काठमाडौं, ३२ असार ।
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइन प्रणालीमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन् ।
यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थप गरेको हो ।
विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले हालसम्म सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम मात्र भर्न सक्ने व्यवस्था रहेकामा अब सोही प्रणालीमार्फत राजस्व पनि तिर्न सकिने जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ लाइसेन्स लिन चाहने तथा लाइसेन्स नवीकरण गर्ने दुवै प्रकारका सेवाग्राहीले शुक्रबारदेखि अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न सक्नेछन् ।
नयाँ व्यवस्थासँगै सेवाग्राहीले राजस्व तिर्न बैंकमा पुगेर लाइन बस्नुपर्ने झन्झट हट्ने विभागको विश्वास छ । यसबाट समय र खर्च दुवै बचत हुनुका साथै सेवा प्रवाहलाई थप छरितो, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





