चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सव सफलतापूर्वक १२ औं संस्करणमा आइपुगेको छ । वि.सं २०५३ सालमा पहिलोपटक आयोजना गरिएको चितवन महोत्सवले त्यसपछि प्रत्येक दुई वर्षको अन्तरालमा आफ्नो यात्रालाई निरन्तरता दिँदै आएको छ । उद्योग वाणिज्य संघ–चितवनका तत्कालीन अध्यक्ष देशीराम प्रधानले कल्पना गरेको चितवन महोत्सवले त्यसयता आफ्नो निरन्तरको यात्रा मात्र तय गरेन, साथथमा देशभरि नै महोत्सवको संस्कार सुरु ग¥यो । उद्योग वाणिज्य संघ–चितवनका तत्कालीन अध्यक्ष देशीराम प्रधानका अनुसार चितवन महोत्सवको सुरुआती परिकल्पना स्थानीय निकाय र उद्योग वाणिज्य संघबीचको चिसो सम्बन्धलाई नयाँ आयामसहित सुदृढीकरणका लागि गरिएको थियो ।
“त्यो समयमा हामी व्यापार गर्नेहरुलाई सहज वातावरण थिएन, उद्योग वाणिज्य संघमा आइपर्ने सानाठूला समस्या समाधान गर्न पनि स्थानीय निकाय तथा सरकारी कार्यालयमा निकै हण्डर खानुपर्ने अवस्था थियो”, उवासंघका तत्कालीन अध्यक्ष एवं पहिलो चितवन महोत्सवका संयोजक प्रधानले सम्झदैं भने, “सार्वजनिक–निजी साझेदारी कार्यक्रमको अवधारणा सुरु हुँदै थियो, हामीले तत्कालीन भरतपुर नगरपालिका र जिल्ला विकास समितिसँग समन्वय गरेर केही गर्न सक्छौं कि भन्ने सोच आयो ।” त्यो समयमा जिल्ला विकास समितिका सभापति कृष्णलाल सापकोटा र भरतपुर नगरपालिकाका प्रमुख मुक्तिलाल चुकेसँग व्यावसायिक र व्यक्तिगत सम्बन्धसमेत राम्रो रहेकाले कार्यक्रम तय गर्न सजिलो भएको उनले बताए ।
स्थापित व्यवसायीलाई स्थानीय निकायसँगको परिचयात्मक पहल, नयाँ व्यवसाय सुरु गर्दै गरेका साना उद्यमीलाई समेत प्रोत्साहन र चितवनको चिनारीलाई देशभर फैलाउने संकल्पका साथ सुरु भयो पहिलो चितवन महोत्सव । नारायणगढको क्याम्पाचौरमा पुस ११ देखि १५ गतेसम्म पहिलो चितवन महोत्सव आयोजना गरियो । आयोजकमा उद्योग वाणिज्य संघ–चितवन, भरतपुर नगरपालिका र जिल्ला विकास समिति रहे । सो समय स्वर्गीय राजा वीरेन्द्रको जन्मोत्सवको मिति पुस १४ गते पारेर आयोजना गरिएको महोत्सवको चर्चा देशभर नै भयो । चाडपर्व, माघे संक्रान्तीजस्ता अवसरमा सीमित मेलाको स्वरुप परिवर्तन गर्दै महोत्सवको संस्कार सुरु गर्न चितवन महोत्सव सफल बन्यो ।
“एकै ठाउँमा धेरै जना अटाउन सक्ने खुला चौरको खोजी गर्दा क्याम्पाचौर नै उत्तम विकल्प लाग्यो”, प्रधानले भने, “एक सय १४ वटा व्यवसायीक स्टल समावेश गर्न हामी सफल भएका थियौं ।” पहिलो चितवन महोत्सवमा कृषि, हस्तकलाका सामग्री, गार्मेन्ट, खाद्यान्न गरी फरक–फरक प्रकारका स्टलहरु राखिए । लोकदोहोरी कार्यक्रम, जनजातिको पहिचान झल्कने सांस्कृतिक प्रस्तुति, लिंगेपिङ, जाँते पिङ र रोटे पिङमा रमाउन अवलोकनकर्ताको उपस्थितिसमेत उत्साहजनक रह्यो ।
