हरियो साउन, मेहन्दीमय साउन

 

प्रमिता ढकाल

सूर्य मिथुनबाट कर्कट राशीमा प्रवेश गरेसँगै साउन महिना सुरु हुन्छ । यस महिना हिन्दू धर्मावलम्वी महिलाहरु हातमा मेहन्दी तथा हरियो चुरा लगाउँछन् । भगवान शिवको प्रिय बार सोमबारमा ब्रत बसेर हरियो र रातो पहिरनका साथै मेहन्दी, चुरा, पोते लगाएमा भगवान खुसी हुने जनविश्वास छ । साथै पतिको दिर्घायु हुने विश्वासमा पनि परम्परादेखि नै साउन महिना विशेषरुपमा शिवको महिमा गाएर मनाइन्छ ।

अविवाहित महिलाहरु पनि योग्य वर प्राप्तिका लागि महिनाका सबै सोमबार ब्रत बस्छन् । पाँच सोमबार परेको साउनलाई अझै विशेष र शुभ मानिन्छ । यसपालि भने ४ सोमबार मात्रै छन् । हिन्दू किम्बदन्तीअनुसार ‘साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र महादेवबाट सौभाग्य पाइन् ।’ सोही विश्वासका साथ नेपाली महिलाहरुले पनि आफ्ना हात मेहन्दीले रंग्याएका छन् । हातमा मेहन्दीको प्रयोग अहिले फेसन जस्तो बन्दै गएको छ ।

ग्रामिण क्षेत्रमा भन्दा पछिल्लो समय शहरीया पुस्तामा साउन महिनामा हरियो पहिरन लगाउने फेसनको रुपमा विकास भइरहेको छ । साउन हरियो महिना हो । महिलाले हरियो चुरा, हरियै लुगा लगाएर साउनलाई विशेष बनाउँछन् । त्यसो त साउन मेहन्दीको महिना पनि हो । हातभरि मेहन्दी लगाएर त्यसैमा हरियो चुरा लगाएपछि महिलालाई सुन्दर देखिन्छ ।

भरतपुर–१० की तुलसी न्यौपाने ६२ वर्ष पुगिन् । साउने संक्रान्ति पर्वको अवसरमा उनले पनि सुन्दर मेहन्दीले हात सजाइन् । यो निकै पुरानै प्रचलन हो । आजकल मेहन्दी भनेर लगाउने गरेपनि पहिले तिउरी लगाइन्थ्यो । साउने संक्रान्तिमा साँझ लुतो फालेर हातगोडा दुवैमा तिउरी लगाइन्थ्यो । उनले थाहा पाउने भएदेखि नै तिउरी लगाएको याद ताजै छ । “सबै दिदीबहिनी जम्मा भएर तिउरी टिप्थ्यौं, सिलौटामा पिस्थ्यौं, ध्वाँसो, अमिलो मिसाएर लेप बनाएर सपक्क हातमा लगाई गावा (कर्कलाको पात)ले बेरेर सुतेपछि बिहान उठ्दा तिउरीको रातो रङ बस्दा फुरुङ्ग हुन्थ्यौं”, उनले सुनाइन् ।

 

असार मासभरि खेतीबारी तथा हिलोमा डुबेका हातखुट्टामा देखिने समस्यालाई आर्युवेदिक उपचारसमेत हुने भएकाले तिउरी लगाउने प्रचलन छ । आफ्नो परिवारमा महिला सदस्य मात्र नभई पुरुषले पनि मेहन्दी लगाउने गरेको उनले बताइन् ।

“माघे संक्रान्ति पर्व मरिन्छ कि बाँचिन्छ भनेर मनाउने गरेको र साउने संक्रान्ति भने अब बा“चियो भनेर मनाउने गरेको किंवदन्ती सुन्दै आएकी हुँ”, उनले भनिन्, “त्यसैले मैले पनि मनाउँछु ।” आफ्नो परिवारको दोस्रो र तेस्रो पुस्तालाई पनि यसबारे जानकारी गराउँदै पर्वको महत्व बुझाउने र मनाउन प्रेरित गर्ने गरेको उनले सुनाइन् ।

भरतपुरकै रीता केसी आफूले याद गर्न सक्ने भएदेखि नै साउने सक्रान्तिमा तिउरी लगाउने गरेको बताइन् ।

 

“पहिला–पहिला घरमा आमा र फुपूहरुले निकै मेहेनत गरेर तिउरी फूलको पात टिपी पिसेर विभिन्न मिश्रण बनाएर हातमा लगाई दिनुहुन्थ्यो”, उनले भनिन्, “मेरै पुस्तामा होला बजारमा सजिलै मेहन्दी कोन आउन थालेको, त्यसैले आजकल भने साउने संक्रान्तिमा मेहन्दी लगाउँछु ।” तिउरी लगाउँदा र्सपदंशबाट जोगिन्छ भन्ने मान्यता रहेको भन्दै आफ्नो परिवारमा बुबा, काका दाजुभाइले पनि हातमा तिउरी लगाउने गरेको केसीले बताइन् ।

 

?

