कृष्ण विश्वकर्माको जन्म चितवनको कल्याणपुरमा वि. सं. २०३३ सालमा भएको हो । स्नातक सम्मको अध्ययन गरेका विश्वकर्मा गीत, गजल, कविता लेखन र गायनमा विशेष रुचि राख्छन् । उनले छिट्टै नै `भोकको लय´ कविता कृति प्रकाशन गर्दैछन् । रोजगारीको सिलसिलामा संयुक्तअरब इमिरेट्समा बस्दै आएका विश्वकर्मा सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् । प्रतिष्ठानले गत कात्तिकमा चितवनमा गजल सम्बन्धि बृहत् कार्यक्रम पनि गर्यो । उनी सिर्जना वाचन डबली, यूएईका संस्थापक सदस्य हुन् । सिर्जना वाचन डबलीमा रोजगारीको सिलसिलामा संयुक्तअरब इमिरेट्समा रहेका विश्वकर्मा जस्तै सिर्जनशील नेपाली युवाहरु आवद्ध छन् । उनी विश्वकर्मा समाज नेपाल यूएईका सल्लाहकार पनि हुन् ।
उनमा साहित्यको रस विद्यार्थी काल देखिनै बसेको हो । जानी नजानी लेख्न शुरु गरेका उनले साहित्य साधना नगरी लेख्न सकिने वस्तु होइन रहेछ भन्छन् । कविता लेखनबाट पनि रुपान्तरण ल्याउन सकिने कुरामा विश्वस्त उनी कवितामा प्रेम, राष्ट्र , राष्ट्रियता प्रकृति भन्दा बेसी किनाराकृत समुदायको आवाज घनात्मक रुपमा बुलन्द गर्न अत्यधिक मन पराउँछन् । देशमा रहँदा अध्यापन क्षेत्रमा लगभग एक दशक बिताएका उनी रोजगारीकै क्रममा खाडीमा बस्न लागेको पनि तेह्र वर्ष भयो । उनीसँग कायाकैरनका लागि लेखराम सापकोटा र विजय विश्वकर्माले कुराकानी गरेका छन् :

परदेशमा हुनुहुन्छ, आधाभन्दा बढी समय काम धन्दामै सकिन्छ होला । लेख्ने र पढ्ने समय कसरी मिलाउनुहुन्छ ?
भन्न त ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उक्ति नै छ । तथापि प्रवासको यन्त्रवत कार्यशैलीभित्र रहेर लेख्ने र पढ्ने रहरलाई निरन्तरता दिन भने सोचेजस्तो सजिलो छैन । १२÷१३ घन्टा कार्यस्थलमै बित्छ । र पनि पढ्ने–लेख्ने इच्छाशक्ति भएपछि जसरी पनि पढिदोरहेछ । लेखिदोरहेछ । प्रायः कार्यस्थल पुग्न गाडीले एक घन्टा लगाउँछ । त्यो एक घन्टाको समयलाई मैले सदुपयोग गर्दै आएको छु । लेख्ने–पढ्ने समय उति व्यवस्थित त हुँदैन प्रवासीलाई र पनि पढ्ने–लेख्ने लत बसेपछि समय अलि–अलि गरेर व्यवस्थापन हुँदै जाँदो रहेछ ।
पढ्न बस्दा होस् या लेख्दा तपाईंको ज्यादा रुचि कुन विधामा छ ?
विशेषतः म कविताको एक साधक भएकोले मेरो पहिलो रुचि नै कविता विधामा हुन्छ । कविताभित्र पनि सबाल्टर्न सौन्दर्य मूल्यमा कुँदिएका कविता अत्यधिक मन पर्छन् । हरेक अग्रज, समकालीन अनि अनुजहरुका कविता पढिरहेको हुन्छु । मलाई आख्यान, कथा, विश्लेषणात्मक लेख तथा इतिहास पढ्न र गजल लेख्न, पढ्न पनि उत्तिकै मन पर्छ । तर, कवितामा मेरो जति सघन मोह छ, अरुमा कम नै छ ।
सामाजिक सञ्जालमा कवितामार्फत तपाईंको उपस्थिति बाक्लै देखिन्छ । तपाईंका सिर्जनालाई पछ्याउनेको संख्या पनि उल्लेख्य छ । खासमा आफ्नो लेखनीबाट कत्तिको सन्तुष्टि मिलेको छ यहाँलाई ?
