विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१३ असार ।
भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको बजेट ‘सिलिङ’ अन्य महानगरको तुलनामा झण्डै १ अर्ब कम देखिन्छ । विराटनगर र वीरगञ्जको बजेट ४ अर्ब बढी छ । पोखराको ६ अर्ब बढी र काठमाडौंको १३ अर्ब बढी बजेट प्रस्ताव गरिएको छ । तर, भरतपुर महानगरको बजेट थोरै देखिन्छ । भरतपुरले ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।
“बजेटको आकार हेर्दा भरतपुर ‘कान्छो’ देखिन्छ”, मेयर रेनु दाहालले भनिन्, “तर, विकासमा अन्य महानगरभन्दा ‘कान्छो’ हुन दिदैनौँ । यो हाम्रो प्रतिबद्धता हो ।” उनले वैदेशिक सहायता र अन्य मन्त्रालयले लगानी गर्ने सुनिश्चित भएका योजनाको बजेट समावेश नहुँदा बजेटको आकार सानो देखिएकोे प्रतिक्रिया दिइन् । “वैदेशिक लगानी भित्राउन पहल भइरहेका छन् । एसियाली विकास बैंक (एडीबी)को सहयोग पनि आउँदैछ”, उनले भनिन्, “ठूला परियोजनाका लागि ठूलो बजेट आउँदैछ । सबै समावेश गरेर बजेट प्रस्तुत गरेको भए भरतपुरको ‘सिलिङ’ अन्य भन्दामाथि नै हुन्थ्यो ।” उनले महानगरको आन्तरिक स्रोत कमजोर भएकाले धेरै ठूलो बजेट बनाउन चुनौती थपिएको बताइन् । “जनसहभागितासहित आन्तरिक आय यो वर्ष ७० करोडको अनुमान थियो, झण्डै १९ करोड बराबरको जनसहभागिता जुट्यो”, उनले भनिन्, “आगामी वर्ष जनसहभागिता बढ्ने निश्चित छ । ५५ करोड ६० लाख आन्तरिक आय अनुमान गरेका छौँ ।” उनले करदातालाई करको दायरामा ल्याउन अधिकतम कर तिर्नेलाई सम्मान, पुरस्कार गर्ने नीति अवलम्बन गरिने बताइन् ।
ठूला उद्योग कलकारखाना, ठूला व्यवसाय नहुँदा राजस्व संकलनमा फड्को मार्न कठिन रहेको उनको दावी छ । महानगरको प्रस्तुत गरेको बजेटमा चालुतर्फ १ अर्ब ७० करोड ४९ लाख छ भने पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान छ । भरतपुर महानगरलाई संघीय सरकारले ससर्त अनुदानका रुपमा ७७ करोड ५८ लाख, वित्तीय समानीकरण अनुदान (निसर्त) ४६ करोड २३ लाख ३३ हजार रुपैयाँ पठाएको छ । यस्तै प्रदेश सरकारले शशर्त अनुदान १३ करोड ७७ लाख ८६ हजार, वित्तिय समानिकरण (निसर्त) अनुदान १ करोड ४४ लाख ३५ हजार रुपैयाँ पठाएको छ ।
सडक बोर्डले १५ करोड रुपैयाँ ससर्त अनुदान पठाएको थियो । “पहिलो नगरसभाको तुलनमा दोस्रो नगरसभाले धेरै राम्रा योजना समेटेको छ”, उनले भनिन्, “सम्भावित योजनालाई राखेर बजेटको आकार ठूलो बनाउने नियत राखेका छैनौँ ।” उनका अनुसार नगर गौरव योजना मानिएको ९५ किमिको ‘महानगरीय चक्रपथ’ निर्माण गर्न २ अर्ब बजेट परेको छ । गोन्द्राङ–जगतपुर, पुलचोक–रामघाटको सडक निर्माण कार्य यही महिनामा शिलान्यास गरिनेछ । क्यान्सर असपताल परिसरभित्र अर्थ मन्त्रालयबाट स्वीकृत ५० करोड बजेटमा सिटीहल बनाउने काम सुरु हुँदैछ । फोहरमैला व्यवस्थापनका लागि कोरियन सरकारको आर्थिक सहयोगमा ‘डीपीआर’ बनाउने तयारी छ । धुर्मुस–सुन्तली फाउण्डेसनको सहयोगमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन जग्गा खोजी भइरहेको बताइन् ।
यस्तै लायन्सचोकमा बहुउद्देश्यीय व्यापारिक भवन एडीबीको आर्थिक सहयोगमा बनाउने प्रक्रियामा छ । “ढिलासुस्तीले योजना अलपत्र पर्न दिइने छैन”, मेयर दाहालले भनिन्, “संघीय तथा प्रदेश सरकारसँग अपुग बजेटका लागि निरन्तर पहल हुनेछ ।” उनले देशकै नमूना महानगर बनाउने गरी ६ महिनाभित्र ‘एकीकृत विकास गुरुयोजना’ बनाउन बजेट विनियोजन गरेको बताइन् । “खरका छानामुक्त बनाउने कार्यक्रम गरिनेछ”, उनले भनिन्, “शहरलाई सुन्दर र व्यवस्थित गरिनेछ ।”
भरतपुर अस्पताललाई ६ सय शैयासहितको केन्द्रीय अस्पताल र क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरिने योजना सुनाइन् । भरतपुर–३ मा २ विघा ५ कठ्ठा जग्गामा अटोल्याण्ड बनाएर अव्यस्थित बजारलाई सुधारिने बताइन् । “निजी क्षेत्रसँग सहकार्य गरेर केही ठूला परियोजना चलाइनेछ”, उनले भनिन्, “स्रोत अभावमा बजेट अलपत्र हुन नदिन प्रतिबद्ध छौँ ।” राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरसँग भगिनि सम्बन्ध विकास गरेर योजना कार्यान्वयनमा साझेदारी गरिने बताइन् ।
नगरसभाले बजेट पारित ग¥यो
भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आइतबार सुरु भएको सभा मंगलबार सकिएको हो । सभामा सहभागी जनप्रतिनिधिले महानगरको समृद्धिको लागि सामुहिक संकल्प गर्दै महानगर प्रमुख रेनु दाहालबाट प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख पार्वती शाह ठकुरीबाट प्रस्तुत बजेट पारित गरेका हुन् ।
मंगलबार बिहान ७ बजेदेखि सुरू भएको सभामा ४० जना नगर सभासदहरूले बजेट र नीति तथा कार्यक्रममाथि आवश्यक संसोधनसहित दफाबार छलफल गरेका थिए । उनीहरुले जनतामा हुने सेवा प्रवाहमा एकरूपता ल्याई सेवालाई चुस्त बनाउनुपर्ने बताएका छन् । नगर सभासदले पूर्वाधार विकासमा जोड दिँदै सुशासन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र सामाजिक विकासको क्षेत्रमा गुणात्मक विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभा समापनमा बोल्दै प्रमुख दाहालले महानगरपालिका समृद्धिको यात्रामा एकढिक्का भएर कार्य क्षत्रमा खटिन जनप्रतिनिधि र सरोकारवालालाई आग्रह गरे ।





