विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२३ असार ।
चितवनबाट बर्सेनी ठुलो परिमाणमा तरकारी बाहिरी जिल्ला पुग्ने गर्छ । पश्चिम चितवन तरकारीको उर्वरभूमीका रुपमा चिनिएको छ । तर, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले चितवनमा ‘सुपर जोन’ (विशेष क्षेत्र) का कार्यक्रम सञ्चालन गरेको छैन । परियोजना नेपाल सरकारकै एक विशेष परियोजना हो ।
सुपर जोनका लागि १ हजार हेक्टरमा व्यवसायीक तरकारी खेती हुनुपर्ने प्रावधान छ । तर, चितवनमा प्रयाप्त क्षेत्रफलमा तरकारी खेती भएपनि सुपर जोन घोषणामा परेन । जिल्लामा ६ हजार २ सय ७५ हेक्टरमा तरकारी खेती हुने गरेको तरकारी जोन कार्यालयले जनाएको छ । । जिल्लामा ८६ हजार ३६ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । गत वर्षदेखि भरतपुर महानगरको १० र २९ वडाबाहेकका वडामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत ‘तरकारी जोन’ का लागि काम हुदै आएका छन् । “सुपर जोन कायम गरेर सोही अनुसार योजना बनाउनुपर्छ भन्दै पहल ग¥यौँ”, तरकारी जोन पार्वतीपुरकी सञ्चालक समिति संयोजक बालिका कुमारी गिरीले भनिन्, “प्रयाप्त क्षेत्रफल छ, तर हाम्रो प्रस्ताव अधुरै बन्यो ।” उनले जनप्रतिनिधिले पहल गरेमा सुपर जोन कायम गर्न सकिने बताइन् । ‘सुपर जोन’ कायम बनेमा किसान प्रोत्साहन, बजारीकरण र कृषिजन्य उद्योग स्थापनका लागि परियोजना मार्फत हाल आउने गरेका योजना बजेट झण्डै दोब्बर बढी हुन पुग्ने अवस्था बन्ने थियो । महानगरको तरकारी खेती हुदै आएको ५ सय १२ हेक्टर क्षेत्रलाई आधार बनाएर जोनको कार्यक्रम चलेका छन् । जोनका लागि ५ सय १२ किसान सूचिकृत छन् । तरकारी जोन परियोजना सुरु भएपछि हाल १ सय ९५ हेक्टर थपिएको छ । ‘तरकारी जोन’ अन्र्तगत फल तरकारी १ सय ७२, काउली बन्दा ८७, लहरे तरकारी १ सय २८, गाजर मूला १ सय ७६, बोडी ३२ हेक्टरमा खेती हुदै आएको छ । “महानगरमै सुपरजोनलाई आवश्यक पर्ने क्षेत्र भन्दा बढीमा तरकारी खेती हुन्छ, तर माडी समेत जोडेर सुपर जोन कायम गर्न मन्त्रालयमा प्रस्ताव पठाएका थियौँ”, तरकारी जोन पार्वतीपुरका सूचना अधिकारी माधव पौडेलले भने, “सुपर जोन नबन्दा किसानका धेरै आवश्यकता पुरा गर्न सक्ने अवस्था बनेन ।” प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले चितवनमा विभिन्न बालीका ७० वटा पकेट क्षेत्र, माछा र धानको ब्लक क्षेत्र र महानगरको २७ वडालाई केन्द्रीत गरेर तरकारी जोनका लागि बजेट तथा कार्यक्रम गर्दै आएको छ । “चितवन सुपर जोन बन्न सक्छ, जसले किसान थप उत्साहीत हुनेछन्”, कृषि विकास कार्यालय चितवनका बरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले भने, “सुपर जोन घोषणाका लागि लाग्नुपर्छ । यहाँको उत्पादन बढाउन थप सहयोग पुग्छ ।” भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरलाई तरकारीको सुपर जोन बनाउन केन्द्री तहसम्म पहल गर्ने बताइन् । “महानगरमा अझै २५ सय हेक्टरमा तरकारी खेती बढाउन सकिन्छ”, उनले भनिन्, “सुपर जोन बन्न प्रयाप्त मापदण्ड पुगेका छन्, प्रतिवद्ध भएर लाग्छु ।”

तरकारी खेती गर्ने किसानलाई १४ लाख बढीको अनुदान
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ तरकारी जोन पार्वतीपुरले १ सय ७३ जना किसानलाई कृषि उपकरणमा अनुदान दिएको छ । छनौटमा परेका किसानले आधा मूल्य तिरेर कृषि उपकरण लिएका छन् । कार्यालयले कृषि उपकरणका लागि १४ लाख ७१ हजार ७ सय ५० रुपैयाँ बराबरको अनुदान दिएको छ । सोही बराबरको रकम किसानले तिरेका छन् ।
हाते ट्याक्टर (मिनि टिलर) १०, तरकारीमा औषधि छर्ने मेसीन (इलेक्ट्रीक स्प्रेयर) ८१ र तरकारी जोख्ने डिजिटल तराजु ८२ जनालाई वितरण गरेको कार्यान्वयन इकाई तरकारी जोनका कृषि अधिकृत तथा सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । शुक्रबार एक कार्यक्रमकाबीच तरकारी खेती गर्ने किसानलाई कृषि उपकरण सहयोग गरिएको हो । हाते ट्याक्टरको बजार मूल्य १ लाख ८० हजार, औषधि छर्ने मेसीनलाई ४ हजार ५ सय र डिजिटल तराजुलाई ९ हजार ५ सय रुपैयाँ पर्छ । परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुरले पचास प्रतिशत अनुदानमा उपकरण दिएको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले कृषि उपकरण हस्तान्तरण गरिन् प्रति कृषक प्रति हेक्टर अधिकतम् १० हजारका दरले प्रतिफलमा आधरित प्रोत्साहन अनुदान यही हप्ताभित्र छनौटमा परेका सबैलाई दिइदै छ ।
गत वर्ष ५० जना किसानलाई ३ हजार ५ सयका दरले प्रोत्साहन अनुदान दिइएको थियो । यस्तै पचास प्रतिशत अनुदानमा ३ ठुला ट्याक्टर दिइएको थियो । ६ वटा बोरिङ र पम्प, एउटा थोपा सिञ्चाई प्रणाली जडान गरेर सिञ्चाईमा सहयोग पु¥याएको थियो । यो वर्ष १९ वटा सिञ्चाई प्रणालीमा सहयोग भएको जनाइएको छ ।
“मेसीनको अधिकतम् उपयोग गरी उत्पादकत्व दोब्बर बन्ने अपेक्षा गरेका छौँ”, मेयर दाहालले भनिन्, “परम्परागत र निर्वाहमुखि परिपाटीलाई छाडेर आधुनिक कृषि प्रणालीमा सबै जानुपर्छ ।” उनले महानगरले देशलाई पुग्ने तरकारी, फलफुल, माछा, कुखुरा र अन्न उत्पादन गर्ने वातावरण बनाउन लागिपरेको बताइन् । कार्यक्रममा भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारी, २५ का वडाध्यक्ष विजयकुमार भुजेल, जिल्ला कृषि विकास कार्यालय चितवनका बरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठ, तरकारी जानेका बरिष्ठ कृषि अधिकृत झलकनाथ कँडेल लगायतले तरकारी उत्पादनका दृष्टिले महानगर हब बनेको बताए । कार्यक्रम तरकारी जोन सञ्चालक समितिकी अध्यक्ष बालिका कुमारी गिरीको अध्यक्षतामा भएको हो ।