हामी एक्काइसौं शताब्दीको सबैभन्दा भाग्यमानी पुस्ता रहेछौं । मार्क जुकरवर्गले फेसबुकको स्थापना गरिदिएपछि हरेक साहित्यकर्मीहरुले आफ्नो सिर्जना विश्वका समस्त पाठकमाझ सहजै पु¥याउन सजिलो भएको छ । यसकै कारण लेख्न र पढ्न रुचाउने सर्जक–स्रष्टा अनि पाठक पनि अनपेक्षित वृद्धि हुँदै आइरहेका छन् । यसैको सकारात्मक परिणति हो मेरो कविता साधनाभित्रको प्रचुरता । अनि मेरा कवितालाई पढ्न रुचाउने प्रिय पाठक तथा भावकहरुको बाक्लो उपस्थिति । विभिन्न कोणबाट हामीजस्ता पहुँच नभएका साहित्य साधकलाई फेसबुकले यति ठूलो विश्वव्यापी प्लेटफर्म दियो कि, मलाई लाग्छ अब लेख्न चाहनेहरुले प्रज्ञा, साझा प्रकाशन वा अन्य यस्तै कुनै प्रकाशनगृह वा छापाखाना धाइरहनुपर्ने वाध्यात्मक परिस्थिति नै छैन । कुनैपनि सर्जकले आफ्नो सन्तुष्टिको लागि सिर्जना गर्छ भन्ने पुरातन मान्यता छ । अझ भनु विश्वव्यापी मान्यता छ । मेरो अलि फरक धारणा छ । म कुनैपनि सिर्जना आत्मसन्तुष्टिको लागि मात्रै लेख्दिनँ । मेरो सिर्जना समाज रुपान्तरणको एउटा संवाहक बनोस् भन्ने लाग्छ ।
कुनैपनि विषयवस्तुको छनोटपछि लेख्न बस्नुहुन्छ कि बसेर कल्पनामा लेख्नुहुन्छ ?
योजना बनाएर म विरलै लेख्न बस्छु । केही लेख्नको लागि मलाई कुनै विषयवस्तु फुर्नुपर्छ । फुरेका विषयको मूलभूत बुँदा टिपोट गर्छु र पछि त्यसलाई आवश्यक पर्ने साहित्यिक तत्वहरु जस्तैः विचार, मुद्दा शिल्प, कला, बिम्व, उपमा, प्रतीक आदिको संयोजन गरेर लेख्छु । यसरी भन्दा कुनैपनि विषय कुनैपनि समय फु¥यो भने म त्यसलाई तत्कालै कुनै एक टुक्रा पानामा टिपोट गर्छु अनि फुर्सदलो समयमा लेख्छु । म स्वैरकाल्पनिक विषयवस्तुभन्दा तथ्यपरक विषयवस्तुमा लेख्न वेशी मन पराउँछु । त्यसैले मेरा सिर्जनामा स्वैरकल्पनाको स्थान निकै न्यून छन् । समग्रमा भन्दा फुरेको विषयवस्तुको छनौटपछि नै लेख्न बस्छु ।
आफ्नो लेखनी कुनै लोकप्रिय लेखकको धारसँग मिल्दोजुल्दो छ जस्तो अनुभूति भएको छ ?
साहित्य विधामा नलेखिएका विषयवस्तु छैनन् होला । यसर्थमा धेरथोर प्रभाव हरेकजसो अग्रजहरुका सिर्जनाबाट पर्छन् नै । मोहन कोइरालालगायत केही अग्रजहरुले सुरुआत गरेका प्रयोगवादी धार, वैरागी काइँला र ईश्वर वल्लभले सुरुआत गरेका आयामेली धार र यी दुईभन्दा अलि भिन्नै धार नवपुस्ताका प्रयोगशील कविहरुका कवितामा पनि पाइन्छ्न् । यी धारहरुका बीचमा म कहाँनिर छु भन्ने कुरा आफैले भन्नुभन्दा मेरा सिर्जनामार्फत मेरा आदरणीय पाठकहरुले एकदिन मूल्यांकन गरिदिनुहुनेछ भन्ने अपेक्षामा छु । प्रायः कविहरु समग्रतालाई समेटेर आफ्नो सिर्जना पस्किरहेका हुन्छन् । त्यसैले पनि कुनै एक लेखकको लेखनीबाट मात्रै प्रभावित भइरहन नसकिने हुँदोरहेछ जस्तो लाग्छ । जस्तो कि अग्रज प्राज्ञ कवि श्रवण मुकारुङको ‘विसे नगर्ची’को बयानले मन मस्तिष्क अझैपनि हल्लाइरहन्छ । यसको प्रभाव मेरो लेखनीको एउटा विशिष्ट ऊर्जा मान्छु अझैपनि । बाँकी तपसिल लाग्छन् । हुन त विकसित कुनैपनि धार कुनैपनि लेखकको निजत्वभित्र कैद भई रहदैन । कुनैपनि लेखकले कुनै एक धारलाई आत्मसात गरेर आफ्नो सिर्जना पस्किरहने लेखक वा कवि औंलामा गन्न सकिन्छन् । तिनैमध्येका एक हुनुनुन्छ आहूती । उहाँको ‘गहुँगोरो अफ्रिका’को प्रभाव ममा सबैभन्दा सघन छ ।
कविता, गजल या निबन्ध के लेख्दा आनन्द आउँछ तपाईंलाई ?
मेरो लेखनीको मूल विधा कविता नै भएकोले कविता लेख्दा जस्तो चरमोत्कर्षको आनन्द तुलनात्मकरुपमा अरु विधाबाट पाउदिनँ । निबन्ध त मैले प्रायः विरलै लेखेको छु । तर, गजल भने कविताकै हाराहारीमा लेखेको छु । म गाउन अति नै शौख राख्ने हुँदा आफैले लेखेका गजलहरु तरन्नुम शैलीमा गाउन बडो मन पर्छ । एक अर्थमा गजलले मेरो स्वर साधनालाई पनि टेवा दिने हुनाले गजल लेख्दा पनि आनन्द नै अनुभूत गर्छु । तर, बढी सन्तुष्टि र आनन्द कविताले दिदै आएको छ । अरु विधाले यो सीमा उछिन्न सकेको छैन ।
कृति कहिले निकाल्ने तयारी गरिरहनुभएको छ ?
यो प्रश्नले बल्ल मलाई निकै आनन्दित बनायो । लामो समयको अध्ययन र साधनापछि मेरो पहिलो कविता कृति ‘भोकको लय’ यथाशीघ्र बजारमा आउने तयारीमा छ । यो कृतिमा मेरा ५१ वटा कविता संग्रहित हुनेछन् । सम्भवतः बुलबुल पब्लिकेसनमार्फत जतिसक्दो छिटो बाहिर ल्याउने भित्री तयारी भइरहेको छ । २०७५ सालभित्र नै विमोचन गर्ने लक्ष्यका साथ प्रकाशनगृहले काम गरिरहेको छ ।
लेखनमार्फत राजनीतिक टिप्पणी गर्न कत्तिको मन पराउनुहुन्छ ?
चाहेर वा नचाहेर कुनैपनि मानव जाति राजनीतिबाट विमुख रहन सक्दैन । आफ्नै छायाँ पनि मन पराउने वा मन नपराउनेहरु हुन सक्छन् । कसैले आफ्नै छायाँ मन पराउन् वा नपराउन् छायाँ सदैव अभिन्न अंग झै नै रहेको हुन्छ । राजनीति पनि एक किसिमले मानव जीवनमा छायाँजस्तै प्रतिबिम्व हो । राजनीति, समाज रुपान्तरणमा सधैं अहं भूमिका निर्वाह गर्ने मुख्यस्रोत हो । त्यसैले प्रगतिशील विचारधाराबाट अभिप्रेरित जोकोही पनि सकारात्मक सन्देश प्रवाह गर्न, जागरुकता ल्याउन, विसंगति, विभेद र बेथितिप्रति राज्य संयन्त्रलाई झक्झकाउन लेखनमार्फत राजनीतिक टिप्पणी गर्न म मन पराउँछु । टिप्पणीले ल्याउने तात्विक असर वा भिन्नता अलग कुरा हुन् तर एक सचेत लेखक वा साहित्यकर्मीको नैतिक दायित्वकै रुपमा पनि गर्नु पर्छ, गरिरहनु पर्छ भन्ने मान्यता राख्छु ।
अरुका सिर्जना कत्तिको पढ्ने गर्नुभएको छ ?
