संस्मरण: मेरो मानसपटलमा कलकत्ता

ईन्द्र रेग्मी
कलकत्ता अर्थात ‘कोलकाता’ कुनै समयमा दक्षिण एसियाकै सबैभन्दा ठूलो शहर । उद्योगधन्दाले भरिभराउ । भारतमा सबैभन्दा शिक्षित कहलाईएको पश्चिम बङ्गालको राजधानी कलकत्ता । लगातार तीन दिन दशक सम्म एकलौटी रुपमा शासन गरेको शहर । यस्तो शहर कलकत्तामा वि. सं. २००५ साल मंससिर १६ गते म जन्मन पुगेको थिएँ । पिताजी इन्डियन अक्सिजन कम्पनीमा सामान्य कर्मचारी हुनुहुन्थ्यो । कलकत्तामा मेरो लालनपालन र कक्षा ५ सम्मको पढाइ पनि त्यही भएकोले अहिले पनि कलकत्ताको नाम सम्झँदा रोमान्चित हुन्छु । म बस्दा खिदिरपुर, बेहला रोडमा तत्कालिन भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरु खुला जीपमा उभिएर सडक वारिपारी लाम लागेर उभिएका जनतालाई दुबै हात जोडी अभिवादन गरेको दृश्य मलाई अहिले पनि झझल्को आइरहन्छ ।

धरमतल्ला भन्ने ठाउँ कलकत्ता शहरको केन्द्र हो । त्यसबेलामा पनि त्यहाँको सडकमा मोटरको घुइँचो सम्झदा हावडा रेलवे स्टेशनमा मान्छेको समुद्र बगेको देख्दा म बसेको ठाउँ ममिनपुरबाट धरमतल्लामा ट्राम अर्थात दुई डिब्बा भएको लगभग १०० जनासम्म अटाउने रेलको लिक जस्तै अलि सानो लिकमा बिजुलीबाट चल्ने गाडिमा चढेर जाँदा वारिपारी रहेका रुखहरु उल्टो दिशातर्फ दुगुरेको देख्दा आश्चर्य मानेर हेरिरहन्थेँ ।

२०१३ सालमा आमा बैनी र भाइलाई पहाडको घरमा (गोर्खा) पठाएर पिताजी र म मात्रै लगभग २ वर्ष त्यहाँ बस्यौं । त्यो अवधीमा प्राय प्रत्येक आइतबार साइकलको क्यारिएरमा बसेर पिताजीसँग शहरमा डुल्न हिँड्दा २ तले बस, ठूल्ठुला पार्कहरु, ट्राम, हातले तान्ने रिक्सा, भिकारी को लुँडो जताततै देख्दा मेरो बालक मन जिल्लिनु सिवाय के नै गर्न सक्थ्यो र ? त्यस्ता दिनहरुमा कुनै रुखको छहारी मा बसेर बाबुछोराले बाटोमा बेच्न राखेको चनाको सातु पानीमा मुछेर डल्लो पारी प्याजसँग खाएको स्वाद मेरो जिब्रोले अहिले पनि महसुस गरिरहेको छु ।

हिन्दी हाइस्कूलमा पढ्दा नेपालीहरु बहादुर हुन्छन् भन्ने अलिअलि सुनेर होला कक्षाका केटाकेटीसँग बेलाबखत आफ्नो दादागिरी छाँट्थें । त्यसैले होला अधिकांश सहपाठीहरु मेरो नजीक हुँदै म सँग मित्रता गाँस्न खोज्थें । ९–१० वर्षकै उमेरमा छिमेकी एकजना मुसलमानकी भाञ्जी नज्जुसँग ठूलो भएपछि मेरो विवाह गरिदिने हो भनेर मलाई बेलाबखत छिमेकी ठूलाहरुले समेत गिज्याउँथे । उनी मामाघरमा आएको बेलामा उनका मामा माइजूले समेत मलाई ‘ए ! सानू (मेरो बालककालमा बोलाउने नाम) तुम्हारा बीबी आइ है’ भनेर जिस्काउँदा म लाजले भुतुक्कै हुन्थें ।
श्रीकान्त, जग्गु, किरोडीमल, हरिशचन्द्रलगायत मारबाडी समुदायका साथीसँग म ५ कक्षासम्म पढेको हुँ । उनीहरुसामु आफू नेपाली ब्राह्मण भएको र माछा मासु नखाने भनी चिनिएको थिएँ । मारबाडी समुदायका मान्छेहरू त्यहाँ मासु, माछा खाँदैनथे । संजोगले एकदिन एकजना मारबाडी साथी आमाले खान पकाइरहेको बेलामा मेरो घरमा आइपुग्यो । आमा त्यतिबेला माछा तेलमा तार्दै हुनुहुन्थ्यो । त्यो सहपाठी नाक छोप्दै त्यहाँ आयो । २–३ मिनेट उभिएर हिँडिहाल्यो । म लाजले भुतुक्कै भएँ । झुठो बोलेको परिणाम कस्तो हुँदो रहेछ थोरै अनुभव भयो । हामी त खाँदैनौं । हाम्रो घरमा एउटा पाहुना आएको थियो । उसैको लागि पकाएको हो भनी दिनु भनेर आमाले सिकाउँदा पनि मेरो मनले फेरि अर्को झुठो नबोल्ने प्रतिज्ञा ग¥यो । धन्न त्यो सहपाठीले त्यसबारेमा पछि कुनै कुरा उप्काएन। यसबखत म ३ कक्षामा पढ्थें । हिन्दी, नेपाली र बंगाली भाषा म त्यो बेलासम्म काम चलाउ बोल्न सक्ने भैसकेको थिएँ ।

घर नजिकै वृन्दावती देविको मन्दिर थियो । बेलुका त्यहाँ टोलका केटाकेटीहरु जम्मा भएर पूजा अर्चना गर्थे, खेल्थे, म पनि सधैंजसो त्यो मन्दिरमा जान्थें । प्रार्थनापछि त्यहाँ बतासा नाम गरेको चिनी र मैदाबाट बनाइएको गोलो चकलेट जत्रो मिठाई मन्दिर परिसरमा पुजारीले फालिदिन्थे र हामी केटाकेटीहरु त्यो टिप्न दगुरादगुर गर्थ्यौं । एउटा दुइटा हात परिहाल्यो भने आँफुलाई ठुलै बहादुर सम्झन्थ्यौ । कलकत्ताको भित्री बस्तीका सडकहरूमा बिहान, बेलुकी मात्र आउने गरि खानेपानीका धाराहरु गाडिएको थियो । त्यस्तो ठाउँमा नुहाउन र लुगा धुन वर्जित थियो । नुहाउन र लुगा धुन छुट्टै ठाउँहरुको व्यवस्था गरिएको हुन्थ्यो ।

एक दिन मेरा पिताजी त्यो निषेधित क्षेत्रमा नुहानु पुग्नुभएछ । पुलिसको गाडीलाई त्यहाँ किन हो कुन्नि हल्ला गाडी भन्दा रहेछन् । त्यो गाडी त्यहाँ आयो र नुहाउँदै गरेका मेरा पिताजीलाई समातेर अलिपुर ठानामा पु¥यायो ।
विश्वविद्यालयबाट होस्टेल पाएको पहिलो दिन लगभग २ किलोमिटर परको होस्टेलमा ट्राम चढेर गयौं । ट्राम राम्रोसँग नरोकिइकन उनी हाम फालेछन् र लडे, पछाडिबाट गाडी आएको भए धन्न ज्यानै जाने खतरा थियो । लडेर थेचारिएको दुखाइले होला उनी रातभर सुत्न सकेनन् । भोलिपल्ट आयोडेक्स ल्याएर मैले उनको पूरै शरीरमा मालिस गरिदिएँ र भनें, ‘यो ठाउँमा तिमी र म एउटा सहपाठी मात्र नभएर बाउ आमा दाजुभाइ सबै थोक हौं । हाम्रा हरेक पिर मर्कामा एकले अर्कालाई सहयोग गर्नुपर्छ ।’

