नारायणी नदी किनार सजिएको छ । चितवन महोत्सवको १२ औं संस्करण (बुधबार) देखि सुरु भयको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा महोत्सव सुरु भयको हो । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ । यसै मेसोमा कायाकैरनका विप्लव काफ्लेले महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानसँग गरेको कुराकानी ः

२०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आएको छ । यसपालि महोत्सवमा नयाँपन के–के छन् ?
यसपालिको महोत्सवमा नयाँ गतिविधि थप गरिएका छन् । परम्परागत स्टल जुन टिनले बेरेर बनाइएका हुन्थे, यसपालि आकर्षक स्टल बनाएका छौं । ‘वाटर पु्रफ’ कपडाले बेरिएका स्टल छन् । मूलद्वार नै आकर्षक छ । चितवन महोत्सव पर्यटनमय बन्दैछ । हात्ती, बाघको आकृति छन् । पृष्ठभूमिमा चितवनको जंगल छ । चितवनका सातै स्थानीय तहका मुख्य पर्यटकीय गन्तव्यका तस्विरले प्रवेशद्वार सजाइएको छ । प्रदर्शनीस्थलमा बनाइएको सचिवालयको अगाडि चितवनको नक्सा आकृतिको आकर्षक बगैंचा छ । विगतका महोत्सवमा चितवनको आर्थिक गतिविधिलाई झल्काउने गरी गैंडा, केरा, गाई दुहुँदै गरेको मूर्ति राखिएको थियो । यसपाली २०÷१० फिटको माछाको मूर्ति राखिएको छ । जसले चितवन माछापालनमा अग्रसर रहेको सन्देश दिनेछ । विदेशमा कयौं पर्यटकीय क्षेत्रमा स्थानीय भेषभुषामा सजिएर फोटो खिच्ने अवसर मिल्छ । महोत्सवमा यसपालि हामीले ४ जनजातिका भेषभुषा लगाएरै फोटो खिच्ने व्यवस्था गरेका छौं । पहिलोपटक कृत्रिम चिडियाखाना राखेका छौँ । करिब दुई दर्जन जंगली जनावरका मूर्ति हुनेछन्, जसले आफ्नो आवाज निकाल्ने छन् । विगतमा हुँदै आइरहेको बिच भलिबल (बालुवामा खेलिने भलिबल) प्रतियोगिता, डुँगादौड प्रतियोगितासहित गुजुरियो कराँते र सेपाक ताक्रो खेल समावेश गरिएका छन् । यीसबै नौलो प्रस्तुति हुन् ।
विगतमा टुरप्याकेज नै हुन्थे, यसपालि छैन । तर, पर्यटनमय भनिएको महोत्सवमा पर्यटन केन्द्रित खास गतिविधि के–के हुनेछन् ?
विगतको अनुभवले टुर प्याकेज त्यति फलदायी भएन । महोत्सव अवलोकन गर्न आएका दर्शकलाई अन्यत्रै पठाउनु त्यति राम्रो नभएको समीक्षा भए । त्यसैले टुर प्याकेज हटायौँ । तर, महोत्सव परिसरदेखि नजिकैको नगर वनसम्म जीप सफारीको व्यवस्था कायम छ । १२ जना पर्यटक एक पटकमा नगर वन घुम्न सक्नेछन् । आवश्यकताअनुसार जीप थप्ने योजना छ । विगतमा १० औँ संस्करणमा टुर प्याकेज थियो । यसपाली हामीले चितवनका ५० गन्तव्य समेटेर पर्यटन गाइडबुक नै सार्वजनिक गर्दैछौँ । अंग्रेजी र नेपाली भाषामा तयार हुने सो बुकमा सातै स्थानीय तहका मुख्य गन्तव्यको तस्विरसहित जानकारी समावेश गरिनेछ । यसले समग्र पर्यटनको विकासमा सघाउनेछ । अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउन मद्दत पुग्ने अपेक्षा लिएका छौँ । महोत्सवमा सञ्चालन हुने गोष्ठी सेमिनारमा पर्यटन क्षेत्र उच्च प्राथमिकतामा राखेका छौँ । केन्द्र तथा स्थानीय तहका विज्ञबाट पर्यटनको प्रविधि र बजारीकरणबारे बहस चलाइने छ । योजना बनाइने छ । महोत्सव परिसरमा जनजाति महासंघ चितवनको संयोजनमा नमूना घर बनाइएका छन् । दराई, बोटे, चेपाङ र मगर समुदायको परम्परागत घर बनाइएको छ । जहाँबाट रहनसहन, भेषभुषा, प्रयोग हुने भाँडावर्तन, सांस्कृतिक गतिविधिबारे जानकारी लिन सहज हुनेछ ।
महोत्सव हुँदै आएको नारायणी नदी किनारको पर्यटन विस्तार गर्न के गर्दै हुनुहुन्छ ?
