोही विद्यालयमा कक्षा १ मै भर्ना भए । कक्षा तीन पढिसकेका उनले राम्रो पढाइ नहुँदा यहाँ आएर पुनः कक्षा १ बाटै अध्ययन गर्नुप¥यो ।
कक्षा १ मा नवौं स्थान हासिल गरेका उनले २ कक्षामा केही प्रगति गर्दै पाँचौ स्थान ओगटे । कक्षा ३ मा भने उनी पहिलो भए । उनले त्यसपछि लगातार एसएलसीसम्म पहिलो हुँदै आफ्नो पढाइमा निखरता थपिरहे । आठ कक्षासम्म अन्त्योदय जनजाति विद्यालयमा अध्ययन गरेका उनको पढाइ देखेर वीरेन्द्रनगरको विद्या मेमोरियल बोर्डिङले निःशुल्क पढ्ने वातावरण बनायो । सोही बोर्डिङबाट उनले एसएलसी दिए । एसएलसीमा ७४.६५ प्रतिशत अंक ल्याएका उनले त्यसपछि खैरहनीस्थित भुवानीशंकर बहुमुखी क्याम्पसमा कक्षा ११ भर्ना भए । व्यवस्थापन संकाय पढेका राजले त्यहाँ ६० प्रतिशत अंक प्राप्त गरे ।
कक्षा १२ पढ्दै थिए । एचए (हेल्थ असिस्टेन्ट) पढ्ने ठूलो इच्छा थियो । यहाँ १२ कक्षा पढ्दै गर्दा केही समय निकालेर उनले छात्रवृत्ति कोटामा एचएका लागि नाम निकाले । त्यसपछि उनको पढाइ यहीं रोकियो । छात्रवृत्ति कोटामा नाम निकालेका उनले कलेज अफ एलाईड हेल्थ साईन्स नेपालगञ्ज बाँकेमा पढाइ सुरु गरे । १० जनाको कोटामा उनले पाँचौंमा नाम निकालेका थिए । नेपालगञ्जबाट एचए उत्तीर्ण गरेका उनलाई बीपीएच (ब्याचलर इन पब्लिक हेल्थ) आर्थिक अभावले रोक्यो ।
बीपीएचको तयारी कक्षा गर्नुपर्ने उनी अहिले आर्थिक स्रोत जुटाउन भौंतारिएका छन् । बुवा आमा, दाइहरु गाउँमै बस्छन् । तर, उनी अहिले खैरहनी–१, ज्यामिरे जेठी दिदीसँग बस्दै आएका छन् । “आफ्नो पढाइकै कारण छात्रवृत्ति पाउँदै एचए उत्तीर्ण गरें”, राज चेपाङ भन्छन्, “तयारी कक्षाका लागि पैसा नहुँदा भौंतारिएको छु ।” नेपालगञ्जबाटै एचए उत्तीर्ण गरेका उनका साथीहरु अहिले काठमाडांैमा तयारी कक्षा लिइरहेका छन् । “सँगै उत्तीर्ण भएका साथीहरु तयारी कक्षा लिईरहेका छन्”, राजले निराश हुँदै भने, “कतैबाट सहयोग पाए बीपीएचका लागि म पनि तयारी गर्थें ।” सहयोग पाए चितवनमै बसेर तयारी कक्षा गर्ने उनले बताएका छन् । उनका बाबु इष्टराम, आमा सीतामाया र दाइहरु गाउँमै खेतीकिसानी गर्छन् ।




