हेरम्वकुमार असीम

नेपालीहरूको दोस्रो महान् चाड तिहारको लक्ष्मी पूजाको दिन गत २०७५ मङ्सिर २१ गते बिहान सदा झैँ आÇनो नित्य कर्म यथासमयमा सम्पन्न गरी चिया पिउने क्रममा विद्युतीय जेबी फोनमा मुहार पुस्तिका खोल्ने बित्तिकै अकल्पनीय साथै दुःखद सूचनाले मन भरिएर आयो । सूचना, अनुहार पुस्तिकाका आबद्ध एकजना सहृदयी मित्रले सम्प्रेषण गरेका थिए, सूचना सूर्यबहादुर मास्के सरको निधनको बारेमा थियो । लामो समयदेखि विभिन्न रोगका कारण आक्रान्त मास्के सर उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा थिए ।
चाडबाडको दिन सबै विद्यालयका सहकर्मीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, मित्रजन र आफन्तजन लक्ष्मी पूजाका लागि हर्षोल्लासका साथ सामग्री व्यवस्थापन गर्न व्यस्त होलान् । कतिपय माइत वा दिदीबहिनीको घरमा जान तयारी गर्दै होलान् सूचना प्रवाह गरूँ वा नगरौँ ? एकछिन दोधारको अवस्थामा अलमलिए पछि मुहार पुस्तिकामा सूचना सम्प्रेषण गरी मास्के सरको निवासस्थानतर्फ लागेँ । मास्के सरको निवासमा अन्य शोकाकुल जन उपस्थित भइसकेका रहेछन् । गत राति नै मास्के सरले नश्वर शरीर त्यागेको बेहोरा जानकारीमा आयो, अन्तिम संस्कार विदेशमा रहेको छोरा छोरी आए पछि मात्र गरिने जानकारी परिवार जनबाट प्राप्त भयो ।
स्वर्गीय सूर्यबहादुर मास्के सरसँग मेरो चिनाजानी आजभन्दा ३ दशक अघिदेखिकै हो । विस २०४५ बालकुमारी राप्रावि (हाल बालकुमारी कन्या मावि) नारायणगढमा मैले प्रावि तहको शिक्षकको रूपमा शिक्षा सेवा प्रारम्भ गरे ताका नै वहाँसँग मेरो औपचारिक परिचय भएको हो । पुतली बजारमा रहेको मास्के पुस्तक पसलमा आवश्यक सामग्री खरिद गर्ने सन्दर्भमा यो अवसर प्राप्त भएको थियो ।
विस २०४९ मा नारायणगढको क्याम्पाचौरमा आयोजना गरिएको फरक क्षमताका बालबालिकाहरूको खेलकुद प्रतियोगिता राष्ट्रिय स्पेसल ओलम्पिक्स् खेलकुद प्रतियोगिताको समयमा वहाँको निकटमा रहेर काम गर्ने अवसर प्राप्त भएको थियो । मास्के सर सो प्रतियोगिताको मूल आयोजक समितिको सचिव हुनुहुन्थ्यो । वहाँले नै मलाई सो आयोजनाको विभिन्न उपसमितिको सदस्यका रूपमा मनोनयन गर्नु भएको थियो । विस २०५९ मा सूर्यबहादुर मास्के सर बालकुमारी कन्या माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा चुनिनु भएपछि अझ निकटबाट मास्केसरलाई चिन्ने अवसर मलाई प्राप्त भएको हो । वहाँको निर्देशन र मातहतमा रहेर एक दशक काम गर्ने अवसर प्राप्त भएको थियो । आÇनो पेसागत क्षमता अभिवृद्धिका लागि स्वर्गीय मास्के सरबाट मलाई समय समयमा प्राप्त भएको निर्देशनात्मक सहयोग अविस्मरणीय रहेको महसुस बारम्बार गरेको छु ।
जन्मस्थल भोजपुर भएतापनि कर्मक्षेत्र चितवन र गोर्खालाई बनाउनु भएका स्वर्गीय सूर्यबहादुर मास्केले समाज विकासका लागि अपरिहार्य मानिएको शिक्षाको पवित्र ज्योति छर्ने विद्यालयको स्थापना र सञ्चालनमा यस क्षेत्रमा नै अतुलनीय योगदान पु¥याउनु भएको छ । सरकारी सेवामा स्कुल इन्सपेक्टरको पदमा कार्यरत रहँदा चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा बालकुमारीको मन्दिर निकट बालकुमारी प्राथमिक पाठशाला स्थापना गर्ने कार्यमा वहाँको महत्वपूर्ण योगदान रहेको थियो । उपरदाङगढीबाट सरकारी अड्डाहरू भरतपुर सारिए पछि त्यस विद्यालयमा विद्यार्थीहरू अभाव भई बन्द गर्नु पर्ने अवस्था भयो ।

यता नारायणगढ बजारमा रहेको विद्यालय भरतपुर सारिए पछि यस क्षेत्रका बालबालिकाहरूलाई शिक्षा हासिल गर्न विद्यालयको अभाव महसुुस भएपछि मास्के सरकै सक्रियतामा उपरदाङगढीमा अलपत्र अवस्थामा रहेको बालकुमारी प्राथमिक पाठशाला नारायणगढमा स्थानान्तरण गरियो । विभिन्न समयमा विभिन्न नामबाट सञ्चालित उक्त पाठशाला हाल बालकुमारी कन्या माध्यमिक विद्यालयका रूपमा परिचित छ । बालकुमारी प्राथमिक पाठशालालाई नारायणगढ बजार क्षेत्रकै जननी शैक्षिक संस्थाका रूपमा लिइन्छ ।
बालकुमारीका नाममा हाल यस क्षेत्रमा पाँच वटा शैक्षिक संस्थाहरू सञ्चालित छन् । बालकुमारी कन्या मावि, बालकुमारी मावि, बालकुमारी इङ्लिस स्कुल, बालकुमारी कलेज, बालकुमारी सुस्त मनःस्थिति विद्यालय यी पाँच वटा शैक्षिक संस्थाहरूले पूर्व प्रावि तहदेखि विश्वविद्यालय तहअन्तर्गतको स्नातकोत्तर तहसम्मको शिक्षा दिनुका साथै फरक क्षमता भएका बालबालिकाहरूलाई आधारभूत शिक्षा प्रदान गरिरहेका छन् ।
सरकारी सेवामा क्रियाशील रहँदा देखि नै शिक्षा सेवाका साथै सामाजिक सेवालाई पनि आÇनो जीवनको अभीष्ट बनाउनु भएका स्वर्गीय सूर्यबहादुर मास्केले सेवानिवृत्त जीवन पूर्ण रूपमा सामाजिक सेवामा व्यतीत गर्नु भएको थियो । विद्यार्थी अवस्थामा नै राजनीतिप्रति तानिनु भएका मास्के सरको खुर्सानी आन्दोलन, भोकमरी आन्दोलन जस्ता राजनैतिक आन्दोलनमा उल्लेखनीय सहभागिता रहेको थियो । राजनीतिमा सक्रिय भएतापनि कुनै लाभको पद नलिनु भएका मास्के सरको अभिरुचि राजनीतिभन्दा पनि सामाजिक सेवामा नै धेरै रहेको थियो । नेपाल बाल सङ्गठन, नेपाल प्रौढ सङ्गठन, नेपाल रेडक्रस सोसाइटी, नारायणी कला मन्दिर, लायन्स क्लब अफ नारायणगढ, नेपाल राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्था, स्पेसल ओलम्पिक्स नेपाल, नेपाल नेत्र ज्योति संघ जस्ता सामाजिक संघ संस्थाहरूमा वहाँको योगदान र सक्रियता अतुलनीय रहेको छ ।
