बाँके, १७ साउन ।
कोहलपुरमा कवि केशव निमेषद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ को गृह विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा साहित्यकार डा. अमर गिरी, कवि निभा शाह, कविका मातापिता तथा धर्मपत्नीले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार सागर गैरेले अतिथिको स्वागत गर्दै कृति र कृतिकारबारे जानकारी दिएका थिए । प्रतिष्ठानका सचिवसमेत रहेका कवि निमेषको कृतिमाथि साहित्यकार डा. अमर गिरी र कवि निभा शाहले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण कवि हेमप्रकाश मञ्जिलले गरेका थिए ।
साहित्यकार डा. गिरीले ‘मृत्युगञ्जको मौनता’ नेपाली कवितामा गहकिलो हस्तक्षेप गर्ने क्षमता भएको परिपक्व कृति भएको बताए । उनका अनुसार सङ्ग्रहमा माटोप्रतिको जिम्मेवारी, गहिरो संवेदना र विषयगत विविधता पाइन्छ, जसले पाठकलाई गहिरोसँग छुन्छ ।
कवि निभा शाहले यो सङ्ग्रहले युवा पुस्ताको भावना र चेतनाको प्रतिनिधित्व गरेको बताइन् । उनका अनुसार कवितामा राजनीतिक र सामाजिक सन्देश, प्रश्न, जिज्ञासा, आक्रोश तथा भुइँमान्छेका आवाज प्रभावकारी रूपमा अभिव्यक्त भएका छन्। विशेषगरी ‘पलायन–१’ कविताले देशको समसामयिक समस्यालाई सशक्त रूपमा उठाएको उनको भनाइ थियो ।
कवि केशव निमेषले आफ्नो कृतिको मूल विषय वर्गीय असमानता, श्रमिकको थकान, जनताको पीडा, संघर्ष तथा समाजमा विद्यमान शोषण, उत्पीडन र विभेद रहेको बताए ।
३२ कविता समेटिएको सङ्ग्रहलाई ‘आक्रोशको आँधी’, ‘विचारको कारखाना’ र ‘स्मृतिका जलकुम्भीहरू’ गरी तीन उपशीर्षकमा विभाजन गरिएको छ ।
यसअघि उक्त कृतिको काठमाडौँमा पनि औपचारिक विमोचन गरिएको थियो ।





