मेरो प्रेरणाको स्रोत मास्के बुवा

लेखराम सापकोटा


मास्के बुवालाई पचासको दशकको अन्त्यतिर देखेको हुँ पैलोपटक । जतिबेला म एसएलसी सकेर नारायणगढको पाण्डे पुस्तक पसलमा जागिर सुरु गरेको थिएँ । त्यतिबेला काम विशेषले मास्के पुस्तक भण्डार जाँदा बुवालाई कैले पसलको काउण्टरमा देख्थें भने कैले सामाजिक काममा खटिइरहेको अवस्थामा बजारमा पनि देखिनुहुन्थ्यो । नारायणगढ बजारमा यताउता गरिरहँदा बुवा एक सामाजिक, शैक्षिक र प्रशासनिक व्यक्तित्व भएको कुरा मैले छोटो अवधि मै थाहा पाएँ । तर, बुवासँग मेरो दोहोरो संवाद भने लामो समयसम्म भएन । कारण मैले मात्रै बुवालाई चिन्दथें । तर, मलाई बुवाले चिन्नु हुन्नथ्यो ।

जागिरकै सिलसिलामा केही वर्ष काठमाडौं र केही वर्ष विदेश बसाइँपछि म पुनः चितवन मै आएँ ।

वि.सं. २०६७ साल भदौ १० गतेदेखि म मास्के पुस्तक भण्डारको कर्मचारीको रूपमा त्यहाँ सेवारत भएँ । मास्के परिवारमा मेरो नियुक्ति भएपछि त्यहाँ सबैसँग मेरो परिचय बन्यो । बुवासँगको मेरो एकोहोरो चिनजान निमेषभरमै दोहोरो भैदियो । बुवासँग बोलचालका क्रममा मैले बुवालाई पैल्यैदेखि चिन्ने कुरा अवगत गराउँदा बुवा पनि खुसी हुनुभयो ।

मास्के पुस्तक भण्डारमा प्रवेश गरेपछि मैले बुवाका बारेमा थप कुराहरूको जानकारी पाएँ । जिल्लामा विभिन्न विद्यालय स्थापना गर्नमा बुवाको ठूलो योगदान छ भन्ने कुराले मलाई बेस्सरी खुसी तुल्यायो । विद्यालय उज्यालो घर हो, यो घरमा छिर्ने मान्छेहरू आफै उज्याला भएर निस्कन्छन् । उज्यालोको विम्ब विद्यालय बनाउने मान्छे कति महान होलान् । म मनमनै मास्के बुवाप्रति नतमस्तक भएँ । उहाँको घरमा, उहाँको पसलमा एउटा सदस्य भएर प्रवेश पाउनु नै मैले मेरो अहोभाग्य ठानें ।

मास्के पुस्तक भण्डारमा कर्मचारी भएर म सजिलै प्रवेश गरेको थिइनँ । खासमा म लामो समयदेखि यो पेशामा अनुभवी र केही समय विदेशमा पनि बिताएको कारणले आफैले यही किसिमको व्यवसाय गर्ने सुरमा थिएँ । एकदिन मेरो साथी रामु सापकोटाको सहयोगमा आदरणीय सरोज दाइ र रजनी भाउजूसँग भेट हुन पुग्यो । मलाई देखेर उहाँहरुले जुन आत्मीयता र हार्दिकता मप्रति देखाउनुभयो, उहाँहरुको त्यो सम्मानलाई मैले त्यहाँ इन्कार गर्न सकिनँ र म मास्के पुस्तक भण्डारको सदस्य बन्न पुगें ।


यसक्रममा मैले चार वर्षभन्दा बढी समय मास्के पुस्तक भण्डारसँग बिताएँ । सरोज दाइ र रजनी भाउजूको आत्मीयता तथा मास्के बुवाको अभिभावकत्वले मलाई सधैं ऊर्जा थपिरह्यो । बुवा सधैंजसो बिहान पसलको काउन्टरमा बस्नुहुन्थ्यो । म पनि पसलमा बिहानै पुगेको हुन्थें । बुवा र हामी (अरु कर्मचारी साथी पनि) सँगै चिया पिउँथ्यौं । पसलमा पढ्नको लागि लगभग सबैजसो पत्रिका बिहानै आइपुगेका हुन्थे ।