विस २०५९ मा पहिलो पटक बालकुमारी कन्या मावि, नारायणगढको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चुनिनु भएपछि ३ कार्यकाल लगातार अध्यक्ष पदको भूमिका स्वर्गीय सूर्यबहादुर मास्के कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो । आफैले स्थापना गरेको विद्यालयको व्यवस्थापन गर्ने क्रममा एक कुशल अभिभावकले आÇनै सन्तानलाई गर्ने माया ममता र स्नेहको क्रियाकलाप मास्के सरको व्यवहारमा झल्कन्थ्यो । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक र समग्र पक्षको विकासका लागि अहोरात्र चिन्तनशील मास्के सरकै कार्यकालमा तत्कालीन नगर विकास कोष र स्थानीय जनसहभागितामा विद्यालयको १० कोठे नयाँ भवन निर्माण गर्ने कार्य सम्पन्न भयो भने सोही भवनको तला थप्ने कार्य पनि मास्के सरकै कार्यकालमा स्थानीय शिक्षा प्रेमीहरूको सहयोगमा सम्पन्न भएको हो ।
बालकुमारी कन्या मावि, नारायणगढमा उच्च मावि तहका कक्षाहरू सञ्चालन गर्ने कार्यको श्रेय पनि मास्के सरलाई नै छ । वहाँकै कार्यकालमा वहाँको इच्छा र प्रेरणाबाट विस २०६७ मा साबिक उच्च मावि शिक्षा परिषदबाट सम्बन्धन लिएर विद्यालयमा उच्च मावि तहका कक्षा सञ्चालन गर्ने कार्यको थालनी भएको हो । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मनोबल बढाउन निरन्तर हौसला र प्रेरणा दिने कार्यमा मास्के सर तल्लीन रहनु हुन्थ्यो ।
विद्यालयको दैनिक शैक्षिक तथा शैक्षणिक कार्यमा वहाँबाट कहिल्यै पनि कुनै किसिमको हस्तक्षेप महसुस गरिएन । स्वर्गीय सूर्यबहादुर मास्के विद्यालयको भौतिक र आर्थिक जिम्मेवारी विद्यालय व्यवस्थापन समितिको हो भने शैक्षिक तथा प्रशासनिक जिम्मेवारी विद्यालय प्रशासनको हो भन्ने धारणा बारम्बार प्रकट गर्नुहुन्थ्यो । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पेसागत दक्षता तथा क्षमता अभिवृद्धिका लागि वार्षिक रूपमा विभिन्न शैक्षिक संस्थाहरूको साथै महत्वपूर्ण स्थानको अवलोकन भ्रमणको व्यवस्था आÇनो कार्यकालमा वहाँले गर्नु भएको थियो । नेपालका विभिन्न शैक्षिक संस्था, भारतको कोलकातामा अवस्थित शिक्षण संस्थाहरूको अवलोकन भ्रमण कार्यक्रम वहाँकै कार्यकालमा भएको थियो । विद्यालयमा सरकारी दरबन्दीमा कार्यरत शिक्षकबाहेक निजी दरबन्दीमा कार्यरत शिक्षक कर्मचारीहरूको व्यवस्थापनमा पनि मास्के सरले विशेष ध्यान पु¥याउनु भएको थियो ।
अन्तमा, भौतिक रूपमा आज हामी माझ सूर्यबहादुर मास्के सर रहनु भएन । एक असल अभिभावक मार्गदर्शक गुमाउनु पर्दा अथाह पीडा महसुस भएतापनि विद्यालयमा वहाँबाट गरिएका अमूल्य योगदान र करिब एक दशक निकटको सामीप्यतामा गरिएका क्रियाकलापहरूको माध्यमबाट जीवनपर्यन्त हाम्रो मन मस्तिष्कमा रहनु हुनेछ । १३ औं दिनको पुण्य तिथिमा दिवङ्गत आत्माको चिर शान्तिको लागि प्रार्थनाका साथ वैकुण्ठ बासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा विपत्तिको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछु ।





