रत्ननगर,१३ असार ।
आफूहरुलाई प्रहरीको मान्छे बताउँदै श्रीमान्लाई कुटपिट गरी एक महिलालाई बलात्कार गरेको घटनामा संलग्न भएको भन्दै रत्ननगर प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । ‘प्रहरीको घुमुवा सीआईडी हौं’ भन्दै कालिका नगरपालिका वडा नम्बर २ थाङ्खोला जंगलमा लगेर २३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सोही स्थानका युवालाई पक्राउ गरिएको हो । घटनामा संलग्नताको अभियोग लागेका अर्का युवा भने अझै फरार छन् ।
असार ६ गते बुधबार राति घरमा सबैजना सुतिरहेको अवस्थामा दुईजना युवा गएर पीडितका श्रीमान्लाई आफूहरु घुमुवा प्रहरी भएको र एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै घरबाट लगेका थिए । घरनजिकै जंगलमा लगी कुटपिटपछि श्रीमान्लाई छोडेर उनीहरु फेरि घर पुगे । ‘तेरो श्रीमान् भाग्यो, अब तँ हामीसँग इलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ’ भन्दै पीडित महिलालाई शिशुसहित मोटरसाइकलमा हालेर फेरि जंगल लगे । “त्यसपछि ५०–५० हजार दियो भने हामी केस मिलाइदिन्छौं भनेको अनुसन्धानबाट खुलेको छ”, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले भने, “महिलाले इन्कार गरेपछि राति साढे २ बजे पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।” करणीपछि महिलालाई त्यहीं छोडेर शिशुलाई घरमै लगी अभियुक्तहरुले नै छोडिदिएको खुलेको छ ।
घटनापछि पीडितको उजुरीको आधारमा प्रहरीले ७ गते ४ बजे एक युवालाई पक्रिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख खतिवडाले जानकारी दिए । घटनामा संलग्नताको आरोप लागी फरार भएका अर्का एक युवकको खोजी कार्य तीव्र पारिएको उनले बताए । पक्राउ परेकालाई जबरजस्ती करणीको मुद्धामा ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ ।





