
भरतपुर, १६ असार ।
भरतपुर–८, गौरीगञ्जस्थित ज्योति युवा क्लबको अध्यक्षमा बुद्धिसागर कँडेल निर्वाचित भएका छन् । क्लबको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले कँडेललाई अध्यक्षमा चयन गरेको हो ।
‘आजको आवश्यकता, सामाजिक कार्यमा सहभागिता’ मूल नाराका साथ स्थापना भएको क्लबले विशेषगरी सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थाले सामाजिक रुपान्तरणमा युवालाई परिचालन गर्ने गरेको छ । क्लबले नियमितरूपमा गर्दै आएको सम्मान कार्यक्रमअन्तर्गत यसपटक सुष्मा बस्नेत र हरिप्रसाद गैरेलाई सम्मान गरेको छ ।

ज्योति शैक्षिक सम्मान पाएकी बस्नेतले यसैपालि पोलर स्टार स्कूलबाट एसईई परीक्षामा उत्कृष्ट ४ जीपीए ल्याएकी थिइन् । चितवन जिल्लाबाट ४ जीपीए ल्याउने उनी एकमात्र विद्यार्थी हुन् । त्यसैगरी गैरेलाई ज्योति युवा सम्मान पाए । उनी ज्योति युवा क्लबका संस्थापक अध्यक्ष हुन् । दुवै जनालाई कार्यक्रमका सभापति शोभाखर कँडेल र वडा नम्बर ८ का वडाध्यक्ष दामोदर न्यौपानेले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।





