चितवन, १५ असार ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा ४.० जिपिए प्राप्त गर्ने ७६ जना विद्यार्थीलाई सम्मान गरेको छ ।
आइतबार आयोजित सम्मान समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ लिटिल फ्लावर स्कुल, अङ्कुरम् एकेडेमी र पोलार स्टार इङ्ग्लिस स्कुल सम्मानित भएका छन् ।
त्यसैगरी, विद्यार्थी संख्या मापदण्डभन्दा कम भए पनि शतप्रतिशत नतिजा ल्याएको भन्दै न्यू चित्रवन इङ्ग्लिस स्कुल (भरतपुर–१८) र प्रगति शिक्षा सदन (कुरिनटार) लाई विशेष सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा ४.० जिपिए प्राप्त गरेका ७६ जना विद्यार्थीलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानितमध्ये दुई जनाले पुनर्योगमार्फत ४.० जिपिए हासिल गरेका थिए ।
यस अवसरमा अवकाशमा जान लागेका प्रमुख अतिथिलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले गरेका थिए भने सञ्चालन प्याब्सन चितवनका सचिव दयानिधि अर्यालले गरेका थिए ।