अध्ययनविनाको लेखन अर्थपूर्ण हुँदैन । जति म लेखिरहेको हुन्छु, त्योभन्दा वेशी अध्ययनमा व्यतित भएको हुन्छ । सबै–सबै अग्रजका सिर्जना पढिरहेको हुन्छु । त्यसबाट केही न केही महत्वपूर्ण मार्गदर्शन पनि पाइरहेको हुन्छु ।
मन परेको लेखकको सिर्जनाको अभिव्यक्ति आफ्नो सिर्जनामा पनि मिसाउनुहुन्छ ?
आफूलाई मन परेका लेखकको सिर्जनाबाट सिक्ने कुराहरु प्रशस्त हुन्छ्न् । तर, उहाँहरुको सिर्जनाको अभिव्यक्ति आफ्नो सिर्जनामा राख्ने चाह भने हुँदैन । कुनैपनि विश्लेषणात्मक लेखमा कुनै अभिव्यक्ति उध्दृत गर्नु अर्को कुरा हो । तर, कवितामा आफ्नो प्रिय लेखकको सिर्जनाको अभिव्यक्ति मिश्रण गर्ने चाह राख्नु पनि उसको आफ्नै निजत्वको अपहरण गर्नु हो भन्ने लाग्छ ।
प्रवासमा बसेर साहित्यको खेती गरिरहनुभएको छ । समग्रमा प्रवासको साहित्यिक गतिविधि कस्तो छ ?
जब आफ्नो देशबाट भौतिकरुपमा टाढा भइन्छ, तब देशको माया मन–मस्तिष्कमा झन्–झन् सघन भएर आउँदो रहेछ । एक किसिमले हरेक प्रवासीको मुटुमा हरेक क्षण देश दुखिरहेको हुन्छ । देशको माया दिन दुगुना रात चौगुना हुन्छ । आफ्नै समाज, आफ्नै गाउँघर, आफ्नै भेषभुषा, आफ्नै भाषा, आफ्नै रहनसहन, आफ्नै संस्कार–संस्कृति अनि साहित्य प्रतिको मोह र त्यसप्रतिको उत्तरदायित्व अझै बढेको महसुस हुँदोरहेछ । यिनै आत्मीय सम्बन्धहरुले हरेक प्रवासी साहित्य साधकहरुलाई लेख्न प्रेरित गरिरहेको हुन्छ । प्रवासको यन्त्रवत कार्यव्यस्तता र विविध खाले यन्त्रणाहरुमा रहेर पनि सिर्जनशीलतामा लामबद्ध एक साहित्य साधक झन्–झन् तिखारिएर सिर्जनशीलतामा अनवरत लागिरहन मन पराउँदा रहेछन् । प्रवासको घनात्मक साहित्यिक गतिविधिहरुलाई नजिकबाट हेर्दा मलाई यस्तै अनुभूत भइ नै रहन्छ । प्रवासमा विशेषगरी खाडी मुलुकमध्येको एक संयुक्त अरब इमिरेट्सको नेपाली साहित्यको गतिविधि चिरफार गर्ने हो भने पछिल्लो समयमा निकै उर्वर देखिएको छ । यहाँ नेपाली साहित्यको जग बसाउन प्रवासमा झन्डै दुई दशक बसेर भर्खरै स्वदेश फर्किनु भएका आदरणीय अग्रज साहित्यकार दलवीर सिंह बराइली ‘घायल’ज्यूको अतुलनीय योगदान प्रातःस्मरणीय छ । उहाँले सन २००१ तिर सिर्जना गर्नुभएको साहित्यिक माहोल विस्तारै बामे सर्दै आज २०१८ सम्म आइपुग्दा नेपाली साहित्यले गर्व गर्ने सक्ने अवस्थामा आइपुगेको छ । कवि तथा गजलकार महादेव अधिकारीको संयोजकत्वमा सन २०११ तिर यहाँ छरिएर रहनु भएका सर्जकहरुलाई समेटेर दुबई साहित्यिक फूलबारी स्थापना गरी साहित्य माहोललाई क्रियाशील बनाउने अभियान सुरु भएको थियो भने उही समयतिर नै यूएईकै राजधानी शहर आबुधाबीबाट केही जुझारु साहित्यकारहरुले सगरमाथा साहित्यिक मञ्च (जुन अहिले मेरो अध्यक्षतामा सगरमाथा साहित्य प्रतिष्ठान नामाकरण गरी प्रवासमा क्रियाशील छ) स्थापना गरी नेपाली साहित्यलाई फराकिलो बनाउँदै लैजानुभएको छ । साहित्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएका देश विदेशका विभिन्ना अग्रज स्रष्टालाई सम्मान गर्नेदेखि विश्वव्यापी साहित्यिक प्रतियोगिताहरु पनि गर्दै आएको छ । यसरी भन्नुपर्दा प्रवासमा नेपाली साहित्यको गतिविधि निकै उपलब्धीमूलक र अविस्मरणीय छ ।
तपाईंको जीवनमा प्रभाव पारेका कोही लेखक, कुनै कृति या कुनै अंश छन् ?
स्कूले जीवनदेखि नै साहित्यमा मेरो रुचि बस्यो । जब मैले स्कूले जीवनकालमा नै मोदनाथ प्रश्रतिद्वारा लिखित ‘देवासुर संग्राम’ पढ्न पाएँ । यो किताबले मेरो अवचेतन मनलाई विद्रोहमा रुपान्तरण गरिदियो । यसको प्रभाव मेरो साहित्यिक यात्रामा निकै घनात्मकरुपमा रहँदै आयो । लेखेरै पनि समाज रुपान्तरण गर्न सकिन्छ भन्ने पहिलो पाठ मैले यसै किताबबाट सिकेको हुँ । धेरै वर्ष पहिला पढेको हुनाले अहिले त्यो किताबका कुनैपनि अंश ठ्याक्कै याद छैन । तर, त्यसको भाव र असर अझै पनि उस्तै छ ।
नयाँ पुस्तासहित सबैलाई अन्तिममा के भन्नुहुन्छ ?
अग्रजहरुले नेपाली साहित्यलाई जुन उचाइमा पु¥याउनुभएको छ, त्यसलाई अझै अन्तर्राष्ट्रियस्तरमै उचो राख्ने नैतिक दायित्व आजको पुस्तालाई छ । त्यसैले जसरी आजको पुस्तालाई सामाजिक सञ्जाल जेनेरेसन भनेर चित्रण गरिदै आएको छ, त्यसको प्रतिफल नेपाली साहित्यलाई दिन हामी सबै निरन्तर अध्ययनशील, साधनारत र स्वच्छ भावनाले एकाकार हुँदै नेपाली साहित्यको श्रीवृद्धिमा लागिरहन अनुरोध गर्दछु । मेरो कविताकृति ‘भोकको लय’ अब छिट्टै नै बजारमा आउने तयारीमा छ । यसलाई अध्ययन गरेर सुझाव, सल्लाह, आलोचना, समालोचना वा समीक्षा गरिदिनु हुने नै छ भन्ने आशाका साथ मेरो विचारलाई स्थान दिनुहुने तपाईं र कायाकैरन परिवारप्रति आभारी छु । स्रष्टाहरुलाई यसरी सम्पूर्ण पाठकमाझ ल्याउने यहाँहरुको यो सह्रानीय कार्यको मुक्तकण्ठले प्रशंसा गर्दछु ।