उवासंघ र नदी किनारबीच भावनात्मक सम्बन्ध छ । विगतमा महोत्सवको बचत रकमको केही हिस्सा नदी किनारमा लगानी हुँदै आएको अवस्था थियो । नदी किनार केही वर्षयता निकै सजिएको छ । आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । तर, यति मात्रै पूर्ण छैन । भरतपुर महानगरपालिकाले यहाँको पर्यटन विस्तारका लागि गुरुयोजना बनाउनैपर्छ । ध्यानाकर्षण गराउँदै आइरहेका छौँ । महोत्सवको अवधिमा मोटरबोट, ¥याफ्टिङसमेत व्यवस्था मिलाएको छौँ । जसले जलयपर्यटन विस्तार गर्न सकिने सन्देश दिनेछ । देवघाटदेखि महोत्सव परिसरसम्म डुँगा दौड गर्दैछौँ । नदी किनार संरक्षण तथा विकासमा महोत्सवको केही बचत लगानी गर्ने वातावरण बनेन । ११ औं संस्करणमा काम हुन सकेन । उवासंघकै सचिवालयको खातामा रकम थन्किएको छ । करिब ६० लाख रुपैयाँ प्रयोगविहीन बन्यो । नदी किनारलाई व्यावसायिकरुपमा प्रयोग गर्नेुपर्ने छ । जसका लागि हामी तयार छौँ । तर, सकेनौँ । महानगरको अनुमति चाहिने अवस्था छ । नगर वन–गोलाघाटसम्म व्यवस्थित तटबन्धन गरेर पर्यटन गतिविधि गर्न मिल्ने क्षेत्रका रुपमा विकास गर्न सकिने अवस्था छ । त्यसका लागि राष्ट्रिय गौरवको आयोजनाका रुपमा काम सुरु गराउन आग्रह गरेका छौँ ।
परिसर विगतकै जस्तै सामान्य छन् कि केही फरकपन छ ?
मेड इन नेपाल परिसर नौलो प्रस्तुति हो । यहाँ नेपालमै उत्पादित सामग्री तथा सेवा प्रदर्शनीमा हुनेछन् । घरेलु तथा अर्गानिक उत्पादन, जुन बजारमा सजिलै पाउन मुस्किल छ । यी सबै यहाँ हुनेछ । नेपाल युवा उद्यमी मञ्च चितवनको संयोजनमा यो परिसर रहेको छ । अन्तर्राष्ट्रियस्तरका उत्पादनसँग प्रतिस्पर्धा गर्न नेपाली उत्पादन सक्षम रहेको सन्देश पुग्नेछ । बजारीकरण हुनेछ । मेड इन नेपाल, पोल्ट्री, आइटी, इलेक्ट्रोनिक्स, शैक्षिक, अटो परिसर हुनेछन् । पाकिस्तान, बंगलादेश, भारत, चीनकै व्यापारिका करिब १० स्टल रहनेछन् । ५३० बढी स्टल हुनेछन् । ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएका छौँ । करिब २५ करोडको कारोबार हुने अनुमान छ ।
अन्य संस्थालाई नै जिम्मा दिएर परिसर बुकिङ गराउँदा आयोजकलाई घाटा पर्दैन र ?