पहिलो चितवन महोत्सवमा सहभागी गराउन महिला उद्यमीलाई खोजी–खोजी ल्याउनुपरेको उनले स्मरण गरे । त्यो समयमा सौराहाबाट काठमाडौंका लागि छुटेको बसका यात्रुलाई महोत्सव अवलोकन गराउने गरी रुटसमेत व्यवस्थापन गरिएको थियो । जसले गर्दा महोत्सवको प्रचारप्रसार अरु जिल्लामा पनि गर्न सकियो ।
पर्यटकलाई सांस्कृतिक कार्यक्रम र पिङको आकर्षणबाहेक अन्य गतिविधि बढाउने सोचसँगै २०५५ सालमा दोस्रो संस्करणको महोत्सव चितवन महोत्सवमा नारायणी नदी किनारमा नौका विहार कार्यक्रम समावेश गरीयो ।
वि.सं. २०५५ मा रत्ननगर नगरपालिका बन्यो र सँगै स्थापना भयो, रत्ननगर उद्योग वाणिज्य संघ । र चितवन महोत्सवको आयोजकमा थपिए थप दुई निकाय । चितवन महोत्सव चितवनको मात्र नभई देशकै गरिमाका रुपमा रहेको र देशका प्रमुख व्यक्तिहरु नै उद्घाटनका लागि आउने गरेको इतिहासबारे वि.सं. २०५७ का मूल आयोजक समिति संयोजक प्रचण्डलाल प्रधानले बताए । २०५७ सालको चितवन महोत्सव उद्घाटनका लागि तत्कालीन युवराजधिराज दीपेन्द्र आएका थिए । पहिलो, दोस्रो र तेस्रो संस्करणका चितवन महोत्सव लगातार क्याम्पाचौरमा नै आयोजना गरिए ।
त्यो समयमा नारायणी नदी किनारको ढुंगे बगरमा फोहरको डंगुरबाहेक केही थिएन । तर, नदीमा नौका विहार गर्दा पर्यटकले देखाएको चासोले नारायणी नदी र नदी किनारकै उचित संरक्षण र सम्वद्र्धनको सोच आएको २०५७ सालको महोत्सवका मूल संयोजक प्रधानले बताए । तेस्रो चितवन महोत्सवको खर्च कटाएर रहेको रकमले नारायणी नदी किनारमा सरसफाइ गरियो ।
भरतपुर नगरपालिकाले एसियाली डेभलपमेन्ट बैंकबाट लोन लिएर बगरलाई सम्याउने र प्रदर्शनीका लागि सहजस्थल बनाउने काम भए । त्यसपछि वि.सं. २०५९ सालको चितवन महोत्सव नारायणी नदी किनारमा पहिलो पटक आयोजना गरियो । त्यसपछिका हरेक चितवन महोत्सवबाट नदी किनारको संरक्षण र सम्वद्र्धनका लागि रकम छुट्याउन थालियो ।
हालसम्म पनि त्यो रकम बैंकमा जम्मा हुँदै आएको छ । सार्वजनिक–निजी साझेदारी कार्यक्रमको विकसित परिस्कृत रुप दिदैं नारायणी नदी किनारको बहुउपयोग गर्न गुरुयोजना समेत बन्यो । तर अझैपनि गुरुयोजनाअनुसार काम भने हुन सकिरहेको छैन ।
चितवन महोत्सवको मूल उद्देश्य नै सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई प्रवद्र्धन गर्नु रहेको थियो । चितवनको उत्पादन, चितवनको कला र सांस्कृतिक सम्मीश्रणको प्रचारकै कारण सबैले चितवनलबारे सहज जानकारी पाउने वातावरण बनेको थियो । तर, पछिल्लो समय महोत्सव व्यावसायिक हिसाबले मात्र अघि बढेको आभाष भएको महोत्सवका परिकल्पनाकारको बुझाइ छ ।
“हामीले उद्यम र उद्यमीको विकाससँगै चितवनकै गरिमाको प्रदर्शनीमा जोड दियौं”, तेस्रो महोत्सवका संयोजक प्रचण्डलाल प्रधानले भने, “अहिले व्यावसायिक भयो ।” एकै प्रकारका उद्योगहरुको धेरै स्टल, मौलिक प्रकारका उद्यमलाई भन्दा व्यावसायिक प्रचारबाजीमा जोड हुन थालेका छन् । गाउँ–गाउँबाट उद्यमीलाई ल्याउन र उनीहरुको उत्पादनमा बजारीकरणमा पछिल्ला आयोजकहरु चुकेको उनले टिप्पणी गरे ।






