स्थानीय तह निर्वाचन–२०७४ को पहिलो चरणअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनामा देखिएको विवाद अत्यन्तै अप्रजातान्त्रिक र मतपत्र कब्जा गर्ने बदनियतबाट प्रेरित देखिन्छ । यो गतिविधि अराजकताको पराकाष्ठा हो । जनताले व्यक्त गरेको जनादेशलाई स्वीकार गर्न नसक्नेले हार टार्ने नियतले गरेको हर्कतको रुपमा लिदै यसमा प्रत्यक्षरुपमा संलग्नको यथार्थ खोजी गरी कारबाही गर्न आवश्यक छ । निर्वाचनजस्तो प्रजातान्त्रिक प्रक्रियामा सहभागी भइसकेपछि यसको नतिजालाई स्वभाविकरुपमा लिन नसक्नेहरुले गैरराजनीतिक र अपराधिक चरित्र देखाएका छन् । निर्वाचन आयोगले पनि यो हर्कतको छानविन गर्नका लागि टोली खटाइसकेको छ । आशा गरौं, निष्पक्ष छानविन गरी जनताको जनमतमा कुनै प्रभाव नपर्ने गरी अहिलेको विवादको समाधान निकाल्ने सही बाटो यो टोलीले तय गर्नेछ ।
भरतपुर महानगरमा २९ वडा छन् । जसमा स्थानीय तह निर्वाचनमा १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । २७ वटा वडाको मतगणना सकेर अन्तिम २ वडाको मतगणना कार्य जारी रहँदा आइतबार मध्यराति मतपत्र च्यातिएको हो । निर्वाचनमा मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेस–माओवादी केन्द्रको तालमेलबाट माओवादी नेता रेणु दाहाल र नेकपा एमालेका तर्फबाट देवी ज्ञवाली चुनावी मैदानमा छन् । अनौठो पाराले उनीहरुले प्राप्त गरेको मत अन्तिम समयसम्म पनि प्रतिस्पर्धात्मक देखिएको छ । अन्तिम समयसम्म पनि कसले जित्ने होला भनेर सहजै अनुमान गर्न गाह्रो अवस्थामा पुगेको छ । स्वाभाविकरुपमा जनताले आफ्नो विचारले व्यक्त गरेको मत बाहिरबाट थाहा हुँदैन । मतपेटिकाभित्र जनताले नितान्त व्यक्तिगत निर्णयमा व्यक्त गरेको मतलाई स्वीकार्ने सर्तमा नै उम्मेद्वारहरु निर्वाचनमा होमिएका हुन्छन् । तर, जब आफ्नो पक्षमा माहोल बन्दैन वा नतिजा आउने छाँट देखिदैन अनि त्यो पक्ष आक्रोसित बन्ने, राजनीतिक संस्कार गुमाउने, अस्वाभाविक र अपराधिक प्रतिक्रिया जनाउने गर्नाले कहिल्यै पनि लोकतन्त्र बलियो बनाउँदैन ।
मतपत्र लुटिनु, जलाउनु, च्यात्नु वा दम्पच बनाउनु सबै गैरकानूनी काम हो । यसमा जोसुकै सहभागी हुन सक्छ । अहिले प्रहरीले दुईजनालाई च्यातेको आरोपमा पक्राउ गरेको छ । छानविनको लागि टोली पनि चितवन आएर खट्न थालिसकेको छ । यो टोलीले नै भन्नेछ कि ती दुई सहभागी हुन् कि होइनन्, हुन् भने कति हदसम्म सहभागी हुन्, अरु सहभागी भए को–को छन् । निर्वाचन कसुरसम्बन्धी ऐनले पनि यस्ता हर्कत गर्नेलाई के कारबाही गर्ने भनेर स्पष्ट गरेकै छ । त्यहीअनुसार कारबाही हुनेछ भन्ने विश्वास पनि गरौं । तर, यस्ता हर्कत भने मूल राजनीतिक पार्टीहरुलाई सुहाउने हुँदै होइन । निर्वाचन प्रणालीमा विश्वास गर्ने जुनसुकै पार्टीले पनि यसको नतिजालाई स्वीकार गर्न सक्नुपर्छ । आज एउटाले मतपत च्याते भोलि फेरि अर्को पक्षले पनि च्यात्न सक्छ । यसरी यो प्रक्रिया अनन्तसम्म जानसक्छ । त्यसो त आज च्यात्नेलाई कडा कारबाही भएन भने भोलि फेरि यस्तै गैरराजनीतिक गतिविधि गर्नेहरु हौसिने छन् । त्यसैले यो हर्कत गर्न जो–जो सहभागी छन् खोजी गरी कारबाही गर्न जरुरी छ ।