हिउँदको एक दिन हामी रवीन्द्रनाथ टैगोरले स्थापना गरेको र इन्दिरा गान्धीले अध्ययन गरेको पश्चिम बंगालको बर्दवान जिल्लास्थित शान्ति निकेतन भन्ने ठाउँमा रहेको रवीन्द्र भारती विश्वविद्यालयमा होस्टेलका विद्यार्थीहरु मिलेर एउटा टुर तथा पिकनिकको आयोजना ग¥यौं । शान्ति निकेतनको अवलोकनपछि त्यहाँ रहेको एउटा पोखरीको छेउमा हामीले खसी काटेर राम्रोसँग भोज पनि खायौं । पछि हामीले चुसेर पसलेका हड्डीहरुमा स्थानीय केटाकेटी र कुकुरहरूको लुछाचुँडी देखेर म साह्रै नै द्रवित भएँ । तत्कालै मैले त्यहाँ रहेका बंगाली विद्यार्थीहरुसँग प्रश्न राखें के तिमीहरूको कम्युनिस्ट पार्टीको सरकारले यस्तो भोकाहरुको बारेमा कुनै व्याख्या गर्न सक्दैन ? स्मरण रहोस् त्यस पिकनिकमा गएका सबै बंगाली विद्यार्थीहरु सत्तारूढ भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका समर्थकहरु थिए । उनीहरुले मेरो प्रश्नलाई साह्रै हलुँगो रूपमा लिएर भने, ‘दादा यै सब तो होच्छेइ । अर्थात दाजु यो सबै त हुन्छ नै, यो सामान्य कुरा हो ।’

बंगालीहरु आफूलाई हाकाहाकी भन्ने गर्छन् । ध्जबत तजष्लपक ष्लमष्ब तयmयचचयध दभलनब ितजष्लपक तयमबथ अर्थात भारतले भोलि सोच्ने कुरा बंगालले आजै सोच्छ । उनीहरुले यसो भने पनि त्यहाँको गरीबी, भोकमरी, झुग्गी झोपडी, फोहोर, वेश्यावृत्ति, अशान्तमय वातावरण आदिका बारेमा प्रश्न राख्ने हो भने शेष भारततिर अर्थात भारतको केन्द्रीय सरकार र बाङ्लादेशबाट आएका शरणार्थीहरुतिर औंलो तेर्साएर आफू उम्कन खोज्छन् । यो निश्चय नै हो कि बंगालीहरु शिक्षामा केरलापछि अरु भारतीय राज्यहरुका भन्दा अगाडि छन् । तर, कलकत्ताका सडकमा पूरै पेटी ढाक्ने गरी पुस–माघको जाडोमा कक्रेर सुत्ने भिखारीहरुले बांलीहरुका शिक्षा र सभ्यतालाई नै गिज्याइरहेको होइन र ?

सोनागाछी भारतभरकै सबैभन्दा धेरै वेश्या बस्ने स्थान मानिन्छ । सोनागाछीका बारेमा हिन्दी साहित्यका केही रचनामा पढेको थिएँ । तर, यो ठाउँ कलकत्ताको कहाँनेर पर्छ होला भन्ने थाहा थिएन । हामी बसेको होस्टेल हेदुवा पार्कनिर पर्दथ्यो । होस्टेलको छतबाट उत्तरतिर फर्केर हेर्दा हावडाको पुल सजिलैसँग देख्न सकिन्थ्यो । एउटा शनिबारे बिदाको दिन मैले टीकासँग आज हावडाको पुलसम्म हिंडेर जाने प्रस्ताव राखें र खाना खाइवरी दिउँसो १ बजेतिर हामी होस्टेलबाट उत्तरतर्फ लाग्यौं । लागेका मात्र के थियौं मलाई पछाडिबाट कसैले कोट्याउँदै भन्यो, ‘कहिए ।’ यसो पछाडि फर्केर हेरेको त झण्डै मेरै उमेरको एकजना मेरो पछाडि ठिङ्ग उभिरहेको । एक सुरले हिंडिरहेको बेला कसैले विनाअर्थ डिस्टर्ब गर्दा थोरै रिस त उठ्छ नै, अझ त्यसमाथि यो अपरिचित व्यक्ति थियो । मैले पनि नेपाली झोंक निकालेर भनें, ‘क्या कहिए ।’
चर्को स्वरले सायद डराएछ क्यारे लुसुक्क पछाडि फर्कियो । केही अगाडि बढेपछि २०–२५ देखि ५०–५५ सम्म उमेरका महिलाहरु मजासँग घाम तापेर बसिरहेका थिए । कोही हामीतिर औंला देखाउँदै बोला त त्यसलाई भनेर इशारा गर्ने गर्थे । कसैलेचाहि आफैले इशाराले हामीलाई बोलाउँथे । हाम्रो सातो पुत्लो उड्यो । थोरै अगाडि बढेपछि ४–५ तला माथिबाट सोनागाछी, सोनागाछी कराएको सुनेपछि त हामी निश्चितरूपमा खराब ठाउँमा आएका रहेछौं र अब नराम्रोसँग फस्ने भैयो भनेर डर पनि लाग्यो । त्यसपछि त मुन्टो पुरै निहुराएर करिब १५ मिनेट जति हिँडेपछि त्यो साँघुरो बाटो पार गरेर मुल सडकमा पुगियो र लामो सास फेरियो ।

सोनागाछी एरियाका सयौं घरहरू यसरी वेश्यालयमा परिणत भएका छन् । पछि थाहा पाइयो । सकुशल त्यहाँबाट निस्कन सकेकोमा आफैले आफैलाई बधाई दियौं । यस्तै प्रकृतिको घटना त्यसको एक दुई महिनापछि मैसँग मात्र घट्न पुगेको थियो । म सियालदह भन्ने ठाउँमा संगठन विस्तारको सिलसिलामा त्यहाँका केही परिचित नेपालीहरुलाई भेट्न गएको थिएँ । साँझ परिसकेको थियो । कलेजस्ट्रीटमा रहेको कलकत्ता विश्वविद्यालयको मूल गेटमा निस्कन बागबजारको बाटो जाँदा नजिक हुन्छ भनेर साथीहरूको सल्लाह पाएकोले कलकत्ता विश्वविद्यालय निस्कन साथीहरूले भनेकै बाटो लागें ।
करिब १५ मिनेट जति हिंडेपछि अकस्मात ५÷६ जना गुन्डाहरुले घेरे र हिन्दी भाषामा सरस्वती पूजाको लागि चन्दा चाहियो भने । मैले आफूसँग पैसा नभएको कुरा बंगाली भाषामै व्यक्त गरेपछि सायद मलाई ओरिजिनल बंगाली नै ठानेर होला उनीहरुको धम्किपूर्ण स्वर केही मत्थर भयो । तैपनि चन्दा त नदिइ हुँदैन भनेर अड्डि लिएपछि मैले भने मसँग जम्मा १० रुपैयाँ छ त्यसमा पनि ५ रुपैयाँ अहिले मलाई भुजा किनेर खानुपर्छ, म साधारण श्रमिक हुँ, त्यसैले म तिमीहरूलाई ५ रुपैयाँ मात्रै दिनसक्छु भनें । एकछिन उनीहरु अकमकाए र भने छाड्दे यस्तासँग पनि के पैसा लिइरहने तर अर्कोले चैं ५ रुपैयाँ भएपनि समात भन्दै मेरो हातमा भएको पाँचको नोट चिलले चल्ला झम्टे झैं झम्टिएर लिए अनि त्यहाँबाट हिंडे । उनीहरुले छोडेपछि म डराइ अगाडि बढें । बेलुकीको आठ बजिसकेको थियो ।
करिव दस मिनेट हिंडेपछि कलकत्ता विश्वविद्यालयको मेन गेटमा आइपुगें । गेटमा रहेका नेपाली चौकीदारलाई घटनाको बेलिबिस्तार लगाएपछि उनले भने, ‘ त्यो बागबजारको केही एरियामा वेश्यालयहरु छन् र ती पैसा माग गर्ने केटाहरूले तपाईंलाई वेश्या गमन गर्न आएको ठानी तपाईंसँग पैसा मागेका हुन् । अब पो मलाई बढी डर लाग्यो । धन्न ज्यान जोगाइएछ ।’

एक वर्षको कलकत्ता बसाइँमा भिखारीहरुले सडकमा हिंड्दा पनि पछ्याएको, कालीघाट र दक्षिणेश्वर मन्दिरमा जाँदा रङ्ग बिरंगका मगन्तेहरु देख्दा मन कुँडिन्थ्यो । तर, कुँडिएर के गर्ने ? एउटालाई केही दियो भने झनै संकट आइलाग्ने । पूरै भिडबाट घेरिनुपथ्र्यो । बेलुकिपख सडकको पेटीबाट हिंड्दा पनि कतिपय ठाउँहरुमा ती घरबारविहीनहरु सडकमै खाने, पकाउने, खेल्नेदेखि लिएर मानवीय क्तियाकलापहरु सबै नै गरिरहेका भेटिन्थे । बाटो काट्नै गाह्रो पथ्र्यो । कलकत्ताका कतिपय भागमा त मूल सडकमै छाप्रा बनाएर आफ्नो व्यापार गरिरहेका पनि भेटाइयो । यसबारेमा मैले एउटा बंगाली मित्रसँग जिज्ञासा राख्दा उसले भने, ‘यो कांग्रेस आई र माक्र्सवादीहरुले उकासेर भएको हो । एउटाले उठाउन खोज्दा अर्को उक्साउँथ्यो । यो क्तियाकलाप सल्लाह नै गरेझैं गरि दुबै थरिले पालैपालो गर्थे । यो सबै भोटको खेल हो ।

मलाई बंगाली भाषा साह्रै मनपर्छ । बोल्दा जुन मिठास बंगाली भाषाबाट आउँछ, सायदै त्यस्तो अरुबाट आउला । लेख्ने अभ्यास नभएपनि म अहिले पनि बंगाली भाषामा रेडियो, टिभीमा आउने कार्यक्तमहरु हेर्न सुन्न मन पराउँछु । बंगालीमा लेखिएका सामग्रीहरु पाएँ भने कनिकुथी पढ्न मन लाग्छ । त्यहाँका फिल्म, गीतसंगीत पनि त्यत्तिकै जीवन्त भएको मैले पाएँ । कलकत्ता शहरमा थुप्रै पार्कहरु छन् । साँझपख ती पार्कहरु घुम्न जाने हो भने युवायुवतीहरु एक अर्कामा लठ्ठिएर प्रेमालाप गरिरहेका दृश्य छ्यासछ्यास्ती भेटिन्छ । जुन कुरा हाम्रो लागि त्यतिबेला अपाच्य थियो । तर, अहिले नेपालमा पनि यस्ता कुराहरू सामान्य भैसकेका छन् । पुस्तकालय विज्ञान पढ्ने हाम्रो समूहमा त्यतिबेला लगभग चालीस जना विद्यार्थी थियौं । त्यसमा झण्डै आधाजसो केटीहरु थिए । कहिलेकाही क्लासमै पनि केटाहरूले केटीलाई अभद्र किसिमले जिस्काउँथे । हामी दुईजना नेपाली चुपचाप बसेर यस्ता दृश्य हेथ्र्यौं । एउटी कनिका नाम गरेकी सहपाठीले त मसँग भनिन् पनि, ‘तुम्रा कतो भालो छेले (तिमीहरू कति असल केटाहरू) ।’ मैले उनीसँग भनें, ‘हामी दुबै विवाहित मात्रै नभएर छोराछोरीका बाबु पनि हौं । मेरो दुईवटा छोरा छन् र टीकाको एउटी छोरी छिन् । त्यसैले हामीहरु अन्य केटीहरुप्रति गलत दृष्टिकोण राख्नु अपराध ठान्छौं ।’