“तर, हामी महिलाले जस्तो बुट्टा नै बनाएर सजाउने त होइन”, उनले भने, “अलिकति दर्शाउने गरी थोप्ला वा टीका लगाउनुहुन्थ्यो ।” पछिल्लो समय यदाकदा भारतीय आयातित संस्कृति भनेर मेहन्दी लगाउने प्रचलनको समेत विरोध हुन थालेको छ । तर, मेहन्दी लगाउने परम्परा आयातित मात्र हो भन्न नहुने उनको भनाइ छ । समाजशास्त्र विषय अध्यापन गराउँदै आएकी केसीको मत फरक छ । मेहन्दी संस्कारमा आएको समयानुकूल परिवर्तनलाई आत्मसात गरी त्यसको व्यावसायिक विस्तारमा ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । “हामीले तिउरी विस्तार गर्न सकेनौं, यसको उत्पादनमा ध्यान दिएनौं”, उनले भनिन्, “तर छिमेकी मुलुकमा तिउरीजस्तै अर्को आर्युवेदिक जडिबुटी मेहन्दीको प्रयोग हुने रहेछ उनीहरुले त्यसलाई व्यावसायिक विस्तार गरे र हामीसम्म सजिलै आयो ।”


स्वदेशमै तिउरी वा मेहन्दीका त्यस्तै सहज लेप बनाई कोन बिक्री गर्न सके यहाँपनि व्यवसायीक विस्तार गर्न सकिने उनले बताइन् । “यसले स्वरोजगार बन्दै गरेका सौन्दर्य व्यवसायी दिदीबहिनीलाई पनि प्रोत्साहन मिल्छ भने अर्कोतर्फ स्वदेशमै कच्चा पदार्थको प्रयोग गरी उद्योग सञ्चालन गर्न सके आर्थिक क्रान्तिमै मद्दत पुग्न सक्छ”, उनले भनिन् ।

वीरेन्द्र बुहुमुखी क्याम्पस भरतपुरका उपप्राध्यापक डा. लक्ष्मी पोखरेल तिउरी संस्कृतिलाई नेपालको मौलिक संस्कृति भन्न रुचाउँछिन् । असार मसान्तमा तिउरी, मकरकाँजी, कुमकुमको पात पिसेर अमिलो, ध्वाँसो मिसाई हातखुट्टामा लगाउँदा असार महिनाभर गडेको हिलो, हिलोले निम्त्याएका चर्मरोग सञ्चो हुने भएकाले पुर्खाहरुले यस्तो परम्परा सुरु गरेको उनले जानकारी दिइन् ।

“तिउरीफूल एण्टी फंगसको रुपमा घाउचोट, सर्पदंश, पोलेको घाउ तथा हड्डी फुटेको, मर्केको ठाउँमा औषधिको रुपमा उपयोगी रहेको र मेहन्दी (हिना) जीर्ण ज्वरोमा शरीरको तापक्रम कम गर्न, टाउको दुखेको, पैताला पोलेको र हिष्टेरियाजस्ता समस्याको लागि निकै उपयोगी रहेको तथ्य वैज्ञानिक तथा वनस्पतीशास्त्रीहरुद्वारा प्रमाणित गरिएकोले यसको निरन्तरता हुनुपर्छ” उनले भनिन्, “पछिल्लो समय तिउरी संस्कार हराएर आयातित केमिकलयुक्त कोन मेहन्दी लगाउँदा ती सब गुण प्राप्त नहुने तर्फ भने सचेत हुनैपर्छ ।”


साउन महिना सुरु भएसँगै मेहन्दीका थरिथरिका बुट्टा भरेर सजाइएको हात लिएर हिंड्ने महिलाहरु देखिनु सायदै कसैलाई नौलो लाग्ला । हातभरि सुन्दर बुट्टा बनाई मेहन्दी लगाएर हिंड्ने महिलाहरु साउनभरि नै देखिन्छ । महिलाहरुले आजकल मेहन्दी लगाउने कार्यक्रम नै गर्न पनि थालेका छन् । यसवर्ष पनि ग्लोबल उमन लिडरसीप नेटवर्कको चितवन च्याप्टर सिस्टर सोसाइटी नारायणीले संस्थाको कोष वृद्धिका लागि असार मसान्तको दिन मेहन्दी लगाउने कार्यक्रम गरेको थियो ।

चुरा लगाउँदा यसको ध्वनीले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुष्टि पनि गरेका छन् । मेहन्दीले पनि स्वास्थमा फाइदा पु¥याउँछ । मेहन्दीको शीतलताले तनाव, टाउको दुखाइ र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायनयुक्त मेहेन्दीले भने यस्ता फाइदा पु¥याउँदैनन् ।

पछिल्ला वर्षहरुमा मेहन्दी लगाउने सीप सिकेरै कयौं दिदीबहिनी आफ्नो जीविकोपार्जन गर्दै छन् । त्यसैले विरोधका लागि विरोधभन्दा पनि आयुर्वेदिक महत्व बोकेको तिउरी र मेहन्दीका पातको केमिकल रहित प्रयोगलाई प्रोत्साहन गर्न स्वदेशमै उत्पादनका लागि उद्योग सञ्चालन र उद्यमशीलता विकासमा ध्यान दिदा पक्कै लाभ हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट