शिक्षामा खर्च बढाउँदै स्थानीय तह

विप्लव काफ्ले
भरतपुर, ११ कात्तिक
माडी नगरपालिकाले शिक्षामा जिल्लाका अन्य स्थानीय तहले भन्दा बढी खर्च गर्ने भएको छ । आन्तरिक स्रोतबाट शिक्षामा खर्च गर्नेको सूचीमा माडी नगरपालिका अग्रस्थानमा छ । आन्तरिक स्रोतबाट माडी नगरपालिकाले २ करोड, इच्छाकामना गाउँपालिकाले १ करोड ९७ लाख, खैरहनी नगरपालिकाले १ करोड, कालिका नगरपालिकाले ८० लाख यो वर्ष खर्च गर्दैछ ।
यस्तै रत्ननगर नगरपालिकाले ७६ लाख ९६ हजार, भरतपुर महानगरपालिकाले ६४ लाख, राप्ती नगरपालिकाले ५० लाख आन्तरिक स्रोतबाट शिक्षामा खर्च गर्दैछन् । नेपाल सरकारबाट अनुदान पाउनेमा भरतपुर महानगर अग्रस्थानमा छ भने माडी चौथो स्थानमा छ । माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले शैक्षिक गुणस्तर विकास गर्न शिक्षामा खर्च बढाएको बताए । “आफ्नै क्षेत्रमा राम्रो पढ्ने व्यवस्था मिलाउन बजेट पर्याप्त छुट्याएका छौँ”, उनले भने, “भौतिक संरचना सुधार, शैक्षिक गतिविधि बढाउन बजेट प्रयोग गर्न मिल्ने गरी बजेट बाँडफाड गरेका छौँ ।” उनले नमूना विद्यालय बनाउने गरी विद्यालयलाई बजेट विनियोजन गरिएको बताए ।
नगरपालिकाले दिने बजेटबाट ३ विद्यालयले स्कूल बस खरिद गर्ने योजना बनाएको उनले जानकारी दिए । जंगली जनावर, बाढीको त्रास वर्षेनी खेप्दै आएका विद्यार्थीलाई सहज रुपमा विद्यालय पुग्ने वातावरण बन्न लागेको बताए । सामुदायिक विद्यालयमध्ये दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा, जनकल्याण मावि र जनजीवन मावि स्कूल बस खरिद गर्ने तयारीमा छन् ।
दिवाकर स्मृति र जनकल्याणमा ७÷७ सय, जनजीवनमा ८ सय विद्यार्थी अध्ययनरत छन् । यी विद्यालयमा विद्यार्थी संख्या न्यून भएका अन्य केही विद्यालय मर्ज समेत भएका थिए । नगरपालिकाका सामाजिक र विकास संयोजक तथा वडाध्यक्ष कृष्णराज अधिकारीले विद्यार्थीलाई सहज रुपमा विद्यालय पु¥याउन स्कुल बस सहयोगी बन्ने अपेक्षा गरिएको बताए । “छुट्याइएको बजेटबाट स्कुल बस खरिद गर्ने गरी प्रस्ताव आएको छ”, उनले भने, “घण्टौ पैदल हिडेर स्कुल जाने विद्यार्थी लाभान्वित हुनेछन् ।”
माडी नगर क्षेत्रमा २२ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालय छन् । करिब ९ हजार विद्यार्थी छन् । जसमध्ये सामुदायिकतर्फ ७ हजार र संस्थागत तर्फ २ हजार विद्यार्थी अध्ययनरत छन् । माडी शिक्षा शाखाका टंकप्रसाद न्यौपानेले नगरपालिकाले आन्तरीक स्रोतबाट उपलब्ध गराएको बजेटले विद्यालयले शैक्षिक गुणस्तरमा सहयोग पुगेको बताए ।
“केन्द्र तथा प्रदेश बाहेक नगरपालिकाले आफ्नो बजेटबाट समेत ठूलो रकम छुट्टाइएको छ”, उनले भने, “कक्षाभित्रको शैक्षिक गतिविधि सुधार, भौतिक संरचना विकासमा मद्धत पुग्नेछ ।” उनले निजी स्रोतका शिक्षकलाई तलब दिनसमेत मिल्ने गरी बजेट छुट्याइएको छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सो बजेट खर्चको खाका बनाउन सक्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट