सहनलाल प्रधान उवासंघ चितवनको अध्यक्ष पदमा दोस्रोपटक चुनावमा होमिएका छन् । उनी २०६२ सालमा पहिलो पटक कार्यसमिति सदस्यका रुपमा थिए । लगातार २०७२ सालसम्म संघको नेतृत्वदायी भूमिकामा रहेका प्रधान एक कार्यकाल भने अध्यक्षमा पराजित भएर बाहिरिए । २०६४ र २०६६ मा तृतीय उपाध्यक्ष, २०६८ मा प्रथम उपाध्यक्ष र २०७० मा वरिष्ठ उपाध्यक्ष पदमा थिए । उनी सञ्चार उद्यमी पनि हुन् । चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएमका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । भरतपुर गार्डेन रिसोर्ट, नेशनल सिटी हस्पिटलका सञ्चालक, नारायणी कला मन्दिरका पूर्वअध्यक्ष, चितवन गैडाकोट रेडियो प्रसारक मञ्चका उपाध्यक्षका रुपमा काम गरिसकेका व्यक्ति हुन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका सहनलाल प्रधानसँग विप्लव काफ्लेले गरेको कुराकानीः

गत चुनावमा पराजित भएको अध्यक्ष पदमै उम्मेदवारी किन दिनुभएको ?
विगतमा मेरो हार प्राविधिक थियो । थोरै मतान्तरले हार व्यहोर्नुप¥यो । तर, उवासंघको कार्यसमितिमा एक कार्याकाल नरहेपनि उद्योगी व्यवसायीबीचमै थिएँ । एक दशक मेरो नेतृत्वदायी भूमिकाबाट मैले लिएको अनुभव र व्यवसायीका पीडा, आवश्यकता र संघको आवश्यकताले नै उम्मेदवारी दिएको हुँ । उवासंघसँग आवद्ध र बाहिरका सदस्यको हकअधिकार संरक्षण गर्न, संघको छवि जुन ५८ वर्षको इतिहासलाई अझै माथिल्लो स्तरमा पु¥याउन मैले उम्मेदवारी दिएको हुँ । चितवनको आर्थिक तथा सामाजिक विकासमा संघमार्फत योगदान गर्न उम्मेदवारी दिएको हुँ ।
एक कार्याकाल कार्यसमिति बाहिर हुनुभयो, दुई वर्षको ‘ग्याप’ पछि आउँदा कत्तिको कठिन हुँदोरहेछ ?
दुई वर्ष ग्याप रह्यो । भौतिकरुपमा नरहेपनि उवासंघमा हुने जतिपनि गतिवधिसँग नजिक रहेँ । अनुभाव हाँसिल गर्ने अवसर पाएँ । पदमा रहँदा र नरहँदा केही फरक नहोला । व्यवसायीबीच नियमित भेटघाटमै थिएँ । असजिलो छैन ।
उवासंघलाई चन्दा बाँड्ने र महोत्सव गर्ने संस्थाका रुपमा धेरैले बुझ्छन् । यहाँ नेतृत्वमा आएपछि यो सोच परिर्वतन होला ?
लामो समयसम्म स्थानीय निकाय निर्वाचन नहुँदा व्यवासयीको हितका साथै सामाजिक विकासमा पनि गतिविधि बढाउनुपर्ने र सर्वसाधरणको पनि त्यही अपेक्षा थियो । भर्खरै स्थानीयदेखि केन्द्रीय तहसम्म निर्वाचन भएको अवस्था छ । सामाजिक विकासमा बढी केन्द्रित थियौँ । अब ती गतिविधि कम गरेर आर्थिक क्रान्ति कसरी गर्ने, आर्थिक विकास कसरी गर्ने भन्नेतर्फ हाम्रा कार्यक्रम लक्षित हुनेछन् । उद्योगी व्यवसायीका पक्षमा नीति निर्माण गर्न जिल्ला तथा केन्द्रमा हाम्रो पहल हुनेछ । यिनै एजेण्डा अब प्राथमिकतामा हुनेछन् ।
वर्तमान कार्यसमितिलाई यहाँहरुकै समन्वयमा आयोजित पत्रकार सम्मेलनमा ‘डिजास्टर’ ल्याउन लाग्यो भनेर आरोप लगाइयो । किन यस्तो आरोप लगाउनुभएको ?
संस्थाका गतिविधि विधिविधानमा चल्नुपर्छ । संस्था विधिविधानले निर्देशित गरेको हुन्छ । विधिविधानै मिचेर काम गर्दा के हुन्छ भन्ने कुरा हामीले देखिरहेका छौँ । जसरी संस्था चल्नुपर्ने हो, त्यसरी नचल्दा संस्था अर्कै बाटोमा जाने हो कि भन्ने डर भइरहेको छ । शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ । त्यसका लागि सामुहिक नेतृत्वमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । उद्योगी व्यवसायी र संघबीचको सम्बन्धमा अलिकति सौहाद्रता र आत्मीयता हुन सकेको देखिदैन । आत्मीयता सुदृढ गर्ने अभियान चलाउने छौँ । सबैले यो संस्था हाम्रो हो भन्ने आत्मबोध गराउने छौँ ।
यहाँलाई पूर्वअध्यक्षहरुले समर्थन गरेको चर्चा छ, को कसले समर्थन गरेका हुन्, भन्न मिल्छ ?
निवर्तमान अध्यक्षलगायत संस्थाका सम्पूर्ण पूर्वअध्यक्षको समर्थन छ । त्यतिमात्रै होइन, वस्तुगत संघका अध्यक्ष, उद्योगी व्यवसायीहरुको समर्थन छ । त्यसैले हामी उत्साहित छौँ । व्यवसायीबीच घरदैलोमा जाँदा न्यानो स्वागत पाएका छौँ । यसपालि जिताउने प्रतिबद्धता जनाउनुभएको छ । जितको धेरै नजिक पुगेका छौँ । अध्यक्षका प्रवल आकांक्षी सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्षले पनि उम्मेदवारी दर्ता नगरी समर्थन गर्नुभएको छ । सदस्यतर्फ आकांक्षी धेरै साथीहरुले पनि मेरो समूहलाई समर्थन गर्दै उम्मेदवारी दिनुभएको छैन । सामाजिक सञ्जालमा पनि मेरो पक्षमा खुलेरै मत माग्नुभएकै छ । अब मेरो जितलाई कसैले रोक्न सक्दैन ।
तपाईंको कार्यकाल चित्त नबुझेरै विगतमा अध्यक्षमा हराएका हुन् भन्ने आरोप छ नि !
यो गलत हो । विगतमा म केहि व्यवसायीबीच नजिक हुन सकिनँ । त्यो सत्य हो । तर, विगतको मेरा कमजोरी सुधारेको छु । हाम्रो टिम नै अनुभवी टिम छ, जो उद्योगी व्यवसायीका हकअधिकार संरक्षणमा उल्लेख्य भूमिका खेलेका व्यक्ति नै छन् । हालका मेरा प्रत्यासी पनि विगतमा मेरौ प्यानलमा थिए । म अध्यक्ष चुनाव लड्दा उहाँ वरिष्ठ उपाध्यक्षका रुपमा चुनावमा हुनुहुन्थ्यो । त्यसैले मेरो संघको अनुभव र भूमिकाले हार्छु भन्ने लाग्दैन । यसपालि मिल्दो टिम बनाएका छौँ । विगतमा मेरो हार हुँदा धेरै व्यवसायी निराश थिए । उहाँहरुको पनि शुभेच्छा लिएर चुनावमा आएको छु । मेरो नेतृत्वकै पक्षमा उहाँहरु हुनुहुन्छ ।
यसपालि चुनाव जित्न कस्ता एजेण्डा लिएर व्यवसायीबीच जानुभएको छ ?
कर तथा राजस्वका समस्यामा व्यवसायी छन् । विभिन्न समयमा हुने अनुगमन, घरबहालका समस्या प्रमुख समस्या हुन् । अब उवासंघमा व्यवसायीलाई पर्ने समस्या र परामर्श लिन मिल्ने गरी ‘हेल्प डेस्क’ बनाउने लक्ष्य लिएका छौँ । आयकर, भ्याट, बजार अनुगमन, फर्म दर्ता गर्दाका कानूनी प्रक्रिया जस्ता प्रशासनिक समस्या निराकरण गर्न डेस्कले सघाउने छ । बजार व्यवस्थापनको नाममा गरिएको पार्किङले बजार एवं व्यवसायी नै विस्थापित हुने अवस्था आएको छ । उचित व्यवस्थापन गर्नतर्फ लाग्नेछौँ । सदस्यहरुको दुर्घटना विमा अनिवार्य गरी सामाजिक सुरक्षाको ग्यारेण्टी गरिनेछ । चितवनको समग्र आर्थिक तथा सामाजिक विकासका लागि संघको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरिनेछ । संघका हरेक गतिविधिलाई पारदर्शी, जवाफदेहिता र उत्तरदायित्वको प्रत्याभूति दिलाइनेछ । घरभाडा समस्या निराकरण गर्न घरबहाल उपभोक्ता मञ्चसँग सहकार्य गरी छुट्टै कमिटी गठन गरेर समस्या हल गरिनेछ । न्यूनबिजकीकरणले सृजना गरेका समस्याको समाधान गर्न केन्द्रीय तहमै पहल गरिनेछ । वस्तुगत, कर्पोरेट, क्षेत्रीय संघका सदस्यको उद्यमशीलता, क्षमता, दक्षता विकास गर्न विशेष कार्यक्रम ल्याउने छौँ । साना तथा मझौला व्यवसायको प्रवद्र्धन गर्ने कार्यमा संघ प्रतिबद्ध भएर लाग्नेछ ।
अझै पनि कतिपय व्यवसायी संघमा आबद्ध छैनन् । संघप्रति तिनको आकर्षण बढाउन के गर्नुहुन्छ ?
हाम्रो संघ जिल्ला तहको संगठन हो । रत्ननगर, खैरहनीमा पनि संघ छन् । हाल उवासंघ चितवनको सदस्य संख्या कम हो जस्तो लाग्दैन । आ–आफ्नो क्षेत्रमा भएका उवासंघमा व्यवसायी आबद्ध छन् । २ वर्षअघि २२ सयको हाराहारीमा सदस्य थिए । हाल झण्डै ३३ सय पुगे । अब संघप्रति आकर्षण बढाउन सदस्यमैत्री संघ बनाउनुपर्छ । उद्योगी व्यवसायीको पक्षमा वकालत गर्ने बलियो संस्था बनाउनुपर्छ । सदस्यता वृद्धि गर्ने समितिलाई सक्रिय पार्नुपर्छ । संघमा क्रमिकरुपमा सदस्य संख्या बढाउनुपर्छ । बृहत संस्थाका रुपमा उभ्याउनुपर्छ ।
आफ्नै साथी राजु श्रेष्ठसँग चुनावी मैदानमा हुनुहुन्छ । किन मिल्न सक्नुभएन ?
राजुजी मेरो बच्चैदेखिको साथी हो । विगत १० महिनादेखि सहकार्य गरेर जाउँ भनेर मैले प्रस्ताव लगेकै हो । तर, उहाँ त्यो प्रयासमा सकारात्मक देखिनुभएन । सम्भव नभएपछि प्रजातान्त्रिक पद्धतिलाई विश्वास गर्दै निर्वाचनमा जानुप¥यो । तर, मिल्ने ठाउँ अझै छ । मेरा लागि सहज वातावरण बनाइदिनुहुन्छ कि भन्ने आशा छ । विगतमा म हार्दा राजुजीले वचन दिनुभएकै थियो । उहाँ वरिष्ठ उपाध्यक्षमा बसेर म अध्यक्षमा जाने कुरा विगतमा मिलेकै थियो । तर, यसपालि भुल्नुभएछ ।