घाटा–नाफाका दृष्टिले भन्दापनि प्रवद्र्धनका दृष्टिले हेर्नुपर्छ । हामीले निर्धारण गरेको स्टल रेटभन्दा बढी लिइएको गुनासो आए हामी अवश्य निगरानी बढाउने छौँ । मेड इन नेपाल, इलेक्ट्रोनिक्स परिसरबारे यहाँको जिज्ञासा होला । काठमाडौंलगायत अन्य शहरमा मेड इन नेपाल एक्स्पो गरेको अनुभव संगालेका युवा उद्यमीलाई चितवनमै एक्स्पो गराउन प्रोत्साहन दिन यो मौका दिएका हौँ । जसले उहाँहरुले नेपाली उद्यमीहरुलाई एकीकृत गर्न सघाउनुभएको छ । संस्थालाई नै जिम्मा दिदा आयोजकलाई व्यवस्थापन र समन्वयमा सहज हुने भएकाले त्यसो गरिएको हो ।
विगतमा बालउद्यान निकै विवादित बन्यो, स्थगित नै भयो । यसपालि बालउद्यानलाई फनपार्कका रुपमा चलाइँदै छ । बाध्यता हो या आवश्यकता ?
यो हाम्रो रहर होइन । गत महोत्सवमा दर्शकले दिएको ‘फिडब्याक’ का आधारमा परिमार्जन गरेका हौँ । आयोजको बैठकले सहमतिमै फनपार्क सञ्चालन गर्ने निर्णय गरेको हो । मौतका कुवा जस्ता ध्वनी प्रदूषण गर्ने खेलसामग्री हटाएका छौँ । विगतमा बालउद्यान विदेशीले चलाउँथे । यसपालि स्वदेशी कम्पनीलाई जिम्मा दिएका छौँ । फनपार्क र कृत्रिम चिडियाखानाका लागि काठ्माडौंको राजधानी अमिजमेण्ट राइट्स प्रालिलाई ७० लाखमा सम्झौता गरेर दिएका छौँ । बालउद्यान होइन, फनपार्क हुनेछ । विगतमा करिब २३ लाखमा सम्झौता भएर बालउद्यान स्थगित हुन पुगेको थियो । चिडियाखाना र फनपार्क अलग अलग ठाउँमा हुनेछ । जहाँ बच्चादेखि प्रौढ रमाउन सक्नेछन् ।
चितवन महोत्सव सधैं नदी किनारमै हुदै आएको छ । चितवन प्रर्दशनी केन्द्र बन्यो । तर, महोत्सव सधैं टेण्ट मुनि नै ?
धेरैको यो जिज्ञासा हुने गर्छ । चितवन महोत्सवमा धेरै स्टल हुन्छन् । सांस्कृतिक कार्यक्रम, पार्किङ, रेष्टुरेण्ट परिसर आदिले नदी किनारजस्तो खुल्ला ठाउँ अन्यत्र छैन । यातायातको सहज पहुँच भएको क्षेत्र पनि हो । बन्द कोठाभित्र महोत्सव गर्न सकिने अवस्था छैन । विविधता छ । महोत्सव गर्न मिल्ने अन्यत्र हालसम्म संरचना नै बनेको छैन । यो हाम्रो बाध्यता हो । शोभायात्रामा उत्साहजनक सहभागिताले चितवनकै अपनत्वको महोत्सवका रुपमा स्थापित गर्छ । चितवनको शान हो । यहीबेला अन्यत्र मेला महोत्सव हुँदै आएपनि यहाँ दर्शकको कमी हँुदैन ।