बुवाले सबैजसो पत्रिकाहरु सरसर्ती हेरेर भ्याउनुहुन्थ्यो । पत्रिकामा छापिएका समाचारका विषयमा बुवाले मसँग प्रायः संवाद गर्नुहुन्थ्यो । बुवा कम्युनिस्ट विचारधाराको हुनुहुन्थ्यो । पत्रिकामा कम्युनिस्टका बारेमा आएका राम्रा समाचार बुवालाई पनि राम्रा लाग्थे । कैलेकाहीं कम्युनिस्टले गरेका जनविरोधी गतिविधिले बुवाको टाउको दुख्थ्यो । अनि कम्युनिस्टलाई गाली पनि गर्नुहुन्थ्यो ।

मलाई थाहा भएसम्म मास्के बुवाले पत्रिकामा राशीफल हेर्न कैल्यै छोड्नुभएन । राशीफल राम्रो लेखिएको दिनमा उहाँमा छुट्टै उत्साह देखिन्थ्यो । कहिलेकाहीं बिहान हेर्न छुटे पनि दिउँसो पत्रिका हात पर्दा राशीफल भने छुटाउनु हुन्थेन । कुनै–कुनै दिन राशीफल उहाँको विपरीत पनि हुन्थ्यो । तर, सोही दिन उहाँले राम्रो काम गरेको र सबै राम्रो भएको हुन्थ्यो । त्यस्तो बेलामा उहाँले राशीफल बनाउनेलाई ठट्यौली पारामा गाली पनि गर्नुहुन्थ्यो ।

पसलमा कर्मचारी भए पनि मलाई बुवाले कर्मचारीको नजरले कैल्यै हेर्नुभएन । त्यसो त बुवाले त्यहाँ सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो । नयाँ–नयाँ कर्मचारी भाइहरुलाई पनि विशेष ख्याल गर्नुहुन्थ्यो । खाना, खाजा खाए कि खाएनन् भनेर समय–समयमा ख्याल गर्नुहुन्थ्यो । काममा बढी धपडी पो भयो कि भनेर बेला–बेलामा बोलाएर सोध्नुहुन्थ्यो सबैलाई । कामको चाप अलि बढी हुँदा बुवाले कर्मचारीलाई कहिलेकाहीं बाहिरबाट खाजा ल्याएर पनि खुवाउनु हुन्थ्यो । जेरी, पुरी उहाँको सबैभन्दा मीठो परिकार भएर होला तातो जेरी पुरी ल्याएर सबैलाई खाउ भन्नुहुन्थ्यो । उहाँ आफूले पनि पहिला तातो जेरी खुब खानुहुन्थ्यो रे । पछि सुगर भएपछि खान छोड्नुभएको रै’छ ।

पसलको सबै जिम्मेवारी सरोज दाइले हेर्ने भएकोले बुवा प्रायः सामाजिक गतिविधिमा नै व्यस्त हुनुहुन्थ्यो । कहीँ कतै जान परेको खण्डमा मसित जाँदा बुवालाई छुट्टै आनन्द प्राप्त भएको महसुस गर्थें । उहाँलाई सबैभन्दा बढी यताउता गराउने एकजना पूर्णकान्त कोइराला सर हुनुहुन्थ्यो । मास्केमा बिताएका चार वर्षको अवधिमा मैले पनि बुवालाई धेरैपटक विभिन्न कार्यक्रममा लाने र ल्याउने गरें । बुबाको फोटो खिच्ने, सामाजिक सञ्जालमा फोटो र गतिविधि पोस्ट गर्ने, पत्रपत्रिकामा समाचार पठाउने, आएका समाचार पढेर सुनाउनेलगायत काममा बुवाको नजिकको मान्छे हुन पाएकोमा म आफूलाई भाग्यमानी ठान्दछु ।

बुवाको निधनले चितवन जिल्लाले एउटा शैक्षिक अभिभावक गुमाएको छ । देश र समाजको चिन्तन गर्ने एकजना समाजसेवी गुमाएको छ । बुवाको योगदानलाई रास्ट्रले सदैव सम्झने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट