
प्रमिता ढकाल
भरतपुर, २८ पुस
चितवनका सामुदायिक (सरकारी) विद्यालय संख्या संस्थागत (बोर्डिङ)को तुलनामा धेरै छन् । तर, त्यसको उल्टो विद्यार्थी संख्या भने संस्थागतमा धेरै छन् । त्यसमा पनि तथ्यांक यस्तो देखिन्छ कि, सानो कक्षामा अंग्रेजी सिकाउन संस्थागत विद्यालय रोज्ने अभिभावकले ठूलो कक्षामा पछि पाइने छात्रवृत्ति आशले सामुदायिक सारेका छन् ।
जिल्लामा संस्थागत विद्यालयमा ९३ हजार २ सय २१ विद्यार्थी अध्ययन गरिरहेका छन् भने सामुदायिक विद्यालयमा ८७ हजार ६ सय २२ विद्यार्थी अध्ययन गरिरहेका छन् । जिल्लामा सामुदायिकतर्फ कूल ३ सय ५१ विद्यालय छन् भने संस्थागततर्फ जम्मा एक सय ७१ मात्र विद्यालय छन् ।
संस्थागत विद्यालयमा पूर्व प्राथमिक तह र प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थी धेरै छन् । संस्थागत विद्यालयमा पूर्व प्राथमिक तह अध्ययन गर्ने विद्यार्थी १६ हजार २ सय ३५ जना रहेकोमा सोही तहमा सामुदायिक विद्यालयमा भने ९ हजार ९ सय ३२ मात्र छन् । पूर्व प्राथमिक तह अध्यापन गराउने सामुदायिक विद्यालय संख्या ५ सय ६१ हुँदा संस्थागत एक सय ५१ छन् ।
आधारभूत तह एकदेखि पाँच कक्षासम्म संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या ३७ हजार ३ सय ६० रहेकोमा सोही तहमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी ३१ हजार ८ सय ११ छ । प्राथमिक तह अध्यापन गराउने सामुदायिक विद्यालय एक सय ८६ हुँदा संस्थागत विद्यालय संख्या २४ मात्रै छन् ।
यद्यपि आधारभूत तह (६ देखि ८)मा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या बढी देखिएको छ । शिक्षा विकास समन्वय इकाईका प्रमुख दीपेन्द्र सुवेदीका अनुसार यो तहमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या २१ हजार ९ सय ९ छ । सोही तहमा संस्थागत विद्यालयमा भने १८ हजार ६ सय ६५ जना छन् । आधारभूत तह अध्यापन गराउने सामुदायिक विद्यालय ७५ वटा छन् भने संस्थागत विद्यालय २६ वटा छन् ।
माध्यमिक तहको ९ र १० मा सामुदायिकमा १४ हजार ६ सय ७१ विद्यार्थी हुँदा संस्थागत विद्यालयमा १० हजार ६ सय ३७ छन् । यद्यपि तत्थ्यांक हेर्ने हो भने यो तहमा अध्यापन गराउने संस्थागत विद्यालय बढी छन् । यो तहमा अध्यापन गराउने सामुदायिक विद्यालय ५२ वटा छन् भने संस्थागत एक सय २ छन् ।
माध्यमिक तहकै ११ र १२ मा पुगेपछि फेरि आकर्षण फेरिएको देखिन्छ । उच्च माध्यमिक भनी चिनिएको ११ र १२ मा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या फेरि संस्थागत भन्दा कम छ । ११ र १२ मा संस्थागत विद्यालय जाने विद्यार्थीको संख्या १० हजार ३ सय २४ हुँदा सामुदायिकमा ९ हजार २ सय ९९ छन् । यो तहमा अध्यापन गराउने सामुदायिक विद्यालय ४६ र संस्थागत १९ छन् ।
चितवन महोत्सवअन्तर्गत आयोजना गरिएको ‘चितवनको समग्र शैक्षिक परिदृष्य’ विषयक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षा विकास समन्वय इकाईका प्रमुख सुवेदीले संस्थागत विद्यालयमा अभिभावकको आकर्षण देखिएको बताए । प्राथमिक तहमा अंग्रेजी राम्रो बनाउन भन्दै संस्थागत विद्यालयमा जाने परिपाटी रहेको उनको ठम्याई छ । यद्यपि सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाइ हुने गरेको उनले बताए ।
एसईईसम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले त्यसमाथि पाउने विविध छात्रवृत्ति एवं रोजगारीका अवसरको आकर्षणले सामुदायिक विद्यालयमा चाप बढेको हो । जिल्लामा सामुदायिक सिकाइ केन्द्र ३३, स्रोतकेन्द्र १३, धार्मिक विद्यालय ६, खुला विद्यालय (माध्यमिक तहको) १ र स्रोत शिक्षा कक्षा (अपाङ्गता, सुस्तमनस्थिति विद्यार्थीका लागि) सञ्चालन गर्ने विद्यालय १२ वटा छन् । २०६८ सालको जनगणनाअनुसार जिल्लाको कूल जनसंख्यामध्ये साक्षरता प्रतिशत ९७.५ छ ।
गोष्ठीमा अक्सफर्ड कलेज गैंडाकोटका प्रिन्सिपल ईञ्जिनियर हरि भण्डारीले उच्च शिक्षाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । नेपालमा बजार लक्षित शिक्षा व्यवस्थाको आवश्यकता उनले औंल्याए । राजनीतिबाट शिक्षा मुक्त नहुँदासम्म स्वदेशमा विद्यार्थीलाई टिकाउन अप्ठ्यारो रहेको उनको ठम्याइ छ । यसवर्ष मात्र ९० हजार विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जान आवेदन दिएको अवस्थाबारे उनले जानकारी गराए ।
कम्तीमा पनि नेपालमा नै पढाइ हुने विषय पढ्न विदेश जाने विद्यार्थीलाई रोक्न सक्ने नियम लागू गर्नुपर्ने उनले तर्क गरे । कार्यक्रममा प्रदेश सांसद् विजय सुवेदीले देशको शिक्षा व्यवस्था सुधार्न सरकार सचेत रहेको बताएका छन् । देशको समृद्धिको खाका कोर्दै गर्दा शिक्षा र शिक्षाको गुणस्तर विकास प्राथमिकतामा रहेको उनको भनाइ छ । कार्यक्रम सेमिनार गोष्ठी व्यवस्थापन समिति संयोजक यमबहादुर विकेको संयोजनमा भएको हो ।