बेरोजगारी पनि भारतको एउटा ठूलो समस्या हो । त्यो कुरा कलकत्तामा टड्कारोसँग देखियो । २–३ विषयमा पिएचडी गरेकाहरु पनि काम नपाएर हल्लिएको प्रशस्तै देखियो । कामको खोजीमा जति भौंतारिदा पनि काम नपाएपछि विभिन्न कूलतमा फस्नेहरुको संख्या पनि मनग्ये छ । होस्टलमा बस्ने साथीहरू नयाँ कपडा लाउन र मीठो खान बहुतै तड्पिएको पाएँ मैले । एकाध धनाढ्यहरुलाई छाडेर आम विद्यार्थीहरु जुन कस्ट झेलेर पढिरहेछन् त्यो स्तुत्य छ ।
कलकत्ताका अरु एक दुई कुराहरू पनि यहाँ उल्लेख गर्न लायकका छन् । कलकत्ता विश्वविद्यालयको पेटीका दुबैतिर पुराना किताबहरुको व्यवसाय राम्रैसँग चल्दो रहेछ । पुस्तक पढ्ने बानी बंगालीहरुबाट अरुले सिक्नुपर्छ । साहित्य, विज्ञान र मनोरञ्जनका विविध सामग्रीहरु नयाँ किन्न नसक्नेले पनि कम मूल्यमा पुराना किनेर आफ्नो ज्ञानको भोक मेटाउँदा रहेछन् । त्यस्तै भासण गर्ने कला पनि बंगालीहरुको चाखलाग्दो छ । धरमतल्लाको मैदानमा एकदेखि डेढ लाखसम्म मान्छेहरूका अगाडि भासण गर्नेदेखि लिएर सडकका पेटी पेटीमा एउटा माइक लिएर आफ्ना कुराहरू राख्न पनि बंगालीहरु खप्पिस रहेछन् । बाटोमा हिंड्नेहरुमध्ये सुन्न चाख लाग्नेले एकछिन उभिएर सुने पनि ठिकै छ, नसुने पनि वत्तःा बोली नै रहन्छ । आफ्नो कुराहरू नसकुञ्जेल स्रोताहरु जुटाइराख्ने झन्झट गरिरहनु पर्दैन ।

पुस्तकालय विज्ञानको अध्ययन सकेर २०४० साल भदौमा नेपाल फर्केपछि पनि २०४२, ०४३ र ०४४ गरी तीनचोटि म कलकत्ता गएँ । म नितान्त व्यक्तिगत काममा गएको थिएँ र बसाइँ पनि बढीमा एक सातासम्मको रहन्थ्यो । मेरो मामा लोकनाथ भट्ट जो कलकत्तामै जागिरे हुनुहुन्थ्यो । उहाँको देहावसानपछि म मेरी माइजूलाई लिएर त्यहाँबाट उहाँले पाउने हरहिसाब लिन गएको थिएँ । त्यो बेलामा मामाले काम गर्ने कम्पनीका मजदुर नेताले जुन आत्मीय सहयोग गरेर हाम्रो कामलाई सहयोग र्पुयाइदिनु भयो त्यसको संझना पनि मेरो मनमा अहिलेसम्म ताजै छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट