चितवन, २२ जेठ ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा नवलपरासीको गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका विद्यार्थीहरूले चितवनको रत्ननगर–१० स्थित शुभारम्भ एकेडेमीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् ।
कलेजका BCA र BBA संकायका विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए ।
कार्यक्रम शुभारम्भ एकेडेमीका प्राचार्य पशुपति उपाध्यायको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्राचार्य उपाध्यायले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै विद्यालयमा प्रत्येक विद्यार्थीले जन्मदिनमा एक बिरुवा रोप्ने अभ्यास विगतदेखि नै सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । यस्ता गतिविधिले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारीबोध र संरक्षण संस्कार विकास हुने उहाँको भनाइ थियो ।
विद्यार्थी प्रतिनिधि सम्पदा ढकालले वातावरण संरक्षणलाई एकदिने अभियानमा सीमित नराखी दैनिक जीवनको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्षभरि नै वृक्षरोपण तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभयो ।
सहभागीहरूले यस्ता कार्यक्रमले वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै हरित वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।





